प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु(फोटोफिचर)

धरान । चौथो माउण्टेन स्पोट्र्स फेस्टिवलअन्र्तगत दुई दिने प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ शुक्रबारदेखि धरानमा शुरु भएको छ । पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले पहिलो पटक धरानमा राष्ट्रियस्तरको प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भएको हो ।
शुक्रबार धरान २४, चिण्डे(रमिते) डाँडास्थित टेकअफ् स्थलमा एक समारोहबीच धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले उद्घाटन गरेका थिए । च्याम्पियनसिपमा ४० जना सोलो पाइलट र १० जना टेण्डम पाइलट सहभागी छन् । प्याराग्लाइडिङको ल्याण्डिङस्थल धरान १७ स्थित सर्दु खोला किनारमा बनाइएको छ । रमिते डाँडाबाट उडेका पाइलटहरु त्यहाँ सुरक्षित अवतरण गरेका थिए । एकुरेसी च्याम्पियनसिपमा एक पाइलटले कम्तीमा ३ फ्लाइट(उडान) गर्नुपर्ने हुन्छ । सोही अनुसार शुक्रबार बिहान र दिउसो गरि २ पटक च्याम्पियनसिपमा सहभागी पाइलटहरु उडान गरेका थिए ।
टेण्डम पाइलटहरुले भने उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, बराह ज्वेलर्स इष्ड्रष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर बिक, च्याम्पियनसिपको प्रायोजक एमसि कफी आवरका सञ्चालक पुर्ण राईका बुबा ६३ बर्षी नरबहादुर राई, टेलिभिजन पत्रकार संघका अध्यक्ष सचिन पोख्रेललगायत अतिथिहरुलाई उडाएका थिए । च्याम्पियनसिप हेर्न रमिते डाँडामा मानिसहरुको रमिता लागेको थियो भने स्थानीयले खादा, फुल र अबिरले सबैलाई स्वागत गरेका थिए । तामाङ भेषभुषामा उपस्थित स्थानीयबासीले अतिथिहरुलाई डम्फु बजाउदै कार्यक्रमस्थलसम्म लगेका थिए । पछिल्लो पटक पर्यटकीयस्थलकोरुपमा विकास हुदै गएको यो डाँडाबाट धरानको ९५ प्रतिशतभन्दा बढी भुभागको सुन्दर दृष्य हेर्न सकिन्छ । बिहिबार नै पाइलटहरुले धरान माथिको आकाशमा प्याराग्लाइडिङको टेष्ट फ्लाइट गरेको कारण पनि उडान अवलोक गर्न शुक्रबार धरानबाट हिडेरै थुप्रै मानिसहरु रमिते डाँडासम्म पुगेका थिए ।
च्याम्पियनसिपमा पाइलटहरुलाई ल्याण्डिङ गर्न तोकिएको निश्चित स्थानमा अण्डा राखिएको हुन्छ । उक्त अण्डालाई सही तरिकाले कुल्चेर फुटाउन सक्ने पाइलटलाई पहिलो, दोस्रो र तेस्रो घोषित गरिनेछ । पहिलोले नगद २५, दोस्रोले १५ र तेस्रोले १० हजार, ट्रफी र मेडल पाउनेछन् । च्याम्पियनसिपका सहभागी पाइलटहरुले शनिबार बिहान पनि उडान गर्ने कार्यक्रमका संयोजक लेखमणी जिमीले जानकारी दिए । च्याम्पियनसिप राखेपमा आवद्ध नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघको आयोजना तथा एक्स्ट्रीम धरानको संयोजनमा भएको हो । यसअघि भने माउण्टेन स्पोर्टस्अन्र्तगत साइक्लिङ, र्याफ्टिङ, कायाकिङ च्याम्पियनसिप पोखरामा मात्रै भएको थियो । पहिलो पटक आयोजना भएको प्याराग्लाइडिङ च्याम्पियनसिपलाई धरान १८, बुद्धचोकस्थित एमसि(मंगोलिन कफी) आवरले प्रायोजन गरेको छ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे