धरानका शैवलाई भारतमा सफलता

धरान । करिब ६ बर्षको उमेरमा धरान १ का शैव श्रेष्ठ कवर्ड हलमा कराते सिक्न जान्थे । आमा बुबाको साथ पाएका उनले करिब डेढ बर्षसम्म त्यहाँ कराते प्रशिक्षण लिए । अध्ययनको सिलसिलामा भारतको कालिङपोङ १२ माइलस्थित वृन्दावन सेकेण्डरी स्कुलमा पुगे । त्यहाँ पनि विद्यार्थीलाई कराते खेल्न पाउने व्यवस्था थियो । सानै उमेरमा कराते सिकेका शैवलाई त्यहाँ पनि अवसर मिल्यो ।
हाल कक्षा ७ मा अध्ययनरत उनले स्कुल पढ्दै गर्दा नै राष्ट्रिय मात्र होइन, अन्र्तराष्ट्रिय प्रतियोगितामा पनि सफलता हासिल गरिसकेका छन् । छोराको सफलताले धरानमा रहेका उनका अभिभावकहरु पनि निक्कै उत्साही र खुशी छन् । शैवले हालै भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा आयोजित अन्र्तराष्ट्रिय कराते च्याम्पियनसिपमा उमेर समुहमा प्रथम हुदै स्वर्ण पदक जिते । यो सफलता उनका अभिभावकले पनि अपेक्षा गरेका थिएनन् । ‘अल इण्डिया वडोकाई कराते च्याम्पियनसिपमा उमेर समुहमा द्धितिय हुदा अन्र्तराष्ट्रिय च्याम्पियनसिपमा खेल्ने मौका पाएको थियो । छोराको व्यक्तित्व र आत्मविश्वास बढ्छ भनेर भाग लिओस् भन्ने थियो’–शैवका पिता विशाल श्रेष्ठले खुशी हुदै भने–‘तर, गोल्ड मेडल नै पो जितेछ, हामी सबै जना खुशी छौं ।’ प्राध्यापन पेशामा रहेका शैवका पिता स्वयम पनि एक समयका ब्ल्याक बेल्ट हुन् । उनकी आमा शर्मिला श्रेष्ठ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नर्सिङ कलेजकी एसिस्टेण्ट प्रोफेसर हुन् ।
शैवले अगस्ट १२ देखि १४ सम्म न्यु दिल्लीमा सम्पन्न इण्डिया इन्डिपेन्डेन्स कप इन्टरनेशनल च्याम्पियनसिपमा स्वर्ण पदक जितेका हुन् । यो च्याम्पियनसिपमा विभिन्न ६ देशबाट ९५ टिमका २ हजार बढी खेलाडीहरु सहभागी थिए । अन्र्तराष्ट्रियस्तरको यो प्रतियोगितामा शैवसँगै कालिङपोङका ३ जनाले स्वर्ण पदक र एक जनाले कास्य पदक जितेका थिए । पदक विजेता खेलाडीहरुलाई कालिङपोङका स्पोर्टस एशोसिएशनले भव्य स्वागत गरेको थियो भने स्कुलहरुले सम्मान पनि गरेको थियो । गार्खा मुक्ती मोर्चाका अध्यक्ष विमल गुरुङ्गले दार्जीलिङ्गमा बोलाएर उनीहरुलाई स्वागत सम्मान र वधाई दिएका थिए । शैवले अन्र्तराष्ट्रियस्तरको पदक जित्नु अघि १९ औं अल इण्डिया वाडोकाई कराते च्याम्पियनसिप २०१६ मा द्धितिय भएका थिए ।
शैवका पिता आफै पनि पुर्व खेलाडी भएकोले पढाईसँगै खेलकुद गतिविधिले उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्छ भन्ने मान्यता छ । उनको यो मान्यताले पनि शैवलाई अतिरिक्त क्रियाकलापमा अघि बढ्न सहजता भएको हो । ‘सानैमा धरानमा कराते सिकेकोले उसलाई सहज भयो, पढाईसँगै अतिरिक्त गतिविधिहरुले व्यक्तित्व विकासमा सघाउछ, आत्मविश्वास बढाउछ’–शैवका पिता श्रेष्ठले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे