बेरोजगारी हटाउन अनलाईन श्रम बजार
धरान । उद्योग, व्यावसायमा भइरहेको कामदार अभाव र वेरोजगारीको समस्या हटाउने लक्ष्य लिएर सुनसरी उद्योग वाणिज्य संघले अनलाइन श्रम बजारको शुरुवात गरेको छ । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा बिहिबार(भदौ १३ गते) स्वर्ण महोत्सव मनाउदै संघले आफ्नो वेभसाइडसँगै श्रम बजारको शुरुवात गरेको हो । रोजगारदाता र योग्यता, क्षमता भएका जनशक्तिबीच पुलको काम गर्ने भनिएको श्रम बजारको भौतिक पूर्वाधार एवं यातायात मन्त्री छविराज पन्तले गरेका थिए ।
कामदारको अभाव भएपनि पूर्वका उद्योगहरुले आफुले चाहेको कामदारहरु पाउन सकेका छैनन् भने योग्यता र सीप हुदा हुदै पनि थुप्रै जनशक्ति वरोजगार बस्नु परेकोले श्रमबजार सञ्चालनमा ल्याएको संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘उद्योगहरुले योग्य जनशक्ति खोजीरहेको छ, कहाँ छन् भनेर थाह छैन, अर्कोतर्फ दक्ष जनशक्ति पनि अवसर नपाएर बेरोजगार भइबस्नु परेको छ, उनीहरु पनि कहाँ अवसर छ भनेर अनभिज्ञ छन्’–अध्यक्ष श्रेष्ठले भने–‘त्यसैले हामी रोजगारदाता र दक्ष जनशक्तिबीच सम्बन्ध स्थागित गराउने माध्यम बन्नेछौं, यसले दुवैको समस्या हल गर्छ र युवाहरु बेरोजगार बस्नु पर्नेछैन, वैदेशिक रोजगारीमा जाने प्रवृत्ति पनि कमी ल्याउने आशा गरेका छौं ।’ श्रम बजारको शुरुवातसँगै संघले सुनसरी–मोरङ औद्योगिक करिडोरका सँगै पूर्वाञ्चल क्षेत्रकै उद्योग, कलकारखानाहरुको तथ्यांक लिने र ती उद्योगहरुमा कुनस्तरको जनशक्ति चाहिएको छ भनेर जानकारी वेभसाइड एवं श्रमबजारमा राख्नेछ । साथै, सीम, क्षमता एवं योग्यता भएका युवाहरुको पनि सम्पुर्ण जानकारी वेभसाइडमा, श्रम बजारमा राखिनेछ र आवश्यक उद्योगी, व्यवासायीहरुसँग सम्पर्क गराउने संघले जनाएको छ ।
उद्योगीहरुका अनुसार सुनसरी जिल्लामा मात्रै रहेका करिब ५ सय ठुला तथा मझौला खालका उद्योगहरुले २० हजारलाई रोजगारी दिएका छन् । यद्यपी ती उद्योगहरुले दक्ष जनशक्ति भने पाएका छैनन् । पुरुष कामदारहरु नपाएपछि अधिकांशमा महिला कामदार र भारतीय कामदारहरुले रोजगारी गरिरहेका छन् । नेपालकै ठुलो उद्योग मानिने रिलायन्स स्पिनिङ मिल्स, अरिहन्त मल्टि फाइबरमा ९० प्रतिशत कामदार महिला छन् । ‘श्रम बजारको सुविधा हामी निःशुल्क दिदैछौं, यसले वेरोजगारी समस्या हल गर्नेछ, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने छ’–निवर्तमान अध्यक्ष एवं स्वर्ण महोत्सव संयोजक मोहनकाजी शाक्यले भने–‘युवाहरुलाई रोजगारीको लागि भौतारिनु पर्नेछैन, विदेशिने क्रम पनि कमी हुनेछ ।’
........................................................
सिसि टिभिको पनि उद्घाटन
सुनसरी उद्योग वाणिज्य संघले मुख्य व्यापारिक क्षेत्रमा जडान गरेको सिसि टिभि क्यामेराको पनि स्वर्ण महोत्सवको अवसरमा उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले मल्टिमिडियाको माध्यमबाट सिसि टिभि क्यामेराको उद्घाटन गरेका थिए ।
संघले धरानको छाता चोकदेखि भानुचौकसम्मका महत्वपुर्ण चोक तथा स्थानमा १० वटा सिसि टिभी क्यामेरा जडान गरेको छ । छाताचोकदेखि भानुचौक आसपासको क्षेत्र धरानको मुख्य व्यापारिक क्षेत्र हो । यो क्षेत्रबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर यातायातको सवारीसाधन गुड्छ भने यही क्षेत्रमा थुपै्र बैंकहरु खुलेका छन् । यस्तै, सुनचादी, लत्ताकपडालगायत अन्य व्यापार, व्यावसायहरु पनि यही क्षेत्रमा अत्यधिक छन् । धेरै आर्थिक गतिविधि हुने र सवारी, पैदल यात्रुको अत्यधिक भिड हुने क्षेत्र भएकोले पनि सुरक्षालाई मध्यनजर गर्दै सिसि टिभि जडान गरिएको संघले जनाएको छ । ती सिसि टिभीले दुई सय मिटर परसम्मको चारै दिशाको दृष्यहरुलाई कैद गर्न सक्ने क्षमता रहेको छ ।
निजी क्षेत्रको अगुवाईमा मात्रै विकास सम्भव
भौतिक, पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले निजी क्षेत्रको अगुवाईमा मात्रै देशको विकास सम्भव हुने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पन्तले पहिला नै निजी क्षेत्रलाई देशको विकास गर्ने जिम्मा दिएको भए अहिले नेपाल धेरै विकसित भइसक्ने धारणा व्यक्त गरे ।
‘निजी क्षेत्रलाई पहिल्यै देश विकासमा र अर्थतन्त्रमा समावेश नगर्दा हामी पछि पर्यौं । देश विकासमा हामीले निजी क्षेत्रलाई कुनै भुमिका नै दिएनौं’–मन्त्री पन्तले भने–‘तर, अब हामीले ढिलाई गर्न हुदैन, देश विकासको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ । निजी क्षेत्रको संलग्नता विना हामी केही पनि गर्न सक्दैनौं ।’ सन् ६० को दशकमा मलेसिया, सिंगापुर, दक्षिण कोरिया र थाइल्याण्डको अर्थतन्त्र नेपालको बराबारीमा रहेपनि अहिले उनीहरु धेरै माथि पुगेको भन्दै सरकार र निजी क्षेत्रसँगै अघि बढेमा मात्रै अर्थतन्त्र र उद्योग, कलकारखाना अघि बढ्ने बताए । निजी क्षेत्र सक्षम र सफल हुने विश्वास भएर नै करिब ३५ अर्ब लागत रहेको काठमाण्डौं, कुलेखानी , हेटौडा द्रुत गतिको सुरुङ मार्ग निर्माणको जिम्मा वर्तमान सरकारले निजी क्षेत्रलाई सुम्पिएको उनले बताए । ‘सरकारले लगानीको वातावरण मात्रै बनाइदिने हो, बाँकी सबै काम निजी क्षेत्रबाट हुन्छ र यसले मुलुकको विकास तथा आर्थिक समृद्धिमा लैजानछ’–उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले राजनैतिक अस्थिरताले अर्थतन्त्र तहसनहस भइरहेको भन्दै सहजरुपमा काम गर्ने वातावरण सरकारले तयार पार्नुपर्ने बताए । साथै, उनले किमाथांका जोगवनी सडकबाट भारत र चीनलाई जोड्न सकेमा पूर्वी क्षेत्रमा आर्थिक एवं विकासको ढोका खुल्ने बताए । मुलुकको आर्थिक वृद्धिदर बढाउन, रोजगारीको अवसर सृर्जना गर्न उद्योगी, व्यावसायीहरु पनि एकजुट भएर लाग्न उनले आह्वान गरे । कार्यक्रममा पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष किसोर प्रधानले शान्ति सुरक्षा एवं सुरक्षित लगानीको वातावरण उद्योगी, व्यावसायीहरुको प्रमुख चुनौती रहेको बताए । साथै उनले पूर्वक्षेत्रबाट संकलन हुने राजश्वको केही हिस्सा यही क्षेत्रमा लगानी गर्न पनि माग गरेका थिए । कार्यक्रममा संघलाई ५० बर्षसम्मको अवधिमा योगदान पुर्याउने विभिन्न व्यक्ति एवं संघसंस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।
......................
प्लाष्टिक झोला मुक्त नगर घोषणा
धरान ८ स्थित सभागृहमा आयोजित संघको स्वर्ण महोत्सवको अवसरमा बुधबार नै धरानलाई प्लाष्टिक झोलामुक्त नगरको घोषणा पनि गरिएको छ । समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले धरानलाई प्लाष्टिक मुक्त नगरको घोषणा गर्दै नगरक्षेत्रमा पोलिथिन झोला खरीद, बिक्री, भण्डारण तथा प्रयोगमा पुर्णरुपमा बन्देज गरिएको बताए ।घोषणा विपरीत कसैले पोलिथिन झोलाको खरीद, बिक्री, भण्डारण तथा प्रयोग गरेमा स्थानीय स्वायत्त शासन ऐन ०५५ तथा नियमावली २०५६ वमोजिम कारबाही गरिने कार्यकारी अधिकृत खतिवडाले बताए । ‘हाललाई पोलिथिन झोलाको बिक्री वितरण तथा भण्डारण गरेमा ५ सयदेखि २ हजारसम्म जरिवाना गरेर झोला जफत गर्ने र प्रयोग गर्नेलाई १ सय देखि ५ सयसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ’–कार्यकारी अधिकृत खतिवडाले भने–‘तर, प्लाष्टिक झोला तथा प्लाष्टिकको प्रदुषण नियन्त्रण गर्न सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत पनि गरिनेछ ।’
उनका अनुसार नगरपालिका कार्यसंचालन समिति(बोर्ड)को भदौ ११ गतेको निर्णयबाट भदौैं १३ गतेदेखि पोलिथिन झोला बिक्री, भण्डारण तथा प्रयोगमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । आगामी दिनमा अन्य प्लाष्टिकजन्य झोलालाई समेत प्रयोग गर्न बन्देज लगाइने उनले बताए । घोषणा कार्यान्वयनको लागि नगरपालिकाको नगर प्रहरीसहितको टोली खटाएर अनुगमन तथा कार्यबाही प्रक्रिया अघि बढाइने खतिवडाले बताए ।
Comments
Post a Comment