सरकारी बजेट आएपछि बहुजातीय संग्रहालयको निर्माण तीब्र

धरान । बजेट अभावले कुुछुवा गतिमा निर्माण भइरहेको धरान १४, हात्तिसारस्थित बहुजातीय संग्रहालयलाई सरकारी निकायले पनि चासो दिदै बजेट उपलब्ध गराउन थालेपछि निर्माण कार्यले तीब्रता पाएको छ । ज्युउँदो संग्रहालय बनाउने घोषणासहित निर्माण थालिएको संग्रहालय बजेट अभावले लामो समय अलपत्र अवस्थामा रहेको थियो ।
पछिल्लो समय सरकारी निकायले संग्रहालय निर्माणलाई प्राथमिकता दिदै बजेट बिनियोजन गर्न थाले पछि भने निर्माण कार्यले तीब्रता पाएको हो । यो सग्रहालय नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद सुनसरीको पहलमा निर्माण भइरहेको हो । महासंघका अध्यक्ष खम्बसिं तमुका अनुसार निर्माणाधिन संग्रहालयलाई भर्खर सँस्कृति तथा पर्यटन मन्त्रालयअन्र्तगतको नेपाल पर्यटन बोर्डबाट १० लाख रुपैया आएको छ । धरान २२ पानबारी निवासी मातृकाप्रसाद भटराईको पहलमा यो रकम आएको तमुले बताए । संग्रहालयको क्षेत्रफल एक बिघा २ कट्ठा ४ धुर रहेको छ ।
संग्रहालय निर्माण हुदा धरानको पर्यटनलाई टेवा पुग्ने भएपनि लामो समयसम्म प्रमुख सरोकारवाला सरकारी निकाय पर्यटन बोर्डले भने खासै चासो दिएको थिएन । ‘अहिले पर्यटन बोर्डबाट पनि बजेट पाउदा ज्यादै खुशी छौं, सरकारी निकायहरुले संग्रहालय निर्माणमा चासो दिन थालेकोले अब बजेट अभावको समस्या नहोला कि भन्ने आशा लिएका छौं’–अध्यक्ष तमुले भने । संग्रहालय निर्माण सम्पन्न गर्न करिब ३३ करोड रुपैया खर्च हुने अनुमान छ । २०६७ सालदेखि निर्माण शुरु भएपनि शुरुवातमा सरकारी निकायले चासो नदिए पछि बजेटको अभावमा संग्रहालय निर्माण कार्य सुस्त भएको थियो । अध्यक्ष तमुका अनुसार यो आर्थिक बर्षको लागि संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट ५० लाख प्राप्त भएको छ भने जिल्ला विकास समिति सुनसरीले ५ लाख र धरान उपमहानगरपालिकाले ७ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।
पुरात्तत्व विभागबाट प्राप्त भएको रकमले संग्रहालयको दुई तले भवन निर्माण भइरहेको छ भने जिविसको रकमले कम्पाउण्ड वाल निर्माण गरिनेछ । यस्तै, उपमहानगरपालिकाले बिनियोजन गरेको रकमले संग्रहालयको मुख्य प्रवेशद्धार निर्माण गरिने बहुजातीय संग्रहालयका अवधारणा पत्र लेखक(परिकल्पनाकार) एवं प्रवक्ता गोपाल देवान बताए । ‘पुरात्तत्व विभागले गत बर्ष पनि ५० लाख विनियोगन गरेको थियो, आगामी बर्षमा पनि त्यही अपेक्षा गछौं । पर्यटन बोर्डले पहिलो पटक बिनियोगन गरेको हो, आगामी बर्षको लागि पनि पहल गछौं’–उनले भने ।
धरानलाई पर्यटन केन्द्र एवं आदिबासी जनजातिको कला, भाषा, सँस्कृति, इतिहासको संरक्षण र अनुसन्धान केन्द्र बनाउने उद्देश्यले संग्रहालय निर्माण थालिएको महासंघको भनाई छ । परिकल्पनाकार देवानका अनुसार संग्रहालयमा हिमाल, पहाड र तराईका आदिवासी जनजातिका परम्परागत घरहरु निर्माण गरिनेछ, र त्यसमा सांस्कृतिक भेषभुषा लगाएका मानिसहरुसहित जातीय खानाहरु पनि राखिनेछ । ‘विभिन्न जातजातिको सँस्कृति, मौलिक सामग्रीसँगै जातीय खानाहरु पनि राखिन्छ । साँस्कृतिक भोषभुषामा मानिसहरु बस्नेछन्, त्यसैले ज्युदो संग्रहालय भनिएको हो’–उनले भने । सँस्कृति अध्ययन, अनुसन्धान गर्न चाहेमा यहाँ उसले प्रत्यक्ष कला,सँस्कृति हेर्न सक्ने भएकोले पनि ज्यूदो संग्रहालय भनिएको महासंघले जनाएको छ ।
परिकल्पनाअनुसार संग्रहालय निर्माणस्थलमा संघमा आवद्ध विभिन्न १८ वटा जातिको घर बनिने छ र ती घरभित्र सम्बन्धित जातिका कला,सँस्कृति, पुख्यौली सामाग्रीहरु संकलन गरेर राखिनेछ । गैर जनजाति समुदायको पनि सँस्कृति राखिनेछ । संग्रहालयको संरचना नेपालको भौलिक वनावट अनुसार हिमाल, पहाड र तराई झल्काउने गरि तीन तहको संरचना बन्नेछ । संग्रहालय घुम्न आउने पर्यटकहरुललाई च्याब्रुङ, साकेला, डम्फु, हुर्रालगायत विभिन्न जातिको नाच हेर्न र नाच्न चाहनेलाई त्यसको पनि व्यावस्था गर्ने भनिएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे