फाइनलमा मनाङसँग पुलिसको भेट(फोटोफिचर)

धरान । तीन पटकको विजेता नेपाल पुलिस क्लबले धरानमा जारी १८ आंै बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा चिरप्रतिद्धन्दी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीसँग भेट पक्का गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदामा बिहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा रुपन्देही ११ लाई १–० को झिनो गोलअन्तरले हराउदै पुलिसले फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो ।
अनुभवी खेलाडी जुमानु राईले पहिलो हाफको २५ औं मिनेटमा गरेको एक मात्र गोल पुलिसलाई उपाधि नजिक पुर्याउन पर्याप्त भयो । रविन श्रेष्ठको क्रस पासमा रुपन्देहीका खेलाडीले मार्क नगरेको मौकामा जुमानुले हेडमार्फत गोल गरेका थिए । तीन पटकको विजेता पुलिस बुढासुब्बाको फाइनल पुगेको यो सातौं पटक हो । यसअघि पुलिसले दोस्रो (०५६), चौथो(०५८) र पाँचौं(०५९) सँस्करणमा उपाधि जितेको थियो भने तेस्रो(०५७), छैटौं(०६०) र १२ औं(०६६) सँस्करणमा उपविजेतामा सिमित बनेको थियो । बुढासुब्बामा मनाङ र पुलिसको फाइनलमा भेट भएको यो दोस्रो अवसर हो । यसअघि छैटौं(०६०)सँस्करणमा पुलिस र मनाङको भेट भएको थियो । खेलमा मनाङले बाजी मारेको थियो ।
जारी प्रतियोगितामा शनिबार पुलिस र मनाङबीच फाइनल खेल हुनेछ । मनाङले बुधबार एपिएफमाथि ३–२ को नजिता निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । यो सिजनमा पुलिस र मनाङको भेट विराट गोल्डकपको क्वार्टरफाइनलमा हुदा टाइब्रेकरमा पुलिसले ३–२ ले बाजी मारेको थियो । तीन अफ्रिकन खेलाडी र पुर्वराष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको रुपन्देहीले पुलिस भन्दा आक्रामक खेले पनि गोल गर्न भने सकेनन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दर्जन पटक गोल गर्ने मौका गुमाएका थिए ।
पहिलो हाफको ६ मिनेटमै भरत शाहको पासमा हेम तामाङको प्रहार आकासिएको थियो भने ४१ औं मिनेटमा रविन श्रेष्ठले दिएको पासलाई भरतले वलमा नियन्त्रण गुमाउदा डिबक्सबाट रुपन्देहीका बिक्रम लिम्बुले क्लियर गरिदिए । दोस्रो हाफको २ मिनेटमै रुपन्देहीको रक्षापंक्ति र गोलकिपर दिलिप क्षेत्री विट भइसकेको बेला जुमानुको फितलो प्रहार बाहिरियो । यस्तै, २८ औं मिनेटमा जुमानुको क्रसपासमा सुमन लामाको कडा प्रहारलाई रुपन्देहीका गोलकिपरले पञ्च गरेर जोगाए । दोस्रो हाफको इञ्जुरी समयमा रुपन्देहीको गोलपोष्टममा लगातार आक्रमण बुनेको पुलिसका विनोद कार्की, दिनेश गुरुङ र जुमानु गोल गर्न असफल भए । दिनेशको हेड प्रहारलाई गोलकिपरले फकाइदिएका थिए भने जुमानुको प्रहार बारमा लागेर फर्कियो । रिबाउण्डमा विनोदको प्रहारले पनि सही दिसा लिन सकेन ।
शुरुवातमै आक्रमक खेलेको रुपन्देहीले पहिलो हाफको तेस्रो मिनेटमै सेगुनको गोल गर्ने प्रयासमा पुलिसका डिफेन्स सुमन सुवेदी बाधक बने । भिक्टरको पासमा उनले गरेको प्रहारलाई सुमनले क्लियर गरिदिएका थिए । यस्तै, २० मिनेटमा योगश गुरुङको फ्रिकिक प्रहारमा पिटरले हेड गर्ने प्रयास सफल नहुदा अवसर खेर फाले भने २३ औं मिनेटमा नगेनमणि लिम्बुको पासलाई सेगुनले छातीले रोकेर डिबक्सभित्रबाट प्रहार गर्न खोजे पनि भ्याएनन् । २७ औं मिनेटमा बिक्रम लामाको फ्रिकिकलाई पुलिसको डिफेन्सले क्लियर गरे । दोस्रो हाफको २ मिनेटमै योगेश गुरुङको पासमा भिक्टरको फितलो प्रहार पुलिसका गोलकिपरको हातमा पुग्यो भने ११ औं मिनेटमा भिक्टरको पासमा नगेनमणिको प्रहारले गोलपोष्टको दिसा लिनसकेन । यस्तै, १५ औं मिनेटमा शिव श्रेष्ठको पासमा नगेनमणिको हेड बाहिरियो भने १९ औं मिनेटमा भिक्टरले डिबक्सभित्रबाट गरेको प्रहार आकासियो । दोस्रो हाफको ३५ औं मिनेटमा बिक्रम लिम्बुको पासमा भिक्टरले फ्लिक प्रहार गरेपनि पुलिसका डिफेन्सले क्लियर गरिदिए । खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर विशाल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार थापे ।
रुपन्देहीको प्रशिक्षक दयाराम सापकोटाले खेल राम्रो भएपनि भाग्यले साथ नदिएको बताए । एक गोल खानु नै खेलको टर्निङ प्वाइन्ट भएको उनले बताए । ‘मौका धेरै पायौं, तर ब्याडलक भयो । गोल खानु नै हाम्रो लागि दुर्भाग्य भयो’–उनले भने । पुलिसका प्रशिक्षक अनन्त राज थापाले योजनाअनुसार खेलाडीले जिम्मेवारी पुरा गरेकोले जित हात पारेको बताए । ‘उनीहरुको वलिया टिम थियो, तर हाम्रा खेलाडीले जिम्मेवारी दिएको पुरा गरे, त्यसैले जित्यौं’–उनले भने । शुक्रबार आयोजक धरान फुटबल क्लबको टिम र खेलकुद पत्रकार मञ्च सुनसरीको टिमबीच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे