भानुचौकदेखि छाताचोकसम्म १० वटा सिसि क्यामेरा जडान

स्थापनाको स्वर्ण महोत्सवको अवसर पारेर संघले मुख्य बजार क्षेत्र छाता चोकदेखि भानुचौकसम्म आइतबारदेखि सिसि टिभि क्यामेरा जडान गर्न थालेको हो । पहिलो चरणअन्र्तगत यी क्षेत्रमा १० वटा सिसि टिभि जडान गरिने संघले जनाएको छ । जडान गरिएका ती सिसि टिभी भने तीन दिने स्वर्ण महोत्सवको अवसरमा भदौ १३ गते औपचारिक उद्घाटन गरिनेछ । ‘व्यावसायीहरुको मात्रै होइन, सम्पुर्ण धरानबासीहरुको सुरक्षालाई ध्यान दिदै सिसि टिभि जडान गरेका हौं । यसले व्यापार, व्यावसायको मात्रै होइन अन्य अपराधिक गतिविधिलाई पनि निगरानी हुन्छ र निरुत्साहित गर्न मद्दत पुग्छ’–संघका वाणिज्य सचिव गिरीधारी सापकोटाले भने ।
छाताचोकदेखि भानुचौक आसपासको क्षेत्र धरानको मुख्य व्यापारिक क्षेत्र हो । यो क्षेत्रबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर यातायातको सवारीसाधन गुड्छ भने यही क्षेत्रमा थुपै्र बैंकहरु खुलेका छन् । यस्तै, सुनचादी, लत्ताकपडालगायत अन्य व्यापार, व्यावसायहरु पनि यही क्षेत्रमा अत्यधिक छन् । धेरै आर्थिक गतिविधि हुने र सवारी, पैदल यात्रुको अत्यधिक भिड हुने क्षेत्र भएकोले पनि सुरक्षालाई मध्यनजर गर्दै सिसि टिभि जडान गर्नुपरेको संगठन तथा प्रचारप्रसार सचिव केशव श्रेष्ठले बताए । ‘व्यापारिक केन्द्र भएकोले पनि यो क्षेत्रमा बढी चोरी, डकैती हुने गर्छ, त्यसैले पनि सिसि टिभिको आवश्यकता पर्यो’–श्रेष्ठले भने–‘यसले प्रहरीलाई अपराध नियन्त्रण गर्न र दोषीको पहिचान गर्न मद्दत पर्याउछ । अपराधीहरु पनि निरुत्साहित हुन्छन् ।’
संघका अनुसार छाताचौकमा सडकका दुवै किनारमा दुई वटा सिसि टिभी राखिएको छ । यस्तै, गीता मन्दिर चोकको सडकको दुवै किनारमा, रत्न रोड र कलेज रोड चोकको दुई किनारमा, भानुचौकमा दुवै तर्फ र वडा प्रहरी कार्यालय अघिको चोकमा दुवै तर्फ सिसिटिभी जडान गरिएको छ । ती सिसि टिभीले दुई सय मिटर परसम्मको चारै दिशाको दृष्यहरुलाई कैद गर्न सक्ने क्षमता रहेको संघका वाणिज्य सचिव सापकोटाले बताए । उनका अनुसार क्यामेरा एउटा दिशाबाट घुम्न शुरु भएर पाँच सेकेण्डको अन्तरालमा पुनः त्यही पुग्छ । ‘यसको कन्ट्रोलरुम वडा प्रहरी कार्यालयमा रहन्छ, त्यहाँ डिभाइस र स्क्रिन राखिन्छ’–उनले भने–‘छाता चोकमा कुनै घटना वा दुर्घटना भइहाल्यो भने तत्कालै प्रहरीले थाह पाउछ र समयमै घटनास्थलमा पुग्छ, शंकास्दप व्यक्तिमाथि निगरानी गर्न सक्छ ।’

संघले धरानको व्यापारिक केन्द्रमा करिब दुई बर्षअघि देखि नै सुरक्षा व्यवस्था अपनाउने अवधारणा बनाएको थियो । त्यतिबेला साइरन राख्ने योजना बनाएपछि पछिल्लो समय सिसि टिभी प्रभावकारी हुने देखिएपछि संघले अवधारणा फेरेको हो । सिसि टिभी जडान गर्न संघलाई नगरपालिका, जिविस, धरानमा शाखा खुलेका बैंक र स्थानीय व्यावसायीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । करिब १० लाखको बजेट खर्च हुने अनुमान गरिएको सिसि टिभी जडानमा व्यावसायिक पहल नामको संस्थाले पनि सहयोग गरेको संघको भनाई छ । यसअघि, भिगोरस नेपाल नामको संस्थाले पनि भानुचौकमा दुई वटा सिसि टिभि जाडन गरेको थियो ।
Comments
Post a Comment