ठेकेदारसँग स्पष्टीकरण,पीडितको पैसा फिर्ता, संलग्नलाई कामबाट निकालियो

धरान । वृहत खानेपानी आयोजना निर्माणको क्रममा उपभोक्ताहरुको घरमा धारा जडान गर्दा ज्यालादारी कर्मचारीहरुले सम्झौता विपरीत रकम असुल गरेको बिषयमा आयोजनाको अनुगमन तथा परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी(बिडिए)ले ठेकेदार कम्पनीसँग स्पष्टीकरण सोधेको छ ।
विना शुल्क उपभोक्ताको कम्पाउण्ड वालसम्म पाइप र मिटर जडान गरिदिनु पर्नेमा रकम असुल गरेको सार्वजनिक भएपछि परामर्शदाता बिडिएले बुधबार ठेकेदार कम्पनी तियञ्जिन तुदी जेभीलाई स्पष्टीकरण सोधेको हो । परामर्शदाताले सम्झौतामा नभएको कार्य किन भएको ? कसले गरेको र को जिम्मेवारी छ भन्ने प्रश्न गर्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । ‘सम्झौतामा पैसा लिने भन्ने छैन, यसमा को जिम्मेवार छ ? यस्तो किन भयो ? अरु पनि घटना छ कि ?’–परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालले भने–‘सम्झौताबाहेक दाँया बाया गर्न पाइदैन, जसबाट पैसा लिएको हो, फिर्ता भयो कि भएन ? घटनामा संलग्नलाई कारबाही भयो कि भएन भनेर ठेकेदारलाई पत्र पठाएको छुँ ।’
परामर्शदाताबाट स्पष्टीकरण पत्र आएपछि ठेकेदार कम्पनीले इञ्जिनियर चक्र गोपाललाई पुनः फिल्डमा पठाएर पीडितहरुको पैसा फिर्ता गरेको छ । साथै, रकम असुलीमा संलग्न तीनजनालाई कामबाट हटाइएको इञ्जिनियर गोपालले जानकारी दिए । ‘गोविन्द कार्कीको २ हजार १ सय ५० र रुक्मणी घिमिरेको १ हजार गठी गरी लगेकोमा फिल्डमा गएर फिर्ता गरिदिएको छु’–इञ्जियिनर गोपालले भने–‘घटनामा ३ जनाको मिलेमतो रहेछ, उनीहरुलाई कामबाट हटाइसकेका छौं ।’ उनका अनुसार एक जना प्लम्बर र २ जना लेबर(ज्यालादारी श्रमिक)को मिलेमतो थियो । फिल्ड अध्ययनको क्रममा सुपरभाईजरले साइट नै नदिएको क्षेत्रमा बेलुकी ५ बजेपछि आफुखुशी गएर पैसा लिएको पनि पत्ता लागेको छ । ‘७ मिटर पाइप मात्रै प्रोजेक्टले दिएको छ, त्यो भन्दा बढी राख्न पैसा तिर्नुपर्छ भनेर पैसा लिएको रहेछ । तर, हामीले १५÷२० मिटरसम्म दिइरहेका छौं’–उनले भने ।
परामर्शदाता बिडिएका निर्देशक नेपालका अनुसार आयोजना र ठेकेदारबीच औसतमा १२ मिटर मानेर उपभोक्ताको घरको कम्पाउण्ड वालसम्म पाइप विछ्याएर मिटर जडान गरिदिने सम्झौता छ । तर, कसैको घरमा २ मिटर, कसैकोमा ५ मिटर मात्र पाइप लाग्ने भएकोले आवश्यकताअनुसार २० मिटरसम्म पनि आयोजनाले नै पैसा नलिई पाइप विछ्याइरहेको उनले जानकारी दिए । ‘उपभोक्ताहरुलाई थाह नभएर पनि यस्तो घटना भएको हो, तर अब दोहोरिने छैन’–नेपालले भने । एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी आयोजना कार्यान्वयन इकाइले नयाँ धारा जडानको लागि उपमहानगरबासीबाट एकमुष्ट रकम (शुल्क) संकलन गरिरहेको छ । त्यसबापत आयोजना र निर्माण कम्पनी तयाञ्जिन तुदी जेभीबीच ठेक्का सम्झौता हुदा उपभोक्ताको कम्पाउण्डभित्रसम्म धाराको पाइप पु¥याएर मिटर जडान गरिदिए वापत लाग्ने सामग्री र खर्च आयोजनाले नै व्यहोर्ने उल्लेख छ ।
राजश्व संकलन शाखाका अनुसार मंगलबारसम्म २ हजार ४ सय ६४ जनाले नयाँ धारा जडानको लागि २ करोड ७३ लाख ८७ हजार शुल्क बुझाएका छन् । त्यसमध्ये हालसम्म ५ सय ३९ घरमा नयाँ धारा जडानको कार्य सकिएको आयोजनाको भनाई छ । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा जारी आयोजनाको सन् २०१७ जुलाईभित्र सम्पन्न हुने लक्ष्य छ ।
यसैबीच, उपभोक्ताबाट गैरकानुनी रकम असुलीबारे धरान खानेपानी आयोजना अनुगमन समितिले घटनाको गहिरिएर छानबिन गर्न माग गरेको छ । समितिका संयोजक एवं कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले घटना पेटी ठेकेदारको निर्देशनमा भएको हो वा श्रमिकको मात्र संलग्नता बारे गहिरिएर छानबिन हुनपर्ने माग गरे । ‘यस्तो होला भनेर कल्पनै गरेका थिएनौं, हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ठेकेदारहरुलाई बोलाएर संयुक्त बैठक राख्न उपमहानगरपालिका र आयोजनालाई आग्रह गरेका छौं’–संयोजक तामाङले भने–‘छानबिन र दोषीलाई कारबाही गर्न पनि माग गरेका छौ, यसैबिषयमा अनुगमन समितिको तत्काल बैठक बस्छौं ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे