प्याराग्लाइडिङ खेलाडी व्यक्तिगत खर्चमा प्रि वल्र्डकपमा सहभागी

धरान । विगत पाँच बर्षदेखि प्याराग्लाइडिङमा रमाइरहेका देशवीर जिमीसँग यतिबेला नेपालको प्रतिनिधित्व गर्दै प्याराग्लाइडिङ प्रि वल्र्डकपमा सहभागी हुन पाउदाको खुशी छ, सँगै निराशा पनि । नेपाललाई पनि साहसिक खेलको गन्तव्यकोरुपमा चिनाउने एकातिर मौका छ भने अर्कोतिर राज्यबाट सहयोग नपाउदा आर्थिक अभावले प्रि वल्र्डकपमा सहभागी हुन नै चुनौती बनेको छ ।
 फेडरेशन एरोनटिक इन्टरनेश्नल(एफएआई)को आयोजनामा यही अगष्ट १३ देखि २० सम्म इन्डोनेसियाको सागीमा प्याराग्लाइडिङ प्रि वल्र्डकप २०१६ आयोजना हुदैछ । एफएआई प्याराग्लाइडिङको सर्वोच्च निकाय हो । यो प्रि वल्र्डकपमा देशवीरसहित ८ जना नेपाली पाइलटहरुले प्रतिस्पर्धाको मौका पाएका छन् । तर, राज्यबाट सहयोग नपाउदा प्रि वल्र्डकपमा सहभागी हुन व्यक्तिगतरुपमा खर्च जुटाउनु पर्ने उनीहरुलाई बाध्यता छ । ‘नेपालीले सहभागीता पाउनु नै महत्वपुर्ण हो । त्यहाँ विश्वभरीको पाइलटहरु आउछन् । नेपालमा पनि विश्वस्तरको प्रतिस्पर्धा गर्नसक्ने पाइलट छन् भन्ने सन्देश जान्छ’–गृहनगर धरानमा भेटिएका देशविरले भने–‘हामी राष्ट्रको झण्डा बोकेर नै उड्छौं, राष्ट्रकै प्रतिनिधित्व गछौं तर एक रुपैया पनि हामीलाई लगानी हुदैन ।’
विभिन्न खेलको अन्र्तराष्ट्रिय सहभागीताको लागि राज्यले प्रशिक्षण र खर्चको व्यावस्थान गरिदिन्छ । तर, प्याराग्लाइडिङलाई राज्यले न पुर्वाधार विकासमा लगानी गरेको छ, न प्रशिक्षण वा अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सहयोग । ‘जे जति हुन्छ, खेलाडी आफैले व्यक्तिगत खर्च गरेर गइरहेका छन् । आफन्त, साथीभाईबाट सहयोग जुटाउनु परिरहेको छ’–देशवीरले पीडा पोखे । उनका अनुसार प्रतियोगितामा सहभागी हुदा उड्ने सामग्रीसहित कम्तीमा ५ लाख जति खर्च हुन्छ । यो खर्च न राज्यबाट सहयोग हुन्छ, न प्याराग्लाइडिङका संघसंस्थाबाट । उनी सहभागीताको लागि खर्च जुटाउन गृहनगर धरान आएका थिए । ‘साथीभाई, आफन्त र खेलसम्बन्धी रुचि भएकाहरुबाट सहयोग पाएर जादैछु, त्यसरी सहयोग नपाउने हो भने त सम्भावनै छैन’–उनले भने ।
एफएआई २ क्याटोगरीअन्र्तगत देशवीर यसपटक प्रि वल्र्डकपमा सहभागी हुने पुर्वका एक मात्र पाइलट हुन् । उनी यसअघि सन् २०१५ मा नेपाल(पोखरा)मा आयोजना भएको प्रि वल्र्डकपमा पनि भाग लिएका थिए । त्यसअघि सन् २०१४ को नेशनल लिग र यसै बर्षको नेशनल लिगमा सहभागी भएको आधारमा उनी पनि प्रि वल्र्डकपको लागि छानिएका हुन् । देशवीरसँगै २०१६ का नेपाल च्याम्पियन विशाल थापा, २०१५ का च्याम्पियन विमल अधिकारी, २०१४ का च्याम्पियन रविन गुरुङ, नेपालकै पहिलो पाइलट राजेश वमजन, १४ बर्षका कान्छा पाइलट युकेश गुरुङ, सुविन राना मगर र सुसिल गुरुङले पनि इन्डोनेसियाको प्रि वल्र्डकपमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रि वल्र्डकपमा कुल एक सय ६० पाइलटहरु सहभागी हुदैछन् । उनीहरु यही अगष्ट ८ तारिख नेपालबाट उड्ने तयारीमा छन् ।
नेपालमा प्याराग्लाइडिङसँग सम्बन्धित खेल संस्था नभएको होइन । पोखरामा नेपाल हवाई खेल एशोसिएशन(ना) छ भने राष्ट्रिय खेलकुद परिषद आवद्ध नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा) छ । तर, राज्यस्तरमा भने खेलाडीहरुको पहुँच पुग्न नसक्दा सहयोग पाउन नसकेको धरानस्थित बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका अध्यक्ष लेखमणी जिमी बताउछन् । ‘खेलाडीको पहँुच पुगेन, राष्ट्रले पनि हाम्रो खेलाडी हो । राष्ट्रको ध्वजा लिएर उड्छन भनेर सोचिदिदैन’–उनी भन्छन्–‘खेल संस्थाहरुमा राजनीति हावी छ, खेल संस्था खेललाई बुझ्दै नबुझ्नेहरुको कब्जामा भएकोले खेल र खेलाडीलाई अघि बढ्दै दिदैन ।’
नेपालमा व्यावसायिकसँगै साहसिक खेलकोरुपमा पनि प्याराग्लाइडिङको विकास हुदैछ । अन्र्तराष्ट्रिय ओलम्पिक कमिटिले प्याराग्लाइडिङलाई पनि खेलकोरुपमा मान्यता दिदै सन् २०२० को टोकियो ओलम्पिकमा समावेश गर्दैछ । तथर्स, प्रि वल्र्डकप अनुभव लिने र सिक्ने अवसर पनि हुने खेलाडीहरुको भनाई छ । करिब अढाई सयको संख्यामा व्यावसायिक पाइलटहरु छन् । तर, खेलाडीकोरुपमा भने ५३ को संख्यामा मात्र छन् । नेपालले करिब ५ बर्षअघि भारतमा आयोजना भएको प्रि वल्र्डकपबाट प्याराग्लाइडिङको अन्तराष्ट्रिय स्पर्धामा सहभागीता जनाउन थालेको हो भने हालसम्म वल्र्डकपमा तीन जनाले मात्र भाग लिएका छन् । पाइलट रविन गुरुङले मेसोडोनिया, विमल अधिकारीले कोलम्बिया र विशाल थापाले भारतमा भएको वल्र्डकपमा भाग लिएका थिए । नेपालका सानुबाबु सुनुवारले सर्वोच्च शिखर सगरमाथाबाट उडान गरेर विश्व किर्तिमान कायम गरिसकेका छन् । विश्वको अति जोखिमपुर्ण साहसिक प्रतियोगिता रेडबुल एक्स अल्पस्मा भाग लिने उनी दक्षिण एसियाका एक मात्र प्याराग्लाइडिङ खेलाडी हुन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे