पुर्वलाहुरेको घरजग्गा ठगी,४९ लाख बैना घरजग्गा नामसारी गरी फरार

पीडित बीरबहादुर थापा आफ्नी श्रीमति र छोराको साथमा
धरान । धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे । ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए । जीवनभरको कमाईले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए । विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन् ।
खासमा गत माघमा उनले एक करोड १० लाख रुपैया मुल्य तोकेर उक्त घर बिक्री गरेका थिए । तर, उनी त्यतिबेला घरजग्गा ठगी गर्ने गिरोहको जालमा फसेका थिएछन् । यो कुरा थाह पाउदासम्म धेरै ढिलो भइसकेको थियो । मात्र ४९ लाख वैना रकम दिएर घरजग्गा नामसारी गरेकै भोलीपल्ट काठमाण्डौं घर बताउने खरीदकर्ता प्रदिप कुमार गौतम एकाएक गायब भए । त्यसपछि मोवाइलमा सम्पर्क हुदा ‘आएर पैसा दिउला’ भन्दै आश्वासन दिए पनि गौतम अहिलेसम्म भेट्न आएका छैनन् । संखुवासभा जिल्लाबाट नागरिकता निकालेका गौतम खास कहाँ बस्छन् भन्ने पनि अन्यौल छ । थापासँग घरजग्गा खरीद गर्दा ठेगाना धरान १५ लेखाएका छन् । अहिले पीडित थापालाई आफ्नो भन्दा पनि ४ जना छोराछोरीको भविष्यले निक्कै सताईरहेको छ । ‘जीवनभर नोकरी गरेर जे जति कमाई गरे, त्यसले यही घरजग्गा जोडेको थिएँ’–चिन्तित हुदै पीडित थापाले भने–‘चिनजान नभएको मान्छेलाई घर बिक्री गर्ने हुदा घर न घाटको भइयो, गाँस र बाँसकै पो विचल्ली बनायो ।’
                                  पीडित पुर्वगोर्खा लाहुरे बीरबहादुर थापाको धरान १५ दशरथ पथस्थित पक्की घर ।
हुन त उनको परिवार त्यही दशरथ पथको घरमा बसिरहेको छ । तर, कानुनीरुपमा त्यो उनीहरुको घर होइन । परिवारजनले बैना पैसा फिर्ता गराएर पुनः घरजग्गा आफ्नो बनाउन सल्लाह दिइरहेका छन् । बीरबहादुर पनि त्यही गर्न चाहन्छन् । तर, गौतम भने सम्पर्कमा आउन चाहदैन । पीडित परिवारका अनुसार गौतमलाई उनीहरुसम्म इलाम घर बताउने भीमप्रसाद खनालले ग्राहक बनाएर ल्याएका थिए । गौतम र खनालले थापा परिवार भन्दा अघि पनि थुप्रैलाई फसाएको थप प्रमाणहरु पनि फेला परेपछि नियोजितरुपमा आफुहरु ठगिएको थापाकी श्रीमति धनमायाले बताइन् । उनका अनुसार खनाल र उनी श्रीमतिले करिब एक बर्षसम्म निरन्तर घरमा आएर फकाउने गर्थे । लामो प्रयास गरेपछि थापा परिवारलाई उनीहरुले घरजग्गा बिक्री गर्ने मुडमा पु¥याए । ‘प्रदिप गौतम राम्रो मान्छे हो, व्यापारी हो । पैसा दिन्छ भन्थे । सधै जसो आएर कुराकानी गर्ने भएकोले नजिकियौं’–धनमायाले भनिन्–‘प्रदिपको नाममा घर गएपछि उनीहरु आउनै छोडे । नामसारी गराउदा मलाई पनि सही गर्न लगायो, पछि अंशमुद्दा नलगाओस् भनेर रहेछ ।’
घरजग्गा ठगी गर्ने प्रदिप गौतम ।
साविक बाँझगरा वडा नं १ (क) कित्ता नं २५४२ को १० धुर र कित्ता नं २५४४ को १० धुरमा बनेको घर १ करोड १० लाखमा किनबेच गर्ने तय भएको थियो । त्यसमध्ये ४९ लाख बैना दिएर बाँकी रकम त्यही घरजग्गालाई बैकमा राखेर ऋण स्वीकृत भएपछि दिने भनि गौतमसँग ०७२ माघ २० गते भएको लिखित कागज थापासँग सुरक्षित छ । उक्त कागजमा ‘बैकबाट ऋण स्वीकृत नभए वा पैसा दिन नसकेमा गौतमले पुनः घरजग्गा थापालाई नामसारी गरिदिने’ उल्लेख छ । भीमप्रसाद खनालले साक्षीकोरुपमा सही गरेका छन् । यो कागज भएकै दिन थापाले गौतमलाई घरजग्गा नामसारी गरिदिएका थिए । त्यतिबेलासम्म घरजग्गा धितो राखेर बैंकबाट ऋण दिलाउन थापाले पनि गौतमलाई सघाएका थिए । तर, रजिष्टे्रशन पास भएको भोलीपल्ट(माघ २१) गते गौतम सुटुक्क काठमाण्डौं गएर पुल्चोकस्थित नबिल बैंकको शाखाबाट ७५ लाख रुपैया झिकेको करिब एक महिना पछि मात्र थापा परिवारले थाह पाए । ‘मलाई पनि थाह नदिइ नगरपालिकाबाट घर सम्पन्नको कागज झिकेर लगेछ । मलाई ४९ लाख मात्र दिएको छ, बाँकी पैसा दिएन । उसलाई त सिधै २६ लाख नाफा भयो’–थापाले भने ।
थापा परिवार भन्दा अघि गौतमले इनरुवाका प्रितम अटललाई पनि ठगी गरेको खुलेको छ । अटललाई ६० लाखको बाउन्स चेक दिएपछि उनले गौतमविरुद्ध मुद्दा दायर गरेका थिए । पछि, गौतमले थापा परिवारको घरजग्गा खरीद गरेको थाह पाएपछि अटलले आफ्नो पैसा असुलउपर गराउनुपर्ने भन्दै जिल्ला अदालतमा जग्गा रोक्का माग गर्दै मुद्दा दायर गरेपछि अदालतबाट पनि कित्ता नं २५४२ र कित्ता नं २५४४ रोक्का छ । अदालतबाट रोक्का हुनअघि ऋण लिदा नबिल बैंकबाटै पनि सो जग्गाहरु रोक्का छ । पीडित थापाले असार ३१ गते इलाका प्रहरी कार्यालय धरानमा गौतम र खनालविरुद्ध जाहेरी दिदै आश्वयक कानुनी कारबाहीको माग गरेका छन् । तर, प्रहरीले लेनदेन हेर्न नमिल्ने भन्दै सम्बन्धीत मान्छे झिकाइदिने भने पनि प्रदिप गौतम सम्पर्कमै आएका छैनन् ।
आरोपित गौतमसँग मोवाइलमा सम्पर्क गर्ने प्रयास गरेपनि फोन लागेन । उनका सहयोगी भीमप्रसाद खनालले गौतमसँग आफ्नो पनि राम्रो चिनजान नभएको दाबी गरे । थापा परिवार ठगिएको स्वीकार गरेपनि त्यसमा आफ्नो संलग्नता नभएको जिकिर गरे । ‘मेरो पनि एक बर्षअघि मात्र घरजग्गा किनबेचकै सिलसिलमा चिनजान भएको हो, धेरै थाह छैन’–उनले भने–‘वीरबहादुर थापासँग कागजी समझदारी भएको हो, तर पछि के भयो थाह छैन । प्रदिप गौतमको अरु पनि थुप्रै घटना रहेछ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे