अमरहाटमा करोडको भवन बन्दै

धरान । स्थानीयबासीको करोड बढी लगानीमा धरान १३ स्थित अमरहाटमा करोड बढीको अमरसेवा समाज बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भइरहेको छ । अमर सेवा समाजको पहलमा निर्माणाधिन भवनभित्र अन्र्तराष्ट्रिय मापदण्डको ४ वटा ब्याडमिन्टन कोर्ट सुविधा हुनेछ ।
यति धेरै ब्याडमिन्टन कोर्ट सुविधा भएको यो पुर्वकै पहिलो भवन हो । ब्याडमिन्टनसँगै बास्टेटवल, भलिवल पनि खेल्ने सुविधा पनि हुनेछ । आर्थिक अभावकै बीचमा पनि निर्माण कार्य धमाधम भइरहेकोले स्थानीयबासी निक्कै उत्साहित छन् । पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर निर्माण कार्य अघि बढीरहेको गणेशबहादुर खड्काले बताए । ‘सातौं खेलकुदलाई लक्षित गरेका छौं, आर्थिक समस्या भए पनि ७५ प्रतिशत काम सकिएको छ’–उनले भने–‘राज्यको पनि केही लगानी छ, तर सबै जनताकै लगानी हो ।’
सातांै राष्ट्रिय खेलकुदअन्र्तगत ब्याडमिन्टन खेलको लागि राष्ट्रिय खेलकुद परिषदको टोलीले भवन अवलोकन गरेको थियो । सातांै खेलकुदअघि भवन सम्पन्न भए ब्याडमिन्टन यही हुनेछ । ब्याडमिन्टन कोर्टको अन्र्तराष्टिय मापदण्डमा उचाई ३० फुट हो । यहाँ भने त्यो भन्दा बढी ३५ फुटको छ । महिला र पुरुषको छुट्टै चेम्जिङ रुम, ट्वाइलेट, कार्यालय र कार्यक्रम गर्न सभाहलको सुविधा पनि छदैछ । भवन निर्माणमा कुल एक करोड ८ लाख खर्च हुने लगात स्टिमेट छ । हालसम्म ७८ लाख संकलन भएर भवन निर्माणमा खर्च भइसकेको छ । त्यसमध्ये दुई आर्थिक बर्षमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट साढे १३ लाख मात्र भवनमा आएको छ भने राखेपमार्फत २० लाख । बाकी सबै अमर सेवा समाजका सदस्य स्थानीयबासीहरुको लगानी हो । ‘समाजका हामी सबै सदस्यहरुबाट लगानी भएको हो, कोही सदस्य विदेशतिर छन्, उहाँहरुबाट पनि सहयोग पाएका छौं’–निर्माण समितिका सह संयोजक भुवन राईले भने–‘अहिलेसम्म बजारतिर सहयोग माग्न गएका छैनौं, केही उपाय लागेन भने मात्र सहयोगको लागि पुग्छौं ।’ ब्याडमिन्टनको प्रतियोगिताहरु आयोजना गराउनलाई राखेपले भुईमा कार्पेट वा रबर पेन्ट गराउन स्थानीयबासीले सहयोगको अपेक्षा गरेका छन् ।
स्थानीयबासी र संस्थालाई कुनै ठुलो कार्यक्रम आयोजना गर्नुपर्दा समस्या भोग्नुपरेपछि बहुउद्देश्यीय भवनको अवधारणा बनाएर स्थानीयबासीहरु निर्माण अघि सरेका हुन् । इन्डोर खेलहरुसँगै भवनलाई सभा सेमीनार तथा सांगीतिक कार्यक्रम आयोजना गर्न पनि प्रयोग हुनेछ । स्थानीयबासीले ०४१ सालमा अमर सेवा समाज स्थापना गरेका थिए भने ०५२ सालमा दर्ता गरिएको थियो । नगरपालिकाले उपलब्ध गराएको ४ कट्ठा जमिनमा हाल ७ वटा कोठा भएको २ तले भवन छ । जहाँ संस्थाअन्र्तगतको युवा प्रतिभा समुह, आमा समुह र अमर वचत तथा ऋण सहकारी संस्थाको कार्यालय सञ्चालनमा छ । संस्थाकै भवनमा सुरक्षाको लागि प्रहरीलाई पनि राखिएको छ । हालसम्म अढाई सय समाजका सदस्य छन् । स्थानीय राम पङ्वाको स्मृतिमा उनकी श्रीमति सरिता सुब्बाले ५ के.भी.को एक थान जेनेरेटर संस्थालाई दिइसकेकी छिन् । हङकङमा बसोबास गरिरहेका संस्थाका सदस्यहरुले ए.सि.जडान गरिदिने प्रतिवद्धता जनाएको समाजको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे