बर्थिङ सेन्टरलाई युरेकाको सहयोग

धरान । सरस्वती पुजामा विद्यार्थी एवं अभिभावकहरुबाट संकलित रकमबाट युरेका आवासिय उच्च माविले धरान स्वास्थ्य चौकीअन्र्तगतको बर्थिङ सेन्टर(प्रसुती गृह)लाई आवश्यक खानेपानी टंकी र मोटर सहयोग गरेको छ । धरान ४ छाताचोकस्थित पुरानो अस्पतालमा सञ्चालित सेन्टरमा पानीको समस्या रहेको थाह पाएपछि विद्यालयले टंकी र मोटर जुटाइदिएको हो ।
एक हजार लिटर क्षमताको टंकी र पानी तान्ने मोटर बुधबार विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ, शिक्षक र विद्यार्थीहरुले सेन्टरलाई हस्तान्तरण गरेका थिए । प्रिन्सिपल गुरुङका अनुसार टंकी र मोटर करिब २२ हजार बराबर मुल्यको हो । बर्षेनी सरस्वती पुजामा पैसा उब्रने गरेकोले यसपालीदेखि सामाजिक कार्यमा खर्च गर्ने परम्परा बसालेको उनले बताए । ‘पुजाको पैसा उब्रन्छ, त्यसलाई के गर्ने भनेर अभिभावक, विद्यार्थीमा सल्लाह गर्यौ । कुनै वृद्धाश्रममा दिने भन्ने सोच थियो, तर विद्यालय नजिकैको हस्पिटलमा धेरै समस्या छ भन्ने सुुनेर बुझ्न आयौं’–प्रिन्सिपल गुरुङले भने–‘उहाँहरुले टंकी र मोटरको खाचो छ भनेपछि त्यही दिएका हौं ।’
उनका अनुसार उब्रेको रकमलाई सहयोगको प्रस्ताव गर्दा विद्यार्थी र अभिभावकहरु पनि खुशी भएका थिए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नदिएर समाजप्रति जिम्मेवार बनाउन पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । बर्थिङ सेन्टरका सिनियर अहेब अधिकृत शुभनारायण बनैताका अनुसार सेन्टरमा प्रायः विपन्न परिवारका गर्भवती महिलाहरु प्रसुती गराउन आउछन् । पानी अभावले सरसफाईमा धेरै समस्या हुने गरेको छ । ‘बर्थिङ सेन्टर भएकोले सरसफाईको लागि पानीको अति खाचो भएपनि जोहो गर्न धेरै समस्या थियो । सरहरु आउदा टंकी र मोटर जडान गरिदिनुस् भनेको थिएँ । अब पहिलाको जस्तो समस्या नहोला’–उनले भने ।
०६९ सालदेखि सञ्चालनमा आएको सेन्टरमा सिनियर अहेब, हेल्थ असिष्टेण्ड, अहेब, अनमीलगायत ७ जना जनशक्ति छन् । यहाँ गर्भवती महिलाले नियमति जाँच गराउदा प्रोत्साहन भत्ता ४ सय र सुत्केरी गराउन यातायात खर्च ५ सय गरि एकमुष्ठ ९ सय रुपैया पाउछन् । यस्तै, बच्चालाई न्यानो झोला, आमालाई एक सेट कपडा र झुल पनि दिइने बनैताले बताए । सेन्टरको बारेमा धेरैलाई जानकारी नभएपनि हाल दैनिक एक दर्जन स्वास्थ्य जाँचको लागि आइरहेको उनको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे