गाँजा कारोबारमा महिला, धरानको मंगलबारेबाट सप्लाई
धरान । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडालाई शनिबार बिहान एउटा खबर आयो–‘धनकुटाको छिन्ताङबाट आउने गाडीमा गाजा आउदैछ ।’ उनले तत्काल सई रवि लिम्बुको नेतृत्वमा ७ जना प्रहरी टोली साविक विष्णुपादुका गाविस(हाल धरान २६, भञ्ज्याङ)मा पठाए ।डिएसपी खतिवडालाई लागेको थियो, गाँजा २÷४ केजी मात्र होला । तर, उनको अनुमान विपरीत ३९ किलोग्राम गाँजा फेला प¥यो । अझ उनी त्यतिबेला अचम्मित भए, जब यति ठुलो परिणाम गाजासहित ५ महिला समातिएको खबर पाए । ‘गाजा आउदैछ भन्ने खबर आयो, यति परिमाण र यतिका संख्यामा महिला संलग्न होलान् भन्ने अनुमानै थिएन । म त २, ४ केजी आएको होला भन्ने सोचेको थिए’–डिएसपी खतिवडाले नागरिकसँग भने–‘प्रायजसोः महिलाले यस्तो काम गर्दैन भन्ने हाम्रो सोचाई हुन्छ, तर यो घटनाले महिला पनि पेशेवररुपमा लागुपदार्थ ओसारपसारमा संलग्न छन् भन्ने देखियो ।’
सई लिम्बु र विष्णुपादुकास्थित प्रहरी चौकीको टोलीले भञ्याङमा गाडी सर्च गर्ने क्रममा भोजपुरको हसन्तपुर गाविस २ का दुई महिला र धनकुटाको छिन्ताङ ८ का ३ महिला गाँजासहित पक्राउ परे । पक्राउ पर्नेमा एक जना १७ बर्षीय किसोरी पनि छिन् । प्रहरीले जनाएअनुसार भोजपुरकी ३५ बर्षीय रामकुमारी राई र ४० बर्षीय दिलकुमारी राईले गाँजा खरीद गरेर धनकुटाको छिन्ताङ ल्याएका हुन् । छिन्ताङका ५२ बर्षीय श्यामकुमारी राई, ४५ बर्षीय आशा राई र १७ सुनिता राई पनि उनीहरुसँग थपिए । छिन्ताङबाट आएको गाडीबाट उनीहरु विष्णुपादुकाको भञ्ज्याङमा ओर्लिए । त्यहाँबाट धरान ११ मंगलबारे चोकसम्म आउने अर्को पिकअप गाडीमा सामान लोड गर्दै गर्दा पाँचै जना समातिए ।
पक्राउ परेका महिलाहरुले गाजा ओसारपसार गर्न अपनाएको शैली हेर्दा उनीहरु पेशेवर कारोबारी भएको प्रहरीको अनुमान छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले धरान ११ स्थित एक घरमा गाँजा राखेर बिक्रीवितरण गर्ने गरेको पनि खुलेको छ । तर, गाँजा कहाँसम्म पुग्छ भन्ने अझै खुल्न बाँकी नै छ । ‘दुई जनाले भोजपुरबाट किनेर छिन्ताङ ल्याउने र छिन्ताङकासँग मिलेर धरानको मंगलबारेको एक घरमा राखेर सप्लाई गर्ने गर्छन् भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ’–डिएसपी खतिवडाले भने । उनका अनुसार ३९ केजी गाँजा प्लास्टिकमा एक एक केजीको पोका बनाएर प्याक गरिएको अवस्थामा थियो । त्यसलाई जेब्रा झोलाको सबैभन्दा तल राखिएको थियो । अरुले गाँजाको गन्ध थाह नपाऊन् भनेर त्यसमाथि कागती, खोर्सानीलगायत राखेर छोपिएको थियो । ‘प्रहरीले चेकजाँच गरिहाले गाँजाको भेउ नपाओस् भनेर खोर्सानी, कागतीले झोलाभित्र छोपेर राखेको रहेछ, त्यसो गर्दा गाँजाको गन्ध पनि अरुले थाह नपाउने’–डिएसपी खतिवडाले भने ।
पक्राउ परेका महिलाहरुलाई आइतबार जिल्ला अदालतमा म्याद थप गरेर प्रहरीले अनुसन्धान शुरु गर्ने जनाएको छ । प्रारम्भिक वयानको क्रममा खुलेको धरान ११ मंगलबारेस्थित घरलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याउनेछ । उक्त घरबाट महिलाहरुले गाँजा सप्लाई गर्ने गरेको वयान दिएका दिए । धनकुटाको छिन्ताङबाट विष्णुपादुका, बराहक्षेत्र(चतरा) हुदै गाँजा ओसारपसार हुने यसअघि नै खुलेपनि ओसारपसार र कारोबारमा महिला संलग्नता भेटिएको यो पहिलो पटक हो । प्रहरीले गाँजा धमाधम पक्राउ गर्न थालेपछि कारोबारीहरुले महिलाहरुलाई ओसारपसार तथा कारोबारमा संलग्न गराएको प्रहरी अनुमान छ । महिलामाथि हत्तपत्त शंका नगरिने भएकोले कारोबारीले उपयोग गरेको हुनसक्ने डिएसपी खतिवडाको भनाई छ । धनकुटाको छिन्ताङ क्षेत्रमा ठुलो परिमाणमा गाँजा खेती हुने गरेको छ । करिब ८ महिना अघि कोशी अञ्चल र पुर्व क्षेत्रीय प्रहरीले टोली परिचालन गरेर अवैध गाँजा खेती नष्ट गरेको थियो । गत साउन ११ गते चतरा हुदै ल्याएको २६ केजी गाँजासहित प्रहरीले धरानबाट ६ जना पक्राउ गरेको थियो । त्यतिबेला समातिएका सबै भने पुरुष थिए ।
यसैबीच, आइतबार थप एक जना महिला भञ्ज्याङबाटै गाँजासहित समातिएकी छिन् । धनकुटाको छिन्ताङ छारागाउँकी ३५ बर्षीय लक्ष्मी राई पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालयका अनुसार उनको साथबाट अन्दाजी ३ केजी गाँजा वरामद भएको छ ।

Comments
Post a Comment