मालपोत र नापीको मिलेमतोमा किर्ते गरी जग्गा किनबेच

धरान । फिल्डबुकको कैफियतमा मात्र नाम उल्लेख भएकी मृतक एक महिलाको जग्गालाई मालपोत र नापी कार्यालय धरानको मिलेमतोमा किर्ते हकवाला खडा गरेर नामसारी गरी किनबेच भएको पाइएको छ । नापी कार्यालयको फिल्डबुकको कैफियत महलमा उल्लेख भएअनुसार धरान १ बस्ने ‘खगेन्द्र कुमारी’ नाम भएकी महिलाको साविक धरान ११ ‘ग’ को कित्ता नम्बर ३६ किर्ते हकवालामा नामसारी गरेर किनबेच भएको पाइएको हो । यो कित्तामा ११ कट्टा ५ धुर जग्गा थियो । यो जग्गा धरान १४ विजयपुरस्थित दुई धारे पथमा पर्छ ।
फिल्डबुकमा यो जग्गा खगेन्द्र कुमारीको नम्बरी भएको उल्लेख भएपनि उनको थर भने खुलाइएको छैन । तर, भुमाफिया गिरोह र विचौलियाले विजयपुरका कर्णबहादुर राईलाई हकवाला छोरा बनाएर खगेन्द्र कुमारीको जग्गा नामसारी गरेर किनबेच भएको प्रमाण फेला परेको छ । किर्ते हकवाला खडा गरी नामसारी गराउन नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादव, मालपोत अधिकृत फडिन्द्र भट्टराई, मालपोतका नायब सुुब्बा डिल्लीराम कोइराला र खरदार श्यामप्रसाद ल्होको प्रत्यक्ष संलग्नता भेटिएको छ । भुमाफियाको गिरोह र विचौलियालाई कर्णबहादुरका काइला छोरा अनिल राईले पनि किर्ते काममा सक्रियरुपमा सघाएको पाइएको छ । स्रोतका अनुसार नापी र मालपोतमा कुरा मिलाउन लाखौं रुपैया चलखेल भएको थियो ।
२०२७ चैत १३ गतेको नापी फिल्डबुकको कैफियतमा खगेन्द्र कुमारीको नाम भएपनि उनको मालपोतमा स्रेस्ता कायम(रजिष्ट्रेशन दर्ता) भई जग्गा धानीपुर्जा बनेको थिएन । हकवालाले दाबी गरेपछि नामसारी गर्न स्थानीय निकाय(नगरपालिका)बाट सरजिमिन मुचुल्का र सिफारिश गरेको अनिवार्य हुनुपर्छ । तर, खगेन्द्र कुमारीको कित्ता नं ३६ लाई मालपोतले स्थानीय निकायको सिफारिशविना कर्णबहादुर राईको नाममा नामसारी गरेको देखिन्छ । यसरी नामसारी गर्ने निर्णय हुँदा थर विनाकी खगेन्द्र कुमारी र थर खुलेका कर्णबहादुर राईबीचको नाता सम्बन्ध स्पष्ट खुलाउने कुनै पनि आधार भने नापी र मालपोत दुवै निकायसँग छैन ।
खगेन्द्र कुमारीको बषौंअघि मृत्यु भएको थियो । तर, उनका छोरा भनिएका कर्णबहादुर राईले ०७० चैत १६ गते मात्र ‘राई’ थर थपेर मृत्यु दर्ता गरेका छन् । धरान १४ वडा समिति कार्यालयको अभिलेख अनुसार कर्णबहादुर राईले आमा खगेन्द्र कुमारी राईको मृत्यु २०३७ असार १५ गते भएको उल्लेख गरेका छन् । यस्तै, ०७१ बैशाख ५ गते धरान उपमहानगरपालिकाबाट बुबा रामबहादुर राई र आमा खगेन्द्रकुमारी राईसँग छोराको नाता प्रमाणित गराएका छन् । तर, फिल्डबुकको कैफियतमा नाम उल्लेख भएकी ‘खगेन्द्र कमारी’सँगको नाता खुलेको कुनै प्रमाण भने कर्णबहादुर राईसँग छैन ।
कर्णबहादुरले फिल्डबुकमा भएकी खगेन्द्र कुमारी आफ्नी आमा खगेन्द्र कुमारी राई भएको दाबी गर्दै कित्ता नं ३६ को जग्गा नामसारी गर्न ०७२ मंसिर ६ गते मालपोतमा निवेदन दिएका थिए । मालपोतले मंसिर ८ गते ‘कर्णबहादुरको मागदाबी अनुसारको श्रेस्ता कायम हुन मात्र बाँकी साबिक दर्ता हो वा होइन, सम्पुर्ण विवरण स्थलगतरुपमा फिल्ड निरीक्षण, साँध सधियारहरुको रोहवरमा प्रष्ट विवरण र प्रमाणित नक्सासमेत संलग्न गरी नापीको राय’ पनि मागेर पत्र पठाएको थियो । नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवले स्थलगत सरर्जमिन गराएर हचुवाको भरमा ‘उक्त कित्ताको जग्गा धनी प्रमाणपुर्जा दिइएमा फरक नपर्ने’ भनि प्रतिवेदन दिएको देखिन्छ । मालपोतको पत्र आएकै भोलीपल्टै(मंसिर ९ गते) नापीको सर्वेक्षक यादवले हतार हतारमा स्थलगत सर्जमिन मुचुल्का गरेर त्यसै दिन प्रतिवेदनसमेत तयार गरी मालपोत कार्यालयलाई पठाएको देखिन्छ । यादवले उठाएको सर्जमिनको अन्त्यमा मंसिर ९ गते भनेर हस्ताक्षर गरेका छन् तर पहिलो पेजमा भने अक्षरमा मंसिर आठ गते भनेर फरक रंगको मसीले मिति थपिएको छ । यादवले बुझाएको प्रतिवेदनको आधारमा स्थानीय निकायको सर्जमिन मुचुल्का एवं सिफारशको आवश्यकता महसुस नगरी २०७२ पुष २ गते मालपोतका अधिकृत फडिन्द्र भट्टराई, मुद्दा फाटका नायब सुब्बा डिल्लीराम कोइराला र मोठका खरदर श्यामप्रसाद ल्होको बैठकले कर्णबहादुर राईको नाममा श्रेस्ता कायम(कार्यान्वयन) गर्ने निर्णय गरेका छन् । नापीको फिल्डबुकमा भने २०७३ जेठ १३ गतेमात्र नामसारी कायम भएको उल्लेख गरिएको छ ।
कित्ता नं ३६ कर्णबहादुर राईको नाममा नामसारी भएर आएको करिब तीन सातापछि नै कित्ता फोड भई तीन जनाको नाममा उक्त जग्गा बिक्री भएको देखिन्छ । मालपोतका अनुसार पुष २३ गते कर्णबहादुरले इनरुवा १ का सुरेश पोद्दारलाई १ कट्टा, धरान १५ की सिता योङयालाई ८ कट्टा १० धुर र सीता कार्कीलाई १ कट्टा १५ धुर जमिन बिक्री गरेका थिए । कित्ता नं ४२१ को पोद्दारको जग्गा यथावत छ भने हालसम्म धरान १० का रमेशबाबु श्रेष्ठको नाममा १ कट्टा १५ धुर(कित्ता नं ४२२), अमाहीवेला गाविस ७ सुनसरीकी सरिता ओलीको नाममा ३ कट्टा(कित्ता नं ४२४) र काभ्रेपलाञ्चोक काशीखण्ड नपा १२ की मिनु श्रेष्ठको नाममा ५ कट्टा १० धुर(कित्ता नं ४२५) कायम रहेको देखिन्छ । जालसाझी गरी कर्णबहादुर राईले जग्गा नामसारी गरेको भनि सुनसरी जिल्ला अदालतमा मुद्दा परेपछि अदालतको आदेशमा हाल यी सबै जग्गा रोक्का छ ।
खगेन्द्रकुमारी राई र कर्णबहादुर राईबीच आमा छोराको नाता प्रमाणित गरेपनि त्यो नाता प्रमाण फिल्डबुकको कैफियत महलमा थर नखुलेकी खगेन्द्र कुमारीसँग भने नभएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकत गणेशप्रसाद खतिवडाले बताए । ‘फिल्डबुकमा भएकी खगेन्द्र कुमारीको नाता प्रमाणित भएकै होइन, कर्णबहादुर राईकी आमा खगेन्द्र कुमारी राईसँगको नाता प्रमाणित मात्र हो’–प्रशासकीय अधिकृत खतिवडाले भने–‘यो जग्गाबारे कर्णबहादुरका मान्छेहरु धेरै पटक खगेन्द्रकुमारी राईको हो भन्दै सिफारिश माग्न आएका थियो, तर फिल्डबुकमा खगेन्द्र कुमारीको थर के हो, त्यो यकिन नभएकोले हामीले सिफारिश गरेनौ । पछि मालपोतमा जग्गा कसरी दर्ता भयो, त्यो थाह भएन ।’ उनका अनुसार एकपटक मालपोत कार्यालयबाट पनि सरजिमिन गरिदिनु भन्दै पत्राचार भएको थियो । उक्त पत्रमा कार्यकारी अधिकृतबाट तोक लगाएर ल्याउनु भनि पठाइदिएपछि कोही पनि नआएको उनले बताए ।
स्वयम कर्णबहादुर राईको भनाईले पनि भुमाफिया, विचौलियासँग मालपोत र नापीको मिलेमतोलाई पुष्टि हुन्छ । ‘मेरो आमाको नाममा जग्गा दर्ता रहेछ, पछि मात्र थाह भयो । मलाई त छोराले लगेर सहि गरिदिनु भन्यो, गरिदिए’–कर्णबहादुरले भने–‘एक पैसा पनि पाएको छैन, जग्गा पनि दिएको छैन ।’ उनका अनुसार विचौलियाहरुले जग्गा बिक्री गरेपछि पैसा दिने वचन दिएका थिए । मालपोतका अधिकृत फडिन्द्र भट्टराई नापीले सर्जमिन प्रतिवेदनसहित पुर्जादिए फरक नपर्ने पत्र पठाएको आधारमा ७ दिने सार्वजनिक सुचना टाँस गरेपछि मात्र उक्त जग्गा कर्णबहादुरको नाममा नामसारी गरेको दाबी गर्छन् । ‘नापीले पुर्जा दिए फरक नपर्ने भन्यो, अनि हामीले ७ दिने सुचना निकाल्यौं । कसैको पनि हकदाबी परेन । त्यसैलाई आधार बनाएर नामसारी ग¥यौं’–अधिकृत भट्टराईले भने ।
मुद्दा फाँटका नायब सुब्बा कोइराला भने स्थानीय निकायको सर्जमिन मुचुल्का आधिकारिक हुने स्वीकार गर्छन् । तर, स्थानीय निकायको सर्जमिन मुचुल्का नमागिएको बिषयमा भने उनले मुद्दा अदालत पुगिसकेको भन्दै थप प्रतिक्रिया दिन मानेनन् । कर्णबहादुरले आमाको नाममा तिरो तिरेको २ नम्बर रसिद पनि पेश गरेको उनको भनाई छ । सर्वेक्षक योगेन्द्रप्रसाद यादव भने मालपोतले पत्र पठाएको आधारमा फिल्डमा नापचाज गरी आफुले सर्जमिन रिपोर्ट दिएपनि खगेन्द्र कुमारी र कर्णबहादुरको नाता सम्बन्धबारे मालपोतले नै हेर्नुपर्ने बताउछन् ।
..............................................................

                                             अख्तियारलाई फरक जवाफ

प्रमाण विना हचुवाको भरमा फिल्डबुुकमा भएकी खगेन्द्र कुमारीको कित्ता नं ३६ को जग्गा कर्णबहादुर राईलाई नामसारी गरी जग्गाको धनीपुर्जा दिन सिफारिश गर्ने नापी कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयलाई भने फरक जवाफ पठाएको पाइएको छ । किर्ते सम्बन्धि उजुरी परेपछि अख्तियारले ०७३ जेठ १६ गते ‘उक्त जग्गा कर्णबहादुर राईको हो भन्ने प्रमाण र आधार के हो ? फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भएपनि सो जग्गाधनी कर्णबहादुरको आमा हुन् भन्ने आधार के हो ?’ भनि सोधको थियो । यसैगरि, ‘खगेन्द्र कुमारीको मृत्यु २०३७ सालमा नै भएपनि यति लामो अवधिसम्म जग्गा नामसारी नभईरहेको अवस्थामा ०७२ मंसिर ९ गते स्थलगत सर्जमिन गरेर सोही दिन प्रतिवेदन तयार गरी मालपोतमा पत्राचारसमेत भएको, सर्जमिन गर्ने, प्रतिवेदन तयार गर्ने र पत्राचार गर्ने व्यक्तिसमेत एउटै भएको देखिएकोले विवादित बिषयहरुमा हतार हतारमा गर्नुपर्ने कारण ?’–अख्तियारले नापी कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।
नापीले ०७३ जेठ २८ मा पठाएको जवाफमा ‘कर्णबहादुर भन्ने व्यक्तिको फिल्डबुकबाट कुनै सम्बन्ध नदेखिने’ र ‘कर्णबहादुरकी आमा खगेन्द्रकुमारी हुन् भन्ने कुरा यस फिल्डबुकमा कतै उल्लेख नभएको’ भनिएको छ । नापीका कार्यालय प्रमुख कृष्णराज न्यौपानेले पठाएको यो जवाफले पनि मालपोत र नापीका कर्मचारीको मिलेमतोमा कर्णबहादुरलाई किर्ते हकवाला बनाई खगेन्द्र कुमारीको जग्गा नामसारी भएको पुष्टि हुन्छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे