धरानमै प्रहरीको विधि विज्ञान प्रयोगशाला

धरान । अपराध अनुसन्धान तथा न्याय सम्पादनलाई छिटोछरितो बनाउन सहयोग पु¥याउने उद्देश्यले नेपाल प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्षेत्रीयस्तरको विधि विज्ञान प्रयोगशाला(फरेन्सीक ल्याब) स्थापना गर्ने भएको छ ।
यो प्रयोगशाला स्थापना गर्न बुधबार नेपाल प्रहरी र प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त आर्यालको उपस्थितिमा प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दास र प्रहरीका अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माबीच समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । साक्षीकारुपमा प्रतिष्ठान फेरेन्सीक विभाग प्रमुख डा.बि.एन.यादवले पनि हस्ताक्षर गरेका छन् । प्रतिष्ठानले भौतिक संरचना एवं पुर्वाधार उपलब्ध गराएको हुनाले प्रयोगशाला चाडै नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ । क्षेत्रीयस्तरमा स्थापना हुन लागेको यो पहिलो प्रयोगशाला हो । यहाँपछि नेपालगञ्जमा पनि प्रयोगशाला विस्तार गर्ने प्रहरीको भनाई छ ।
हालसम्म प्रहरीको विधिविज्ञान प्रयोगशाला केन्द्रीयस्तरमा मात्र रहेदा देशभरबाट अपराध अनुसन्धानको क्रममा सबुतप्रमाणहरु परीक्षण गर्न काठमाण्डौं पठाउनुपथ्र्यो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुन्थ्यो । रिपोर्ट ढिलो आउदा अनुसन्धानका साथै अदालतबाट न्याय सम्पादनमा पनि ढिलाई हुदा पीडितले चाडै न्याय पाउदैनथे । क्षेत्रीयस्तरमा नै प्रयोगशाला स्थापना हुदा प्रहरीले अनुसन्धानको क्रममा संकलन गरेको सबुत प्रमाणको चाडै परीक्षण भएर रिपोर्ट आउने र न्याय सम्पादन पनि छिटो हुने अपराध अनुसन्धान विभागका प्रमुख एआइजी शर्माले बताए । ‘देशैभरिबाट आएको सबुत प्रमाणहरु काठमाण्डौंमा थुप्रिएर बसेको छ, क्षेत्रीयस्तरमा नै विस्तार गर्दा चाडै रिपोर्ट आएर अनुसन्धान टुंगामो पुग्छ र न्याय सम्पादन पनि छिटो हुन्छ’–शर्माले भने ।
सम्झौता पत्र अनुसार प्रहरीले पहिलो चरणमा प्रयोगशालामा टेक्सिोकोलोजी युनिट स्थापना गरेर फौजदारी अपराधसँग सम्बन्धीत मुद्दाहरुमा भिसेरा परीक्षण गरेर छिटो प्रतिवेदन उपलब्ध गराउनेछ । श्रोत र साधनको उपलब्धता अनुसार क्यामेष्ट्री, नार्कोटिक्स,ब्यालेस्टिक, बायोलोजी, सेरोलोजी लगायत युनिट स्थापना गरी प्रयोगशालालाई प्रहरीले विस्तार गर्नेछ । प्रयोगशालामा हुने खर्च प्रहरीले व्यहोर्ने र प्रयोगशालामा रहेका प्रहरी कर्मचारीले आवश्यकता अनुसार प्रतिष्ठानको पठनपाठन क्रियाकलापमा सहयोग गर्ने उल्लेख छ । यस्तै, प्रतिष्ठानले प्रयोगशाला सञ्चालनको लागि कोठा, विजुली र पानी उपलब्ध गराउनुपर्नेछ भने सो प्रयोगशालालाई रिसर्च र एकेडेमिकको लागि प्रयोग गर्न सक्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौता पत्रमा उल्लेखअनुसारको पुर्वाधार तथा युनिट स्थापना भएपछि भिसेरा जाँच, लागुऔषध, नक्कली नोट, गोली पड्काएको, लिखत परीक्षणलगायत अनुसन्धानलाई पुष्टि गर्ने सम्पुर्ण सबुत प्रमाणहरुको परीक्षण धरानमा नै हुन्छ । पुर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार पुर्वबाट महिनामा १ सय ५० वटा मुद्दाका सबुतप्रमाणहरु काठमाण्डौं पठाउनु पर्छ भने बार्षिक एक हजार ८ सय बढीको पठाउनु पथ्र्यो । प्रतिष्ठानका फरेन्सिक विभाग प्रमुख डा.बि.एन. यादवले हालसम्म भिसेरा परीक्षण गर्न काठमाण्डांै पठाउनु पर्दा रिपोर्ट आउन ६ महिनासम्म लाग्छ । ‘यो प्रयोगशाला पुर्वकै लागि महत्वपुर्ण हो । हाम्रा विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धान गर्न पनि फाइदा पुग्छ’–उनले भने ।
प्रहरी महानिरीक्षक अर्यालले वयानमुखी अनुसन्धान गर्ने परम्परागत शैली हटाएर प्रहरीले वैज्ञानिक, वस्तुनिष्ट र प्रमाणमुखी बनाउनु आवश्यकता र बाध्यता भएको बताए । समाजको चेतना र अपेक्षा बढ्दै जादा प्रहरीको कार्यशैली पनि परिमार्जन गर्दै अघि बढ्न आवश्यक भएको उनको भनाई थियो । ‘अपराध अनुसन्धानलाई विश्वस्नीय बनाउन पनि प्रयोगशाला आवश्यक छ’–उनले भने । उनले प्रहरी अनुसन्धान वैज्ञानिक बनाउने क्रममा २०१७ सालबाट फिङ्गर टेष्टबाट शुरु गरेर डिएनए, भ्वाइस स्पेक्टर एलाइजर र डिजिटल ल्याबमा पुगेको बताए । उपकुलपति डा.दासले प्रहरीसँग सहकार्य गरेर दक्ष जनशक्ति उत्पादनमा पनि प्रतिष्ठानले पहल गर्ने बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे