पर्यटन प्रर्वद्धन गर्न नेपाली साइक्लिष्टहरु भारततर्फ


धरान । नेपालको साहसिक पर्यटनसँगै धार्मिक, प्राकृतिक पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले साइक्लिष्टहरुको एक टोली मंगलबार भारतको पुर्वीउत्तर राज्यतर्फ साइक्लिङमा प्रस्थान गरेका छन् । साइकल धरानको संयोजनमा नेपालका २२ जना साइकले युवाहरु मंगलबार बिहान ४ बजे धरानबाट हिडेका छन् ।
साइकले टोलीलाई सोमबार एक कार्यक्रमबीच धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गरेका थिए । यो टोली ६ दिने भारत यात्रा पछि नेपाल फिर्नेछ । साइकल एक्स्पिडिशन २०१६ नाम दिइएको यात्राको नेतृत्व विश्वसाइकल यात्री पुष्कर शाहले गर्नेछन् । पशुपतिनगर हुदै भारत प्रवेश गर्ने साइकले टोली दार्जिलिङ, सिंङ्गताम हुदै सिक्किमको राजधानी गान्तोक पुग्नेछ । त्यहाँबाट पुनः पश्चिम वंगालको सिलगुडी हुदै काकडभिट्टाबाट नेपाल फर्कने छन् ।
साइक्लिङ मार्फत जनस्तरमा रहेको द्धिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने र नेपालको पर्यटनलाई प्रर्वद्धन गरिने साइकल धरानका अध्यक्ष प्रमोद शाक्यले बताए । उनका अनुसार साइकले टोलीले पुर्वको साहसिक पर्यटनका प्रोडक्टसँगै अन्य पर्यटकीय आर्कषण समेटिएको जानकारीमुलक ब्रोसरहरु साथमा बोक्नेछन् । सिक्किम र दार्जिलिङका टुर प्याकेज सञ्चालन गर्ने ट्राभल एजेन्सीहरुसँग पुर्वी नेपालको पर्यटकीय गन्तव्यहरुबारे छलफल र जानकारी दिइने उनले बताए । ‘पुर्वको महत्वपुर्ण पर्यटन गन्तव्यहरुको बारेमा सिक्किम, दार्जिलिङको टुर अपरेटरहरुलाई जानकारी दिन्छौं, यसले गर्दा त्यताका पर्यटकहरु नेपाल भित्र्याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा हो’–उनले भने ।
ग्त बर्ष पनि नेपालबाट साइकले टोली पुर्वीउत्तर भारतीय राज्यमा गएका थिए । त्यसबेला सिक्किमको गान्तोकसँग धरानको भगिनी सम्बन्ध गाँस्न पहल पनि भएको थियो । गत बर्ष नेपालका साइक्लिष्टहरु गएपछि समन्वय गरेर एक टोली धरान घुम्न आएको थियो । यो पटक टोलीमा धरानका १० जना साइक्लिष्टहरु छन् भने काठमाण्डौं, पोखरा, कपिलवस्तु, बुटवल, गोर्खा र इटहरीबाटसमेत गरि कुल २२ जना समावेश छन् । पशुपतिनगरसम्म बसमा यात्रा हुने र त्यसपछि ३ सय २१ किलोमिटर यात्रा साइकलमा हुनेछ । ‘अबको पर्यटन साइकल पर्यटन भन्दै हामी यात्रामा हुन्छौं । जहाँ बस्छौं, त्यहाँ साहसिक पर्यटनसँगै पुर्वी नेपालको गन्तव्यहरुको मार्केटिङ पनि गछौं’–टक्स माउण्टेन बाइक शोरुमका प्रबन्ध निर्देशक एवं साइकल पर्यटन अभियन्ता कृष्ण केसीले भने ।
धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले साइकले टोलीको विदाई गर्दै द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुने र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा राखेको बताए । साइक्लिङले पर्यटन प्रर्वद्धनसँगै स्वास्थ्यलाई पनि फाइदा पुग्ने भएकोले यसको प्रर्वद्धनको लागि उपमहानगरपालिकाले सक्दो सहकार्य गर्ने उनको भनाई थियो । ‘साइक्लिङले आन्तरिक र बाह्य पर्यटनको प्रर्वद्धनसँगै द्धिपक्षीय सम्बन्धलाई पनि अझ प्रगाढ बनाउनेछ, तपाईहरुको यात्राले उताबाट पनि पर्यटकहरु नेपाल आउने माहौल बनोस्’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे