किर्ने जग्गा प्रकरणमा नापीका सर्वेक्षक मुख्य योजनाकार

धरान । मृतक महिलाको जग्गा किर्ते हकवाला (छोरा) बनाएर नामसारी र किनबेच गराउन नापी कार्यालय धरानका सर्वेक्षक योगेन्द्र प्रसाद यादव मुख्य योजनाकार रहेको खुलेको छ । खगेन्द्र कुमारीको नाममा रहेको साविक धरान ११ ‘ग’ कित्ता नम्बर ३६ को जग्गा किर्ते हकवालामा नामसारी गराउन सर्वेक्षक यादवले सुनसरी सदरमुकाम इनरुवा १ का सुरेश पोद्दार र लेखान्दास प्रह्लाल कुँवरलाई विचौलियाकोरुपमा प्रयोग गरेको पाइएको छ ।
सर्वेक्षक यादवले पोद्दार र कुँवरमार्फत किर्ते काम गराउदा ३६ लाख बढीको आर्थिक चलखेल भएको पनि खुलेको छ । स्रोतका अनुसार नापी फिल्डबुकमा मात्र कायम मृतक खगेन्द्र कुमारीको जग्गामा किर्ते हकवाला खडा गर्ने, लगानीकर्ता खोज्ने र मालपोतमा सेटिङ मिलाउने जिम्मा पोद्दारलाई दिएका थिए । पोद्दारले विजयपुर बुढासुब्बा लेखापढी सेन्टरका कुँवरसँग मिलेर यो कामलाई फत्ते गराएका हुन् । नापी सर्वेक्षक यादव, पोद्दार र लेखन्दास कुँवर तीनै जना इनरुवा निवासी हुन् । स्रोतका अनुसार यी तीनजना मिलेर हकवाला नदेखिएको जग्गालाई किर्ते हकवाला उभ्याएर नामसारी र किनबेचमा धेरै अघिदेखि सक्रिय थिए । पछिल्लो समय खगेन्द्र कुमारीको विवादित जग्गामा हात हालेपछि मात्र उनीहरुको किर्ते काम सार्वजनिक भएको हो । उनीहरुलाई मालपोतका अधिकृत फडिन्द्र भट्टराई र मुद्दा फाँटका नायब सुब्बा डिल्ली अधिकारीले पनि सक्रिय सघाउने गरेका छन् ।
खगेन्द्र कुमारीको ११ कट्ठा ५ धुुर जग्गा गैरहकवाला कर्णबहादुर राईलाई नामसारी गराउन पोद्दार र कुँवरले धरान १४ विजयपुरकी ललिता लिम्बुलाई पनि साथमा लिएका थिए । कर्णबहादुरको तर्फबाट ललिता र कर्णबहादुरका छोरा अनिलले किर्ते काममा सघाएका थिए । नामसारी गर्दा लाग्ने खर्च ललिताले व्यहोर्ने र जग्गा बिक्री भएपछि पैसा दिने कर्णबहादुरसँग सहमति भएको थियो । विचौलियाहरुले ललितालाई कर्णबहादुरको नाममा ९ कट्ठा जमिन मात्र नामसारी गरेको भन्दै भ्रममा राखेको थियो । कर्णबहादुरको नाममा जग्गा नामसारी भएपछि ललिताले आफ्नै दिदीकी बुहारी धरान १५ की २४ बर्षीय सिता योङ्यालाई ८ कट्ठा १० धुर खरीद गर्न लगाइन् । योङ्याको नाममा ०७२ पुष २३ गते राजिनामा पास भएको थियो । सीता कार्कीको नाममा १ कट्टा १५ धुर र विचौलिया पोद्दारको नाममा १ कट्टा जमिन गएको थियो । मालपोत स्रेस्ता अनुसार कर्णबहादुरबाट कित्ता नं ३६ फोड भई पोद्दारको नाउँमा कित्ता नं ४२१ मा एक कट्ठा जमिन छ । सिता कार्की को हुन् भन्ने खुल्न सकेको छैन । पोद्दारले भने योङ्याले पाउनुपर्ने ९ कट्ठा जमिनबाट जर्बजस्ती एक कट्ठा आफ्नो नाममा बनाएका थिए ।
नामसारी प्रक्रिया सक्न ३७ लाख रुपैया खर्च गरेको योङ्या परिवारले जानकारी दिएको छ । ‘२७ सालदेखिको राजश्व नै ३० लाख माथि पर्छ भन्थे, हामीले ३७ लाख त क्यास(नगद) बुझाएका हौं’–योङ्या स्रोतले भन्यो–‘तर, हामीलाई पनि फसाएको रहेछ, पछि मात्र थाह पायांै ।’ मालपोत अभिलेख अनुसार कर्णबहादुर राईले सीता योङयालाई ८ कट्ठा १० धुर जमिन राजिनामा पास गर्दा २१ लाख ६० हजारको थैलि खुलाएको छ । त्यसवापत ४ प्रतिशतले राजश्व तिर्दा ८६ हजार ४ सय मात्र योङ्याले तिर्नुपथ्र्यो । महिलाको नाममा नामसारी हुदा थप २५ प्रतिशत(२१ ह्जार ६ सय) छुट हुदा ६४ हजार ८ सय रुपैया मात्र तिर्नुपर्ने हुन्छ । धरान उपमहानगरपालिकामा एकीकृत सम्पत्ति करवापत १२ हजार ८ सय ९९ मात्र तिरेका छन् । तर, योङ्या परिवारसँग भने विचौलियाले ३७ लाख लिएका थिए । बाँकी पैसा सबै भागवण्डा भएको स्रोतको भनाई छ ।
किर्ते नामसारी प्रक्रियामा सक्रिय ललिता लिम्बु धेरै खुल्न नचाहे पनि ३७ लाख बढी नगद बुझाएको भने स्वीकार गरिन् । ‘हामीले त घर नजिकै राईको जग्गा हो भनेर पो किनेको हो त । कागज के कस्तो थियो सबै मालले जान्नुपर्छ, पैसा खाने मात्र कि मिलाउने पनि ?’–लामो कुराकानीको क्रममा उनले भनिन् । पोद्दारमार्फत आफुसम्म जग्गाको कुरा आएको र कर्णबहादुरको छोरा अनिललाई २ लाख बुझाएको पनि खुलाइन् । नापी सर्वेक्षक यादवले पोद्दारसँग चिनजान भएपनि खगेन्द्र कुमारीको जग्गा नामसारीमा लेनदेन भएको अस्वीकार गरे । ‘उसँग मेरो चिनजान छ, तर पैसाको बारे थाह भएन । बाहिरको कुरा के हो थाह हुन्न’–उनले भने । मालपोतका अधिकृत फडिन्द्र भट्टराई, नायब सुब्बा डिल्ली अधिकारीले पनि पैसाको भागवण्डाबारे थाह नभएको जिकिर गरे । विचौलिया सुरेश पोद्दार घटना सार्वजनिक भएपछि सम्पर्क विहिन भएका छन् भने लेखान्दास प्रह्लाद कार्की आफुले लेखापढी मात्र गरिदिएको दाबी गरे ।
.....................................................

                         फिल्ड सर्जमिन पनि किर्ते

मृतक खगेन्द्र कुमारीको जग्गा हकवाला छोरा भनिएका कर्णबहादुर राईलाई नामसारी गराउने क्रममा नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादवले गराएको फिल्ड सर्जमिन पनि किर्ते भएको पत्ता लागेको छ । कित्ता नं ३६ को ११ कट्ठा ६ धुर जग्गा कर्णबहादुरले हकदाबी गरेपछि मालपोत कार्यालयले ०७२ पुष ८ गते सधियारसँग फिल्ड सर्जमिन गर्न भन्दै पत्राचार गरेको थियो । सर्वेक्षक यादवले पुष ९ गते गराएको फिल्ड सर्जमिनमा हस्ताक्षर गर्ने व्यक्तिहरु सधियार तथा स्थानीय भद्रभलाद्मीहरु होइनन् । अन्यत्रका व्यक्तिलाई उपस्थित गराएर सहीछाप गराएको खुलेको छ ।
सर्जमिनमा ‘कित्ता नंबर ३६ खगेन्द्र कुमारीको भएको साचो हो, निजको मृत्यु भई छोरा कर्णबहादुर राईले हकभोग गरिरहेको छ’ भनेर ७ जना व्यक्तिहरुले सहीछाप गरेका छन् । उनीहरुलाई सर्वेक्षक यादव, विचौलिया पोद्दार, लेखन्दास कुँवर र सहयोगी ललिता लिम्बुको योजना वमोजित उपस्थित गराएको खुलेको छ । त्यसमध्ये एक जना स्वयम कर्णबहादुरका छोरा अनिल राई छन् भने एक जना कर्णबहादुरको जग्गा खरीद गर्ने सीता योङ्या छिन् । योङयाको खास ठेगाना धरान १५ भएपनि सर्जमिनमा वडा १४ लेखिएको छ । विवादित कित्ता नं ३६ मा बसोबास गरिरहेका तारा विश्वकर्मा र उनको परिवार कसैलाई पनि फिल्ड सर्जमिनमा उपस्थित गराइएको छैन । सर्वेक्षक यादवले हस्ताक्षर गर्दा मिति पुष ८ गते लेखेका छन् भने सर्जमिनको पहिलो पेजमा फरक रंगको मसीले अक्षरमा आठ गते लेखिएको छ ।
सर्वेक्षक यादवले सर्जमिन हुदा उपस्थित भएकाहरुबाट सहीछाप गराएको तर उनीहरु सधियार हुन, होइनन् भन्ने थाह नभएको बताए । नापी कार्यालयका प्रमुख कृष्णराज न्यौपाने नियमअनुसार गर्ने भनेर निर्देशन दिएपछि फिल्डमा खटिने प्राविधिकले नियमविपरीत गर्न नहुने र त्यसो गरे सोही व्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले सर्जमिनमा सधियार र वडा समितिका सचिव अनिवार्य चाहिने र थप प्रशासनिक निकाय(मालपोत)बाट पनि सर्जमिन हुनुपर्ने बताए पनि यी कुनै पनि प्रक्रिया पुरा भएको देखिदैन ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे