सभागृह र सप्तरंगी निजी क्षेत्रलाई दिने प्रक्रिया रद्द

धरान । सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप धरान सभागृह र सप्तरंगी पार्क निजी क्षेत्रलाई सार्वजनिक साझेदारीमा दिने प्रक्रिया धरान उपमहानगरपालिकाले रद्द गरेको छ । साझेदारी अवधारणा अनुरुप सभागृह र सप्तरंगी पार्कलाई विकास, सञ्चालन र हस्तान्तरण गर्न दुई संस्थाले प्रस्ताव पेश गरेपनि थप कानुनीरुपमा पेश गर्नुपर्ने आवश्यक कागजात पेश नगरेपछि उपमहानगरपालिकाले साझेदारी प्रक्रिया अन्त्य गरेको हो ।
सभागृहको लागि राइजिङ स्पोटिङ क्लबले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए भने सप्तरंगी पार्क सञ्चालनको लागि धरान एडभेञ्चर टुरिजम एण्ड इन्टरटेनमेन्टले प्रस्ताव पेश गरेका थिए । माग वमोजिम आवश्यक  कागजात पेश नभएको भन्दै उपमहानगरपालिकाको २७ औं बोर्ड बैठकले प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो । ‘सभागृह र पार्कलाई सार्वजनिक निजी अवधारणा अनुरुप अघि बढाउन खोजेका थियौं, त्यसअनुसार प्रस्ताव अह्वान हुदा दुईटा संस्थाले डिजाइनसहित आर्थिक तथा प्राविधिक प्रस्ताव पनि पेश गरेका थिए’–सार्वजनिक निजी साझेदारी प्रर्वद्धन कार्यक्रमका सदस्य सचिव एवं उपमहानगरका राजश्व शाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले भने–‘तर, प्राविधिक प्रस्ताव अध्ययनको क्रममा थप कानुनीरुपमा पेश गर्नुपर्ने आवश्यक कागजात माग गरेवमोजिम पेश नगरेपछि प्रक्रियालाई अन्त्य गरिएको छ ।’
यो प्रक्रिया अन्त्यसँगै धरान ८ स्थित सभागृह र धरान १७ स्थित सप्तरंगी पार्कको भविष्य पुनः अन्यौलमा परेको छ । यी दुवै स्थानमा राज्य तथा उपमहानगरपालिकाको करोडौंको लगानी छ । तर, उपमहानगरपालिकाले उचित व्यावस्थापन एवं सञ्चालन गर्न नसक्दा सभागृह र सप्तरंगी पार्क लथालिङ्ग अवस्थामा छ । सहीरुपमा व्यावस्थापन र सञ्चालन गर्न नसकेको भन्दै उपमहानगरपालिकाको चर्को आलोचना भएपछि गत आर्थिक बर्षमा सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने प्रक्रिया थालेको थियो । यो मोडलअनुसार निजी क्षेत्रले लगानी गरेर निश्चिन समयसम्म उसैले सञ्चालन गर्ने र पछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले ०७२ जेठ २३ गते सुचना प्रकाशित गरेर कस्तो मोडालिटीमा बनाउने, के कस्ता संरचना बनाउने भनेर डिजाइन, कति लगानी हुने, कति बर्षसम्म सञ्चालन गर्नेलगायत प्रस्तावमा माग गरेको थियो ।
प्रस्ताव माग वमोजिम राइजिङ क्लबले मात्र सभागृह सञ्चालनको लागि आर्थिक र प्राविधिक प्रस्ताव पेश गरेको थियो । डिजाइनसहितको प्रस्ताव पेश गरेपनि उपमहानगरपालिकाले क्लबलाई प्रस्ताव वमोजिम लगानीको श्रोत खुलाउन आग्रह गरेको थियो । तर, क्लबले तोकिएको म्यादभित्र परियोजनामा लगानीको स्रोत खुलाउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । क्लबले सभागृह परिसरमा चिल्ड्रेन पार्क, रेल, रेष्टुरेष्ट, खेलस्थललगायत संरचना थप्ने प्रस्ताव गरेको थियो । सप्तरंगी पार्कको लागि धरान एडभेञ्चर टुरिजमले पेश गरेको प्रस्तावमा परियोजनाको डिजाइनमा सुधार गर्न सुझाव दिदै उपमहानगरले ती सुझावलाई पनि समावेश गरी थप विस्तृत डिजाइन माग गरेको थियो । तर, धरान एडभेञ्चरले पनि तोकिएको म्यादभित्र डिजाइन पेश नगरेको उपमहानगरले जनाएको छ । ‘हामीले प्राविधिक प्रस्ताव अध्ययनको क्रममा थप स्पष्टताको लागि आवश्यक कागजात माग्यौं, उहाँहरुले दिनु भएन । त्यसैले प्रक्रिया अन्त्य गरेर सिलबन्दीरुपमा नै आर्थिक प्रस्ताव फिर्ता गर्ने निर्णय भयो’–निजी साझेदारी कार्यक्रमका सदस्य सचिव खतिवडाले भने ।
शहरी विकास तथा भवन निर्माण विभागले बनाएर धरान सभागृह ०६० सालतिर तत्कालीन धरान नगरपालिकालाई हस्तान्तरण गरेको थियो । करिब साढे ४ करोड लागतमा बनेको सभागृह त्यति बेला नै बेहाल थियो । शुरुमा जिम्मा लिन नमान्दा विभागले जिविसलाई जिम्मा लगाउने चेतावनी दिएपछि मात्र नगरपालिकाले लिएको हो । त्यसबेला सभागृहमा साउण्ड सिस्टम र कुर्सीसमेत थिएन । गत बर्ष बाहिर शहरी विकासले चिटिक्क बनाए पनि सभागृहको भौतिक संरचना भने अझै बेहाल छ । योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सभागृह पुर्ननिर्माण नगरी हुन्न । यसको लागि मात्र एक करोड बढी बजेट आवश्यक पर्छ । यस्तै, सर्दु खोलाको धार परिवर्तन भएपछि खाली(बगर) ६४ बिघा जग्गालाई सरकारले निर्णय गरेर नगरपालिकाको नाममा दिएको थियो । अतिक्रमण र विभिन्न संस्थालाई दिएपछि बचेको ९ बिघा क्षेत्रलाई पर्यटकीयस्थल बनाउने अवधारणाअनुरुप नगरपालिकाले करोडौं लागनी गरेको छ । शहरी विकासले गोलघर, पिकनिक स्पट बनाएको छ । तर, पार्क पर्यटकविहिन छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे