रुद्राक्ष उत्पत्तिस्थल पिण्डेश्वर(फोटोफिचर)


एक साता भो, चौबिसै घण्टा जस्तो पानी परिरहेको । देशैभर बाढी र पहिराले वितण्ड मच्चाएको खबरहरु आइरहेको छ । बिहानैदेखि पानी परेर घरबाट निस्कनै नपाइने । मनभित्र छटपट्टी र वेचैनी । विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको मन्दिर(बाबाधाम) पुग्नुछ । सिमसिम पानी । त्यही मौकामा तुर्के हुदै उकालो लागे । मन्दिर आइनपुग्दै निरन्तर टङ.. टङ..टङ.. घण्टाको आवाज गुञ्जियो । सोमबार भए जल चढाउने भक्तजनहरुको लामो लाइन हुन्थ्यो । तर, बुधबार भएपनि भक्तजनको कमी छैन । केहीले प्लाष्टिक लोटा, कलशमा पानी बोकेर ‘बोल बम’ पनि जप्दै थिए ।
साउन हिन्दु आराध्यदेव शिवको प्रिय महिना । सोमबार प्रियवार । त्यसैले साउनको सोमवार पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको थामिनसक्नु घुइचो हुन्छ । पिण्डेश्वर बाबाधाम समितिले बोलबम मेला नै लगाउछ । भक्तजनहरु आइतबार प्राचिन हरिद्धार(चतरा) जान्छन् । त्यहाँबाट कोशीको पवित्र जल बोकेर राती बाह्र बजेपछि धरान आउछन् र पिण्डेश्वरमा चढाउछन् । चतराबाट धरानसम्म खाली खुट्टा पैदल यात्रा । भक्तजनहरुलाई बर्षाले पनि छेक्दैन, रोक्दैन । ‘बोल बम बोल बम’ सबैले जप्ने मन्त्र । ‘बम’ शिवको अर्को नाउँ । ‘बोल बम’ शिवको नै पुकार हो । चतरा पुगेर आउने भक्तजनहरुलाई बोलबम नै भन्ने चलन छ । साउनमा आइतबार मध्यरातदेखि नै पिण्डेश्वरमा रौनक छाउछ । साउनमा युवतीहरुको हातमा हरियो चुरा र मेहन्दीले रंगिएको हुन्छ ।
मन्दिरको मुख्य गेटबाट छिर्नसाथ कुम्भ स्तम्भमा आँखा पुग्यो । गएको सोमबार कुम्भ स्तम्भ उद्घाटनमा बाबाधाम समितिले निम्त्याएको थियो । तर, निरन्तरको बर्षाले गर्दा गइन । कुम्भ स्तम्भ २४ फिट अग्लो रहेछ । स्तम्भमाथि कमलको फुल । फुलमाथि चारैतिर नागले कुम्भ घडालाई सुरक्षा दिएको । त्यो घडा चतराममा महाकुम्भ मेलाअघि कलश यात्रामा लगिएका थियो । जगतगुरु वालसन्तले मोहनशरण देवाचार्यले प्राचीन हरिद्धार चतरामा कुम्भ मेला शुरुवात गरेका छन् । यो स्तम्भ कुम्भ र पिण्डेश्वरबीचको सम्बन्ध सेतु हो । बाबाधाम समितिका अध्यक्ष गौरीशंकर अग्रवालले १० बजे समय दिएका थिए । आइपुगेनन् । मुख्य पुजारी विनोद पोखरेल भर्खर घरबाट मन्दिर आउदै थिए । भक्तजनको घुइचोले सहायक पुजारीलाई बोल्ने फुर्सद थिएन । मन्दिर परिसरमा थुप्रै देवीदेवताहरु छन् । मुख्य पुजारी नआउदासम्म मठमन्दिरहरु घुमे ।
हिन्दु धर्मावलम्बीहरुमा पिण्डेश्वर महादेवको ठुलो महत्व छ । मुख्य पुजारी पोखरेलसँग भेट भएपछि पिण्डेश्वर महादेवको महिमा बेलीविस्तार लगाए । स्कन्ध महापुराणको हिमाद्री खण्ड(हिमवत)को रुद्राक्षरण्य महात्म्यमा वर्णन भएअनुसार देवता र दानवले अजर अमर हुने लक्ष्य राखेर समुद्र मन्थन गर्न शुरु गरे । त्यसक्रममा उत्पन्न अमृतलाई मोहिनी रुपधारी विष्णुले छल गरेर देवताहरुलाई पिलाए । अमृतको शेष रहेको छोक्रालाई विष्णु र ब्रह्माको आदेशमा देवताहरुले पिण्डको आकारमा यसै ठाउँमा स्थापना गरे । पिण्डको आकार बढेर संसार ढाकिने डर भयो । देवताहरुले स्तुती गरेपछि महादेव आफै पिण्डमा आएर बसिदिएकोले नाम पिण्डेश्वर महादेव रह्यो ।
बोल बम भक्तजनहरुले कोशीको पत्रिव जल ल्याएर पिण्डेश्वरमा चढाउने गर्छन् । यो चलन पनि देवताहरुले नै शुरु गरेको मानिन्छ । मन्दिरको पश्चिम पट्टी सरस्वती कुण्ड छ । रुद्राक्षरण्य महात्म्य अनुसार देवी सरस्वतीले त्यो कुण्ड खनेर महादेवलाई जल चढाएकी हुन् । तर, पिण्डेश्वरमा कोशीको जल सामुहिकरुपमा चढाउने परम्परा बोलबम भने ०३९ सालपछि मात्र शुरु भएको हो । यसको श्रेय स्वर्गीय पथीक कवि लक्ष्मीप्रसाद आचार्यलाई जान्छ । उनले आफ्नो पुस्तक देशको माटो देशको ढुंगामा पिण्डेश्वर र जल चढाउने परम्पराको चर्चा गरेका थिए । पहिलो पटक ३१ जनाले बोलबम भन्दै यो परम्परालाई थालनी गरे । यसले व्यापकता पाइसकेको छ । अहिले साउन महिनामा मात्रै जल चढाउन लाखौं बोलबम भक्तजनहरु पिण्डेश्वरमा आउने गर्छन् । नेपाली तीर्थालु बोलबमहरुको गन्तव्य भारतमा हुन्थ्यो । अहिले भारतबाट पिण्डेश्वरमा आउन थालेका छन् । पिण्डेश्वरको दर्शन गर्दा मनोकांक्षा पुरा हुन्छ । सुख शान्ति मिल्छ र इहलीला समाप्त भएपछि शिवलोक प्राप्त हुन्छ भन्ने जनविश्वास छ । शिवलाई जल चढाउनुको कारण पनि रोचक रहेछ । समुद्र मन्थनको क्रममा हलाहल बिष निस्कियो । संसार भष्म हुने भय थियो । तर, देव र दानवको संयुक्त प्रार्थनाबाट खुशी भई भगवान शिवले बिषलाई पिएर आफ्नो घाँटीका अड्काई दिए । बिषले शिवलाई असह्य पीडा भयो । यो पीडालाई शान्त पार्न शिवलाई शुद्ध दुध वा जल दिने गरिएको मानिन्छ ।
पिण्डेश्वरको महिमा यतिमै सकिदैन । यो ठाउँलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । मन्दिरलाई नै रुद्राक्षरण्य पिण्डेश्वर पनि भन्ने गरिन्छ । रुद्राक्षरण्य महात्म्यमा उल्लेख भएअनुसार त्रिपुर नामको असुरले देवताहरुलाई ज्यादै दुःख दिए । भगवान शिवले रौद्र रुप धारण गरेर त्रिपुरको अन्त्य गरे । त्यसपछि रौद्र रुपधारी शिव यही ठाउँमा आएर विश्राम लिदा रिस शान्त भएको र हर्षले चार थोपा आँशु खसेको थियो । शिव(रुद्र)को हर्षको आँशु अंकुरण भएर रुख बन्यो । त्यही चार रुख फैलिएर अरण्य अर्थात जंगल भयो । त्यसैले यो क्षेत्रलाई रुद्र अश्रु अरष्य अर्थात रुद्राक्षरण्य भनिएको हो । रुद्राक्षको उत्पत्ति थलो भएकोले यहाँको रुद्राक्ष धारण गर्दा फलदायी हुन्छ अथवा अन्यत्रका रुद्राक्ष पिण्डेश्वरलाई छुवाएर धारण गर्दा पनि हुन्छ । तर, विडम्वना यही रुद्राक्षरण्य क्षेत्रमा अहिले रुद्राक्षका बोटहरु लोप भइसकेको छ । मन्दिर परिसरमा पनि मात्र ५ वटा जति रुद्राक्षको बोट छ । अन्बेषक, शिवका भक्तहरु एक, दुई वटा मात्र भए पनि यहाँको रुद्राक्ष लिएर जाने गरेको मुख्य पुजारी पोखरेलले सुनाए ।
पिण्डेश्वर महादेवको भौतिक संरचना (मन्दिर) प्रारम्भमा कसले र कहिले निर्माण गरेको हो भन्ने खुल्न सकेको छैन । तर, स्वर्गीय प्राध्यापक गुरु चन्द्रमणी अधिकारीले एउटा लेखमा लेखेका छन्, ‘पिण्डेश्वर क्षेत्रमा हालसम्म पाइएको सबैभन्दा पुरानो अभिलेख मन्दिरको गजुरमा राखिएको अभिलेख हो, जसमा  वि.स.१८७९ मा मन्दिर जिर्णोद्धार गरिएको उल्लेख गरिएको छ । यसबाट वि.स.१८७९ सालमा जीर्णोद्धार गरएको उक्त मन्दिर त्यसभन्दा पहिला नै निर्माण गरिएको देखिन्छ ।’ मन्दिरमा पुरानो दुईटा घण्टा पनि झुण्ड्याइएको छ । गुरु अधिकारीकै लेखमा एउटा घण्टा वि.स.१८८५ सालमा राजेन्द्रविक्रम शाह र भिमसेन थापाले अभिलेखसहित राखेको भनिएको छ भने अर्को घण्टा वि.स.१९०९ सालमा जंगबहादुर राणाले अभिलेखसहित राखेको उल्लेख छ । सरस्वती कुण्ड पश्चिम सडक किनारमा एउटा इनार छ । डाँडामा कुवा हुनु पनि अचम्म नै मान्नु पर्छ । स्थानीयले कुवाको पानी प्रयोग गर्छन् । यो कुवाबारे पनि रहस्य नै छ ।
बाबाधाम समितिका अध्यक्षसँग भेट हुन सकेन । तर, पुर्वसचिव तथा जनसम्पर्क अधिकारी विकास वनेपालीसँग मन्दिरमै भेटिए । उनका अनुसार साउनमा मात्र ४ लाखको हाराहारीमा धार्मिक पर्यटक बोलबममा धरान भित्रिन्छन् । ती मध्ये अधिकांश आन्तरिक हुन्छन् । आउन त भारतको विहार, सिक्किस, दार्जिलिङ र भुटानबाट पनि भक्तजनहरु आउछन् । बाह्य धार्मिक पर्यटकको संख्या भने नगन्य हुन्छ । दक्षिणमा विशाल छिमेकी मुलुक भारत छ । त्यहाँका बहुसंख्याक मानिस हिन्दु धर्ममा आस्था राख्छन् । त्यहाँका थोरै जनसंख्या मात्र धार्मिक पर्यटकलाई भित्र्याउन सके धेरै फाइदा पुग्छ । तर, त्यहाँसम्म पिण्डेश्वर र बोलबमको धार्मिक महत्वबारे प्रचार हुन सकेको छैन । भारतका तीर्थालु(धार्मिक पर्यटकहरु) गाडी रिजर्ब गरेर वा आफ्नै गाडीमा आउछन् । जल चढाएपछि फर्किहाल्छन् ।
धरान र आसपासमा थुप्रै धार्मिक महत्वका मठमन्दिर छन् । ती सबैलाई समेटर धार्मिक प्याकेज बनाए आन्तरिक र बाह्य पर्यटकको बसाई लम्ब्याउन सकिन्छ । साउनमा बोलबम आउने तीर्थालुलाई दन्तकाली, बुढासुब्बा, पाँचकन्या, बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, शिवजट्टाबारे जानकारी दिने । ती ठाउँको दर्शन गर्न प्रोत्साहित गर्ने । ती ठाउँमा पनि मेला लाग्छ । त्यसबेला पनि सबै मठमन्दिरबारे सुचना दिने । स्टल राख्ने, पर्चा र ब्रोसर बाड्ने । वनेपालीको आइडिया राम्रो थियो । तर, प्याकेज कस्ले बनाउने ? स्टल राखेर प्रचार कसले राख्ने ? तीर्थालुहरु जान चाहे तत्काल यातायातको व्यवस्था कसरी गर्ने ? यहाँका पर्यटन व्यावसायीहरु सुतेका छन् । एकाधबाहेक टुर अपरेटर(ट्राभल एजेन्सीहरु) हवाई टिकट बिक्रीमा सिमित छ । स्वयम बाबाधाम समितिले पनि त्यसरी प्रचार गर्न सकेको छैन ।
धरानमा पर्यटनबारे चर्चा हुन थालेको बषौं भयो । स्वयम व्यापारी, व्यावासीहरुको व्यावहार भने पर्यटनमैत्री छैन । सामान्यत ः साउनमा पाँच सोमबार पर्छ । लाखौं भक्तजनहरु पिण्डेश्वर दर्शन गर्न आउछन् । तर, सोमबार नै धरानको बजार बन्द हुन्छ । मन्दिरमा जल चढाए पछि किनमेल गर्न चाहने धार्मिक पर्यटकहरु निराश हुन्छन् । सुनसरी उद्योग वाणिज्य संघले बजार खुलाउने प्रयास त ग¥यो तर सफल भएन । पर्यटनकर्मी वासुदेव वराल बोलबममा खर्च नगर्ने मान्छेहरु मात्र आउछन् भन्ने व्यापारी, व्यावसायीहरुको सोचले आर्थिक फाइदा नपुगेको ठान्छन् । बोलबम मेलामा पिण्डेश्वर मन्दिर बाहिर अस्थायी टहरामा बजार लाग्छ । फुल,प्रसाद, मालाको केही पसलहरु भने बर्षभरि चल्छन् । सहप्राध्यापक राजेन्द्र शर्माले धरानमा बोलबमको आर्थिक प्रभावबारे मन्दिर आसपासका खुद्रा पसलबारे ०६८ र ०६९ सालमा सर्वेक्षण गरेका रहेछन् । ती पसलहरुले मात्र साउनमा आधा करोड करोबार गरेको तथ्य उनले खुलाएका छन् । खुद्रा पसलमा त यतिको करोबार हुन्छ भने बजार खुल्दा तीर्थालुहरुले पक्कै किनमेल गर्नेथिए र करोडौंको कारोबार हुनेथियो । तब मात्र पर्यटनको नाराले सार्थकता पाउने थियो ।
.......................................................................................

मन्दिरमा सुरक्षा भएन
विनोद पोखरेल, मुख्य पुजारी


धरानबासीले मन्दिरप्रतिको उदासिनता हटाउनुपर्छ । मन्दिरलाई कमाई गर्ने थलो मात्र बनाउनु हुदैन । प्राचीन सँस्कृति, धरोहरकोरुपमा जोगाउनुपर्छ । पर्यटन विकास गर्ने हो भने पुर्वाधार विकास हुनुप¥यो । मन्दिरको प्राचीनताबारे पनि पुरात्तत्व विभागले गहिरिएर अन्वेषण गरिदिनुपर्छ ।
यहाँ सबैभन्दा ठुलो समस्या शान्ति सुरक्षा हो । मन्दिर र भक्तजनहरुको सुरक्षा छैन । पथीक कविले हजारौं विघा जग्गा भएको उल्लेख गर्नुभएको छ तर मन्दिरको छेउकुना अतिक्रमण हुने अवस्थामा पुगिसकेको छ । बाध्य भएर पर्खाल लगाउनुप¥यो । राज्यले लगानी गरिदिनुपर्छ ।
........................................................................

धार्मिक प्याकेज बनाउनुपर्छ
विकास वनेपाली, पिण्डेश्वर बाबाधाम समिमतिका पुर्वसचिव, जनसम्पर्क अधिकारी



ः लाखौं भक्तजनहरु आउछन् । तर बस्ने वातावरण भएन । यहाँ आउने, पुजा गर्ने र फर्किहाल्ने चलन छ । यसलाई तोड्नु धार्मिक प्याकेज बनाउनुपर्छ । साउनमा बोलबममा आउने तीर्थालुहरुलाई बराहक्षेत्र, विष्णुपादुका, रामधुनी, शिवजट्टा पनि पुग्ने वातावरण बनोस् । त्यसो गर्दा एक वा दुई दिन धरानमा बसाई हुन्छ । होटल, व्यापार बढ्छ । यातायात व्यासाय पनि चल्छ । पर्यटनकर्मीहरु जागरुक हुनुपर्छ । मेलामा स्टल राखेर यो यो ठाउँमा जाउ भन्दै प्रचार गर्ने र प्याकेज दिनुपर्छ ।
बराहक्षेत्रमा कार्तिकमा भव्य मेला लाग्छ । पुषमा विष्णुपादुकामा । राम नवमीमा रामधुनीमा । ती मेलाहरुमा पनि त्यसैगरी अन्य धार्मिक गन्तव्यबारे प्रचार हुनुपर्छ । त्यता पनि जानुस् है भन्नुपर्छ । यसको लागि ती सबै मठमन्दिरबीच समन्वय समिति बन्नुपर्छ ।
....................................................

बोलबम टुरिज्म प्रोडक्ट
वासुदेव वराल, पर्यटनकर्मी/सेक्ष ट्राभलिङ


ः पर्यटकको नाममा भीड बढाउने काम मात्रै गर्नुहुदैन । धार्मिक पर्यटकहरुलाई खर्च गराउने गरी आकर्षित गर्नुपर्छ । पिण्डेश्वर मन्दिर आपैmमा टुरिज्म प्रोडक्ट हो । बोलबमलाई पनि प्रोडक्ट बनाउनुपर्छ । यहाँका व्यापारी, व्यावसायीहरुले बोलबममा पैसा खर्च नगर्ने मान्छे मात्र आउछन् भन्ने सोचाई त्याग्नुपर्छ र सोमबार बजार खुलाउनुपर्छ । साउनको बोलबममा आउने भक्तजनहरु अधिकांश आन्तरिक र ग्रामिण क्षेत्रका हुन्छन् । उनीहरु छिट्टै घर फिर्लान् । तर, भारतीयहरु पिण्डेश्वर र दन्तकाली आउन चाहन्छन् । नेपालकै टाढाका जिल्लाबाट आउछन् । उनीहरु बास बस्ने, अरु मन्दिरमा पु¥याउने वातावरण तयार गर्नुपर्छ । बोलबमलाई प्रोडक्ट बनाएर नजिकको भारतीय शहरमा प्रचार गर्ने र उनीहरुलाई लक्षित गरेर व्यापार प्रर्वद्धन गर्नसके धेरै आर्थिक फाइदा पुग्छ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे