बराहक्षेत्र नगाभिए धरानलाई उपमहानगर रहन समस्या

धरान । स्थानीय निकाय पुर्नसंरचनाको गृहकार्य भइरहदा दुई बर्षअघि उपमहानगरपालिका बनेको धरानलाई उपमहानगर कायम रहन जनसंख्या र आय अपुग हुने देखिएको छ । भौतिक पुर्वाधार तथा सेवासुविधाको हिसाबले उपमहानगर बन्ने सबै मापदण्ड पुरा भएपनि पुर्नसंरचना कार्यविधि अनुसार धरानको जनसंख्या र बार्षिक आय भने पुग्दैन । यसैको आधारमा केही दिनयता धरान उपमहानगरबाट पुनः नगरपालिकामा सिमित हुने भन्ने चर्चा चुलिएको छ ।
धरानलाई उपमहानगरपालिका रहीरहन बराहक्षेत्र गाविस वा अन्य कुनै गाभिनु अनिवार्य छ । सरकारले स्थानीय निकायमा गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत्त क्षेत्रको संंख्या तथा सिमाना निर्धाण गर्न आयोग बनाएको छ । आयोगको कार्य सर्त तथा कार्य विधिमा उप महानगरपालिका हुनलाई जनसंख्या एक लाख ५० हजार हुनुपर्ने र एउटा वडामा ८ हजार जनसंख्या हुनुपर्ने उल्लेख छ । उपमहानगरमा १९ देखि २७ वटासम्म वडा रहनसक्ने मापदण्ड छ । शुरुमा छिमेकी गाविस पाँचकन्या र पछि विष्णुपादुका गाभिएर उपमहानगरपालिका बनेको धरानको जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार एक लाख ३७ हजार ७ सय ५ मात्र छ । यस्तै, उपमहानगरपालिकाको बार्षिक आम्दानी १० करोड हुनुपर्छ । तर धरान उपमहानगरपालिकाको आर्थिक बर्ष ०७२÷०७३ को आम्दानी मात्र ७ करोड ४७ लाख ६ हजार रहेको छ ।
‘भौतिक पुर्वाधार र सेवाको हिसाबले धरान उपमहानगर रहन समस्या छैन, तर जनसंख्या र आम्दानी अपुग छ’–धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘हालको अवस्थामा त एउटा वडामा ८ हजार हुनुपर्ने प्रावधानले झनै समस्या हुन्छ ।’ उनका अनुसार छिमेकी गाविस बराहक्षेत्र धरानमा समायोजन भए मात्र उपमहानगर कायम रहन जनसंख्या पुग्छ । यसका साथै अधिकतर वडामा जनसंख्या ८ हजार पु¥याउन दुई वा तीन वटा वडालाई समायोजन गर्नुपर्ने हुन्छ । यसअघि बराहक्षेत्रलाई धरानमा समायोजन गर्ने प्रयास भएपनि राजनैतिक दलबीचको असहमति र विवादले विफल भएको थियो । धरान उपमहानगरपालिका र यहाँका राजनैतिक दल सकरात्मक भएपनि बराहक्षेत्रका स्थानीय नेताहरुबीच समायोजनमा सहमति हुन सकेको थिएन ।
आयोगको कार्य सर्त तथा कार्यविधि अनुसार हाल धरान उपमहानगरको २७ वडामध्ये वडा नम्बर ८, ११, १३, १५, १६ र १७ मा मात्र जनसंख्या पर्याप्त छ । जनगणना ०६८ अनुसार वडा ८ मा ११ हजार ६ सय ७९, वडा ११ मा ११ हजार ७ सय ३, वडा १५ मा १९ हजार ८ सय ७९, वडा १६ मा ११ हजार १ सय ९९ र वडा १७ मा १० हजार ५४ जनसंख्या छ । धरानमा ०७१ मंसिर १६ गते गाभिएर उपमहानगरपालिका बनेको साविक विष्णुपादुका गाविसको जनसंख्या एउटा वडा बनाउन पनि पर्याप्त छैन । हाल वडा २४, २५, २६ र २७ मा विभाजन गरिएको विष्णुपादुकामा ०६८ सालको जनगणना अनुसार हाल ४ हजार ६ सय २३ मात्र छ । साविक विष्णुपादुकालाई एउटा वडा मात्र बनाउदा पनि जनसंख्या पुग्दैन । वडालाई ८ हजार जनसंख्या पु¥याउन समायोजन गर्नुपर्दा धेरै भुगोल र प्रशासनिक चुनौतीको समाना गर्नुपर्ने हुन्छ ।
यसैसाता धरान उपमहानगरपालिकाले आयोगको कार्यविधिबारे धरानका राजनैतिक दलहरुबीच छलफल गरेको थियो । बराहक्षेत्रलाई धरानमा समायोजन गर्न संयुक्त बैठक बसाएर सहज बनाउने लक्ष्य राखेर दलहरुबीच बैठक राखेपनि छलफलमा निष्कर्ष आएन । कार्यविधिको विरोध भइरहेको र सरकारमा भएका दलका स्थानीय नेताले कार्यविधि फेरिन्छ भनेपछि बराहक्षेत्रसँग संयुक्त बैठकको मिति नतोकिएको प्रशासकीय अधिकृत खतिवडाले बताए । एमाले उपाध्यक्ष नारायण सुवेदीले एउटा वडामा ८ हजार जनसंख्या हुनुपर्ने मापदण्डले समायोजन गर्दा १९ वटा वडा नपुग्ने हो कि भन्ने समस्या हुने बताए । ‘समग्रमा जनसंख्या त अपुग नै छ, वडामा ८ हजार जनसंख्या पु¥याउदा अन्तमा वडाको संख्या(१९) नै पुग्दैन कि भन्ने समस्या छ’–उनले भने । मापदण्डअनुसार धरानको जनसंख्या पु¥याउन बराहक्षेत्रसँगै विकल्पमा भरौल गाविसलाई पनि मर्ज गर्नेबारे पार्टीले गृहकार्य गरिरहेको उनले बताए ।
.............................................................................

इटहरीमा पनि जनसंख्या समस्या

धरानमा जस्तै इटहरी उपमहानगरपालिकामा पनि मापदण्डअनुसार जनसंख्या पर्याप्त छैन । त्यसैले इटहरीमा मधेली गाविस समायोजन गर्ने प्रस्ताव गरिएको छ । तर, इटहरीले यसअघि समायोजन भएको साविक गाविस हाँसपोशा, खानार, एकम्बा र पकलीमा छलफल गर्दा नयाँ गाविस समायोजन गर्ने प्रस्ताव अस्वीकार भएको छ । ‘इटहरीमा मधेलीलाई समाहित गर्ने गृहकार्य भइरहदा ती ४ गाविसमा गएर छलफल ग¥यौं । त्यहाँबाट मर्ज नगर्ने सुझाव आयो’–वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले भने–‘अहिलेको जनसंख्या ०६८ सालको जनगणनाको हो, त्यसयता ५ बर्षमा उपमहानगरपालिकालाई आवश्यक जनसंख्या पुगिसकेकोले नयाँ गाविस नथप्ने म्याण्डेड आएको छ, यसबारे नगरस्तरीय राजनैतिक दलसँग बैठक बस्छौं ।’
दाहालका अनुसार ०६८ को जनगणना अनुसार इटहरीको जनसंख्या एक लाख ४० हजार छ । नेपालको बार्षिक जनसंख्या वृद्धिदर २.२ प्रतिशत भएकोले ०६८ यता ५ बर्षमा इटहरीको जनसंख्या डेढ लाख बढी नै पुगिसकेको उनले दाबी गरे । इटहरीमा हाल २६ वटा वडा छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे