स्वर्ण महोत्सव मनाउदै सुनसरी उद्योग वाणिज्य संघ
धरान । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा सुनसरी उद्योग वाणिज्य संघले मंगलबारदेखि धरानमा तीन दिनसम्म विविध कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउदैछ ।
स्वर्ण महोत्सवको पहिलो दिन मंगलबारबाट एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत विभिन्न जिल्लामा उत्पादन भएका कृर्षिजन्य वस्तुहरुको प्रर्दशनी शुरु भएको छ । संघको सभाहलमा भएको प्रर्दशनीमा विभिन्न २२ जिल्लामा उत्पादन हुने कृर्षिजन्य उत्पादनहरु राखिएका छन् । प्रर्दशनीमा झापाको शान्तिनगर र शनिश्चरे गाविसमा उत्पादन हुने सुपारी, सुनसरीको विष्णुपादुका गाविसमा उत्पादन हुने बेसार, सप्तरीको आँप, दोलखाको लोक्ता, धनुषाको माछा, रामेछापको जुनार राखिएको छ । यस्तै, भक्तपुरको लप्सि, ललितपुरको सिम्बिडियम अर्किड, नुवाकोट र रसुवाको रेम्बो ट्राउट, चितवनको केरा, स्याङ्जाको कफि, पाल्पाको अदुवा, म्याग्दीको टिमुरलगायत कृर्षिजन्य उत्पादनहरु रहेको संघका कार्यकारिणी सदस्य एवं एक गाउँ एक उत्पादन कार्यक्रमका संयोजक मनोज श्रेष्ठले जानकारी दिए ।अघिल्लो आर्थिक बर्षसम्म सरकारले नेपालका २२ जिल्लालाई एक जिल्ला एक उत्पादनमा समावेश गरेको थियो । हाल यो संख्या बढेर ३२ जिल्ला पुगेको छ । ‘सरकारले पहिचान गरेका जिल्लाको कृर्षिजन्य उत्पादनको बजार प्रर्वद्धनमा गर्न निजी क्षेत्रबाटै पहल हुनुपर्छ, यो प्रद्र्धशनी त्यसैको एउटा प्रयास हो’–संयोजक श्रेष्ठले भने– ‘गाउँको उत्पादनहरुको बजारीकरण गर्न र व्यवसायीहरुबीच सम्बन्ध बढाउन भुमिका खेल्छ ।’ मंगलबार नै सुनसरी जिल्लामा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरु बिषयक क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता आयोजना भएको छ भने एक गाउँ एक उत्पादनसँगै सोही हलमा हस्तकलाका उत्पादन र चित्रकलाहरु पनि राखिएका छन् । नेपाल ललितकला प्रतिष्ठानको चित्रकला र हस्तकला विभागले विभिन्न जिल्लामा बनाइएका हस्तकला तथा अघिल्लो दिन(सोमबार) धनकुटाको भेडेटारमा कलाकारहरुले बनाएको चित्रहरु प्रर्दशनीमा राखेको हो ।

संघको सभा हलमा दुई दिनसम्म प्रर्दशनी रहने र अन्तिम दिन सभागृहमा पनि ती सामग्रीहरुको प्रर्दशनी गरिने स्वर्ण महोत्सव मुल समारोहका संयोजक एवं निवर्तमान अध्यक्ष मोहनकाजी शाक्यले जानकारी दिए । ‘संस्था स्थापना भएको ५० औं बर्ष पुग्नु आफैमा गर्विलो इतिहास हो, यो अवधिमा संस्थाले के गर्यो, कस्ता उपलब्धीहरु हासिल गरे र भविष्यमा के गर्नुपर्छ भनेर आत्मसमिक्षा गर्न, आमजनतामा यी कुराहरु पुर्याउन स्वर्ण महोत्सव मनाउदैछौंं’–संयोजक शाक्यले भने–‘राज्यले लगानीको वातावरण बनाइदिनुपर्छ, निजी क्षेत्र स्थानीयस्तरमा पनि देश निर्माणमा अग्रसर हुन तयार छ भन्ने सन्देश पनि दिन चाहन्छौं ।’ संघले ५० बर्षको अवधिमा गरेका काम, गतिविधि र उपलब्धीहरुलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गरेको छ । संघको स्थापना २०२० साल भदौ १३ गते व्यापार प्रबन्ध समितिको नाममा भएको थियो । पछि ०५२ सालमा नाम फेरेर उद्योग वाणिज्य संघ सुनसरी बनाइएको थियो भने गत बर्ष पुनः विधान संसोधन गरेर नामको अघि सुनसरी थपेर सुनसरी उद्योग वाणिज्य संघ बनाइएको थियो ।संघका अनुसार स्वर्ण महोत्सवकै अवसर पारेर बुधबार फिस्टुला स्वास्थ्य परीक्षण र इ लाइब्रेरी संचालनको शुभराम्भ पनि गरिनेछ । साथै, दिउँसो नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन गोष्ठी पनि आयोजना हुनेछ । अन्तिम दिन भदौ १३ गते संघको वेभसाइट र श्रम बजारको उद्घाटन गरिने कार्यक्रम रहेको छ भने धरानलाई प्लाष्टिक झोलामुक्त नगरको घोषणा र सिसि टिभि क्यामेरा पनि उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष सरोज श्रेष्ठले बताए । योग्यता र सीप भएर पनि बेरोजगार बस्न बाध्य युवाहरुलाई रोजगार दिलाउन रोजगारदातासँग पुलको काम गर्न श्रमबजार सञ्चालनमा ल्याउन लागिएको उनको भनाई छ । भदौ १३ गतेदेखि नै संघले नगरपालिकाबाट वितरण हुदै आएको व्यावसाय दर्ता र प्रमाणपत्र वितरणको काम पनि शुरुवात गर्नेछ ।
....
तीन दिन उपभोक्तालाई बिषेश छुट
सुनसरी उद्योग वाणिज्य संघको तीन दिने स्वर्ण महोत्सवको अवसरमार धरान र इटहरीका व्यवसायीहरुले ग्राहक एवं उपभोक्ताहरुलाई तीन दिनसम्म बिशेष छुट दिने घोषणा गरेका छन् । संघले दिएको जानकारी अनुसार धरानस्थित बराह इष्ड्रष्ट्रिज प्रालिले कपडाको सामानहरु खरीद गर्दा उपभोक्ताहरुलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ भने धरानकै कान्छाकान्छी सपिङ सेन्टरले पनि कपडामा १५ प्रतिशत नै छुट दिने घोषणा गरेको संघका कार्यकारिणी सदस्य एवं महोत्सव प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए ।यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित लाइफकेयर औषधि पसलले ५ प्रतिशत, धरान ४ स्थित दिपा स्टोरले जुत्ताचप्पलमा १० प्रतिशत, धरान २ स्थित तारा भाडा पसलले १० प्रतिशत, धरान ९ को पिलग्रिम साँझ होटलले खानामा १० प्रतिशत र लजमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । साथै, धरानको जगदिस प्रसाद सजन कुमारले खाद्यान्नमा बिषेश छुट दिने भएको छ भने इटहरीस्थित गोर्खा डिर्पाटमेन्ट स्टोरले सबै ग्राहकहरुलाई तीन दिनसम्म २ प्रतिशत छुट दिने घोषणा गरेको प्रचार संयोजक चाम्लिङले जानकारी दिए ।

Comments
Post a Comment