मनाङ बुढासुब्बामा तेस्रो पटक च्याम्पियन(फोटोफिचर)

धरान । लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई १–० को झिनो गोलअन्तरले हराउदै मनाङले बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो ।
मनाङलाई तेस्रो पटक बुढासुब्बाको उपाधि दिलाउने क्रममा नाइजेरियन खेलाडी अफिज ओलावलेले एक मात्र निर्णायक गोल गरेका थिए । दोस्रो हाफको ४२ औं मिनेटमा हेमन्त गुरुङको कर्नरमा डि बक्सभित्र अनन्त तामाङको हेड क्लियर हुन नसकेको मौकामा ओलावलेले गोल गरेका थिए ।

मनाङले यसअघि बुढासुब्बाको छैटौं(०६०) र तेह्रौं(०६७) सँस्करणमा उपाधि जितेको थियो । जारी सिजनमा पनि मनाङको यो तेस्रो उपाधि हो । मनाङले माघमा पोखरामा आहा रारा गोल्डकप र हेडौडामा सुमन बम्जन स्मृति कपको उपाधि जितेको थियो । जितसँगै मनाङले गत साता विराट गोल्डकपमा पुलिससँगको हारको वदला पनि लिएको छ । बुढासुब्बाको फाइनलमा मनाङले पुलिसलाई हराएको यो दोस्रो पटक हो । यसअघि छैटौं(०६०)सँस्करणको फाइनलमा पनि मनाङले पुलिसलाई हराएको थियो । विजेता मनाङले च्याम्पियन ट्रफीसँगै नगद ४ लाख हात पार्यो भने उपविजेता पुलिसले नगद २ लाखमा नै चित्त बुझायो ।
उपाधिका दाबेदार मानिएको दुवै टोलीले फाइनलमा थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको ४२ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा कप्तान जुमानु राईले गोल गर्न चुक्नु पुलिसको लागि दुर्भाग्य सावित भयो । भोला सिलवालले उत्कृष्ट क्रसमा सृर्जना गरेको अवसरमा जुमानुको प्रहार मनाङका गोलकिपर किरण चेम्जोङको जिउमा ठोक्किएर फकिएको थियो । त्यसअघि, रविन श्रेष्ठको क्रसपास दिए पनि मनाङका विराज मर्हजनले हेड गरेर क्लियर गरिदिएका थिए ।
दोस्रो हाफको २ मिनेटमै भोला सिलवालको पासमा विनोद कार्कीले हेड गरेपनि सफल भएनन् भने ४० औं मिनेटमा पुनः विनोदको प्रहारलाई गोलकिपर किरणले पञ्च गरेर असफल बनाए । इञ्जुरी समयमा भोला सिलवालको पासमा सुमन सुवेदी र अजित भण्डारीले डिबक्सभित्र हेड गर्न नभ्याउदा गोल गर्ने मौका गुमेको थियो ।
पुलिसको तुलनामा मनाङले थुप्रै आक्रमण बुनेपनि एउटा मात्र सफल रह्यो । पहिलो हाफको १७ आंै मिनेटमा अनिल गुरुङको पासमा अफिज ओलावलेको प्रहार पुलिसका रक्षक सुमन सुवेदीले बाहिर फालिदिए । लगत्तै सुजल श्रेष्ठको कर्नरमा सिसाकोको प्रहार आकासियो भने २१ आंै मिनेटमा विशाल राई बिको कर्नरमा अनिलले हेड गरेपनि पुलिसका गोलकिपर विशाल श्रेष्ठले रोके । यस्तै, २८ औं मिनेटमा अनिलले दिएको पासमा ओलावलेले प्रहार गरे पनि अजित भण्डारीको खुट्टामा ठोक्किएर फर्कियो भने ४३ औं मिनेटमा सुजल श्रेष्ठको प्रहार पुलिसका रक्षक सुरज बिकलाई ठोक्किदै बाहिरियो । दोस्रो हाफको १९ औं मिनेटमा अनन्त तामाङको क्रस पासलाई अनिलले भेट्नुअघि नै अजित भण्डारीले क्लियर गरिदिए भने २५ औं मिनेटमा अनिलको प्रहारलाई पुलिसका रक्षक सुरजले हेड गरेर असफल बनाइदिए ।
जितपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले धेरै मौका पाए पनि एउटा सदुपयोग भएपछि जित भएको बताए । ‘धेरै नै खुशी छुँ, यो सिजनमा र बुढासुब्बामा नै तेस्रो उपाधि जित्यौं । दुवैमा ह्याट्रिक गरेकोले धेरै नै खुशी छु’–उनले भने–‘मौका धेरै पायौं, एउटा मात्रै सदुपयोग भयो र जित्यौं ।’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजनाअनुसार खेलाडीहरुलाई दिएको जिम्मेवारी पुरा गरेपनि एउटा गोल खानु नै दुर्भाग्य भएको बताए । ‘मैले खेलाडीलाई जुन जुन जिम्मेवारी दिएको थिएँ, सबैले न्याय गरे । तर, मौका सदुपयोग हुन सकेन । एउटा गोल खानु नै दुर्भाग्य भयो’–उनले भने ।
फाइनल खेलका म्यान अफ दि म्याच पुरस्कार नगद ५ हजार र हाइस्कोकर(५ गोल) पुरस्कार नगद २५ हजार मनाङ मस्र्याङदीका अफिज ओलावलेले हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै मनाङका गोलकिपर किरण चेम्जोङले यामाहा मोटरसाइकल र वेष्ट किपरको नगद ११ हजार पनि हात पारे । यस्तै, मनाङकै हेमन्त गुरुङले वेष्ट मिडफिल्डर, अनिल गुरुङले वेष्ट स्ट्राइकर र छिरिङ लोप्साङ गुरुङले वेष्ट कोच घोषित हुदै जनही नगद ११ हजार थापे । वेष्ट डिफेन्स भने पुलिसका रक्षक सुरज विक घोषित भए । उनले पनि नगद ११ हजार हात पारे । विजेता एवं उपविजेता खेलाडीहरुलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं राखेपका सदस्य सचिव केशव विष्ट, पुलिसका एआइजी विज्ञानराज शर्मा, बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका प्रशाकीय अधिकृ गंगा कालिकोटेलगायतले ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे