अभिनयमा खारिदै धराने युवायुवतीहरु

धरान । धरान १२ चतरालाइनस्थित एउटा कोठा । डेढ दर्जन युवायुवतीहरु चकटीमाथि पलेटी मारेर बसेका छन् । ती मध्ये कोही उठेर बोल्दै नबोली हाउहाउ गर्छन्, कोही हासेको हास्यै । कोही टोले दादाको शैलीमा अरुलाई थर्काउछन् । कोही रुन्छन् ।
त्यो कोठामा पहिला पत्रकार महासंघ सुनसरीको कार्यालय थियो । महासंघ आफ्नै भवनमा सरेपछि अहिले आरम्भ नाट्य डबली बसेको छ । त्यही कोठामा प्रवेश गर्ने नयाँ व्यक्ति माथिको दृष्य देखेर एकछिन अलमल्ल पर्छन् । कुनै मानसिक वा भावनात्मक विचलन भएझै युवायुवतीहरुले व्यावहार देखाएका भने होइनन् । उनीहरु त त्यहाँ अभिनय कला सिक्न आएका युवायुवतीहरु हुन् । जसलाई डेढ दशकपछि पुनः जागेको आरम्भ नाट्य डबलीले तीन दिनसम्म प्रशिक्षण दिएको थियो । यो चाजो भने लुमन्ती आवासको लागि सहयोग समुहले मिलाएको थियो । आइतबार सम्पन्न भएको तीन दिने सडक नाटक सम्बन्धी अभिनय कार्यशाला गोष्ठीमा समुदायका १७ जना युवायुवतीहरुको उत्साहजनक सहभागीता थियो ।
आरम्भका अध्यक्ष गोपाल देवानका अनुसार सहभागीहरुलाई सडक नाटक सम्बन्धी अभिनयमा केन्द्रीत भएर प्रशिक्षण गराइएको थियो । सडक नाटक चेतनाको सशक्त माध्यम भएकोले समुदायमा यसको गहिरो प्रभाव हुने उनको भनाई छ । ‘सडक नाटकलाई कसरी प्रयोग गर्ने, अभिनय कसरी गर्ने, किन गर्ने, बिषयहरु के हुन्छ र प्रस्तुतीकरणबारे प्रशिक्षण दियौं’–पत्रकारसमेत रहेका देवानले भने–‘नयाँ रंगकर्मीहरु उदय हुनेछ र धरानको रंगमञ्च अघि बढ्छ भन्ने आशा छ ।’ सहभागीहरुलाई देवानले सैद्धान्तिक र आरम्भका सचिव प्रविण राईले व्यावहारिक प्रशिक्षण दिएका थिए ।
लुमन्तीकी लक्ष्मी राईका अनुसार धरानका विभिन्न समुदायमा २१ वटा वाल समुह छ । ती समुहमा आवद्ध बालबालिकाहरुले वाल अधिकार, शिक्षा, स्वास्थ्य एवं सरसफाईबारे नाटक देखाएर समुदायमा सचेतना गर्थे । हाल युवा सञ्जालमा सम्बद्ध भएका युवाहरुको अभिनय क्षमता बढाउन सडक नाटक कार्यशाला आयोजना गरेको उनले बताइन् । ‘भाइबहिनीहरु आफैले नाटक गरेर सचेतना कार्य गरिरहेका थिए । नाटकले समुदायमा सकरात्मक प्रभाव पनि पर्ने र सबैले चासो पनि दिने रहेछ’–उनले भनिन्–‘कार्यशालामा सहभागीहरुबाट टिम बनाएर भदौं अन्तिममा समुदायमा नाटक प्रर्दशनी गर्ने भएका छौं ।’ उनका अनुसार आरम्भको सहयोग लिएर समुदायमा निरन्तर चेतनामुलक सडक नाटक देखाइनेछ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे