धरानमा खानेपानी आयोजना,नयाँ धारा जोड्न गैरकानुनी रकम असुली

धरान । एकीकृत शहरी विकास आयोजनाअन्तर्गतको खानेपानी आयोजना निर्माणको क्रममा उपभोक्ताहरुको घरमा धारा जडान गर्दा ठेकेदार कम्पनीका ज्यादालारी कर्मचारीहरुले गैरकानुनीरुपमा रकम असुल गरिरहेको पाइएको छ । आयोजना कार्यान्वयनको क्रममा नयाँ धारा जडानको लागि अग्रिम पैसा बुझाएका उपभोक्ताहरुको घरसम्म मिटर जडानको लागि पाइप लैजादा ठेकेदार कम्पनीले खटाएका प्लम्बर, लेबरलगायत कर्मचारीहरुले गैरकानुनीरुपमा थप रकम असुल गरेका हुन् ।
आयोजना कार्यान्वयन इकाइले नयाँ धारा जडानको लागि उपमहानगरबासीबाट तीन आर्थिक बर्षमा फरक फरक दरमा एकमुष्ट रकम (शुल्क) संकलन गरेको छ । त्यसबापत आयोजना र निर्माण कम्पनी तयाञ्जिन तुदी जेभीबीच ठेक्का सम्झौता हुदा उपभोक्ताको कम्पाउण्डभित्रसम्म धाराको पाइप पु¥याएर मिटर जडान गरिदिए वापत लाग्ने सामग्री र खर्च आयोजनाले नै व्यहोर्ने उल्लेख छ । तर, सम्झौता विपरीत नयाँ धारा जडान गर्न ठेकेदारले खटाएका कर्मचारीहरुले पाइपको प्रतिमिटर २ सय रुपैयासम्म लिएर रकम असुल गरिरहेको भेटिएको छ ।
गैरकानुनीरुपमा रकम असुल भएको बारेमा धरान १७ स्थित माथिल्लो उदय टोलका केही उपभोक्ताहरुले मंगलबार आयोजना कार्यान्वयन इकाइमा लिखित उजुरी नै दिएका थिए । उजुरीमा स्थानीय गोविन्द ठटालबाट २ हजार र रुविना ठटालबाट १ हजार रुपैया असुल गरेको उल्लेख छ । यस्तै, एस्ता परियार, सीता परियार र मानबहादुर लिम्बुलाई पनि प्रतिमिटरको हिसाबले पैसा तिरे मात्र घरमा धारा जडान गरिदिने भन्दै बार्गेनिङ गरेको पीडित उपभोक्ताहरुको भनाई छ । ‘घरघरमा धारा लैजाने हो भने मिटरको हिसाबले पैसा तिर्नुपर्छ भन्यो । अरुतिर त पैसा लिइसकेको रहेछ’–पीडित सिता परियारले भनिन्–‘हामीले पहिल्यै १२ हजार शुल्क बुझाइसकेका थियौं । फेरी पैसा तिर्दैनौं भनेर कार्यालयमा निवेदन दियौं ।’ खानेपानी व्यावस्थापन बोर्ड मातहतको राजश्व संकलन शाखाका सहयोगी आइतबहादुर लिम्बुका अनुसार यसअघि पनि धारा जडानको क्रममा पैसा मागेको मौखिक जानकारी आउने गरेको थियो । तर, लिखितरुपमा भने पहिलो पटक जानकारी आएको उनले बताए ।
उपभोक्ताहरुबाट लिखित उजुरी नै आएपछि आयोजना कार्यान्वयन इकाईले निर्माण कम्पनीलाई तत्काल छानबिन गरेर दोषी पाए कार्वाही गर्न निर्देशन दिएको थियो । ‘नयाँ धारा जडानको लागि शुल्क दिइसकेकाहरुको घर(कम्पाउण्डवाल)सम्म मिटर राखिदिनुपर्छ, यसको लागि पैसा तिनुपदैन । ठेकेदार कम्पनीकै जिम्मेवारी हो’–आयोजनाको सब इञ्जिनियर किसोर अधिकारीले भने–‘पैसा उठाएको भन्ने उजुरी नै आएको छ, यथासिघ्र छानबिन गर्न भनिसकेका छौं । प्रमाणित भए पैसा फिर्ता गरेर लिनेलाई कारबाही हुन्छ ।’ उनका अनुसार नयाँ धारा जडानको लागि उपभोक्ताहरुबाट एकमुष्ट शुल्क लिइएको छ । त्यसबापत घरको कम्पाउण्डसम्म खन्ने र पुर्ने, त्यहाँसम्मको हाउस कनेक्सन पाइप, फिटिङ र जडान गर्दाको सामग्री र खर्च साथै मिटरसमेतको सबै खर्च आयोजनाले नै व्यहोर्छ । ठेकेदार कम्पनीले त्यसवापत भएको खर्चको विल आयोजनालाई पेश गर्ने र भुक्तान लिने सम्झौता छ ।
आयोजना कार्यान्वयन इकाईको निर्देशनलगत्तै ठेकेदार कम्पनी तियाञ्जेन तुदीले इञ्जिनियर चक्र गोपाललाई यथार्थ बुझ्न फिल्डमा पठाएको थियो । स्थलगत अध्ययनमा जादा दुई घरबाट पैसा असुल भइसकेको र अरुसँग पनि बार्गेनिङ गरेको भेटिएको इञ्जिनियर गोपालले जानकारी दिए । ‘७ मिटरमात्रै पाइप पाउनुहुन्छ, त्यो भन्दा बढी हाल्ने हो भने प्रतिमिटर २ सय रुपैयाको दरले पैसा लाग्छ भनेर ३ हजार उठाइसकेको रहेछ’–उनले भने–‘पैसा तिर्नुपदैन भन्ने घरवालालाई थाह रहेनछ, यसरी पैसा लिन पाइदैन । पैसा फिर्ता हुन्छ र लिनेलाई कामबाट हटाइन्छ ।’ठेकेदार कम्पनीका साइड इञ्चार्ज सरोज पोख्रेलले प्लम्बर, लेबर सबै मिलेर पैसा असुलेको स्वीकार गरे । कम्पनीले त्यसक्षेत्रमा उपभोक्ताको घरसम्म नयाँ धारा जडानको जिम्म पेटी कन्ट्रयाक्टरलाई दिएको खुलाउदै उनले त्यसबारेमा पेटी ठेकेदारसँग पनि सोधपुछ गर्ने बताए । ‘प्लम्बर, लेबर सबै मिलेर पैसा लिएको रहेछ, फिर्ता गरेर पेटी कन्ट्रयाक्टरसँग थप बुझ्छौं । प्रहरीमा बुझाउनु परे पनि बुझाउछौं’–पोख्रेलले भने ।
आयोजना निर्माणकै क्रममा धरान खानेपानी व्यावस्थापन बोर्ड गठन भइसकेको छ भने बोर्डले नयाँ धारा जडानको लागि उपभोक्ताहरुसँग शुल्क लिइरहेको छ । बोर्ड मातहतको राजश्व संकलन शाखाका अनुसार मंगलबारसम्म २ हजार ४ सय ६४ जनाले नयाँ धारा जडानको लागि २ करोड ७३ लाख ८७ हजार शुल्क बुझाएका छन् । त्यसमध्ये हालसम्म ५ सय ३९ घरमा नयाँ धारा जडानको कार्य सकिएको आयोजनाको भनाई छ । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा जारी आयोजनाको सन् २०१७ जुलाईभित्र सम्पन्न हुने लक्ष्य छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे