पुलिस सेमीफाइनलमा(फोटोफिचर)

धरान । तीन पटकको विजेता नेपाल पुलिस क्लब धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा मंगलबार भारत, कालिङ्पोङको शेरे फुटबल क्लबको चुनौती ३–० ले पन्छाउदै पुलिसले अन्तिम चारमा स्थान सरक्षित गरेको हो । पुलिसको जितमा रविन श्रेष्ठ, भरत शाह र हेम तामाङले गोल गरे । पुलिसले फाइनल प्रवेशको लागि फागुन २० गते रुपन्देही ११ सँग सेमीफाइनल खेल्नुपर्नेछ । रुपन्देहीले आयोजक धरानलाई ४–१ हराउदै यसअघि नै सेमीफाइनल पुगेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा अग्रता लिन पुलिसलाई ४० औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । शेरेका शैलेश शंकरले हातले वल छोएपछि पाएको फ्रिकिकमा रविन श्रेष्ठले सिधै गोल गरेका थिए । करिब २५ यार्डको दुरीबाट रविनले प्रहार गरेको वल हातमा आएपनि शेरेका गोलकिपर जिसन चार्लिजले फुत्काउदा गोललाइनभित्र खसेको थियो । पहिलो हाफमा १–० ले अग्रता लिएको पुलिसलाई दोस्रो हाफको २५ औं मिनेटमा भरत शाहले गोल गर्दै २–० को अग्रता दिलाए । सुमन लामाले दिएको पासमा उनले दोस्रो बार च्यापेर गरेको प्रहार पोलमा ठोकिदै जाली चुमेको थियो । यस्तै, दोस्रो हाफको ३८ औं मिनेटमा हेम तामाङले गोल गर्दै पुलिसको जित पक्का गरे । उनले भरत शाहले दिएको पासमा वललाई जाली चुमाए । खेलको म्यान अप दि म्याच घोषित हुदै पुलिसका हेम तामाङले नगद ५ हजार थापे ।
पहिलो हाफमा एक गोलले मात्रै अग्रता लिएको पुलिसले दोस्रो हाफको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको थियो । पहिलो हाफको चौथो मिनेटमै रविन श्रेष्ठको क्रसपासमा भरत शाहको हेड आकासियो भने २५ औं मिनेटमा भरतले अवसर सृर्जना गरेपनि सुमन लामाको हेड बाहिरियो । पहिलो हाफको ४२ औं मिनेटमा भरत शाहले हेडमार्फत दिएको पासमा विनोद कार्कीले डि बक्स भित्रैबाट हेड प्रहार गरेपनि शेरेका गोलकिपरले पञ्च गरेर असफल बनाए । दोस्रो हाफको तेस्रो मिनेटमै हेम तामाङको पासमा डि बक्सभित्रबाटै सुमन लामा गोल गर्नबाट चुके । लगत्तै, सुमन लामाले प्रहार गरेको वल गोल हुन नदिई शेरेका इसाक लेप्चाले फर्काइदिए भने ११ औं मिनेटमा सुमनले नै दोस्रो बार च्याप्दै गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो । यस्तै, २० औं मिनेटमा वान भर्सेस वानको स्थितिमा विनोद कार्कीले सिधै शेरको गोलकिपरको हातमा वल दिए ।
शेरे क्लबले पनि खेल केही अवसरहरु पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको पाँचौ मिनेटमा डिभासिस राईले डिबक्स नजिकबाट गरेको प्रहार आकासियो भने १५ औं मिनेटमा सोनम लेप्चाको कर्नरमा च्वो छिरिङ लेप्चाको हेडलाई पुलिसका सुरज बिकले गोल हुनबाट जोगाए । यस्तै, ३३ औं मिनेटमा डिभासिसकै पासमा छिरिङले नै हेड गरेपनि बाहिरियो भने पहिलो हाफको इञ्जुरी समयमा डि बक्सभित्रबाट सन्दिप सुब्बाको प्रहारलाई पुलिसका गोलकिपर विशाल श्रेष्ठले समाते । दोस्रो हाफमा दबाबमा रहेको शेरेका सन्दिपको डिबक्सभित्रबाट गोल गर्न चुके । डिभासिसबाट इसाक लेप्चा हुदै सन्दिपलाई गोल गर्ने सुन्दर मौका सृर्जना गरिदिएको थियो । यस्तै, दोस्रो हाफको ४२ औं मिनेटमा वसन्त राईको प्रहार पुलिसको गोलकिपरलाई ठोक्किएर रिबाउण्ड भएको वल च्वो छिरिङले डिबक्स भित्रै पाए पनि उनको प्रहार बाहिरिदा अवसर खेर गयो ।
पुलिसका प्रशिक्षक अनन्त राज थापाले युवा खेलाडीहरुलाई नयाँ मैदानमा एडजस्ट हुन समय लागेकोले पहिलो हाफमा तालमेल नमिलेको बताए । खेलाडीहरुले आफ्नो क्षमता भन्दा ५० प्रतिशत मात्रै खेल्न सकेको उनको भनाई थियो । ‘विराटनगर र धरानको मैदान, वल फरक छ । त्यसैले एडजस्त हुन समय लाग्यो । दोस्रो हाफमा विस्तारै खेल सुध्रियो’–भर्खर मात्र विराट गोल्डकप च्याम्पियन पुलिसका प्रशिक्षक थापाले भने–‘सेमीफाइनलमा यो भन्दा धेरै सुधार हुन्छ, त्यतिबेला भोला सिलवाल, जुमानु पनि खेल्नेछ ।’ शेरे क्लबका प्रशिक्षक चन्द्रकुमार राईले आफ्नो भन्दा पुलिसको टिमवर्क राम्रो भएको प्रतिक्रिया दिए । टिमको खेलाडी घाइते भएकोले बाहिरको खेलाडी ल्याउदा सेट नमिलेको उनको भनाई थियो । ‘हाम्रो खेलाडीहरुमा समझदारी नै हुन सकेन, टिम सेट नभएकोले समस्या भयो’–उनले भने । प्रतियोगितामा बुधबार गत बर्षको विजेता एपिएफ क्लब र उपविजेता मनाङ मस्र्याङदी क्लबबीच पहिलो सेमीफाइनल हुनेछ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे