आमालाई कुवेत पठाउन नपाउदा दलालले छोरा कुटे



धरान । सुकुम्बासी बस्तीका गरिब महिलाहरुलाई गैरकानुनी तरिकाबाट खाडी मुलुक पठाउने एक दलालले आमालाई लैजान नपाउदा छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको छ । धरान ११ स्थित सुकुम्बास बस्तीकी ३९ बर्षीय भोजकुमारी राईलाई अवैध तरिकाले विदेश लैजानबाट रोक्ने उनका छोरा अमृतलाई दलाल राजेश बिकले मरणासन्न हुने गरी कुटेका हुन् ।
दलाल बिकको आक्रमणबाट अमृतको अनुहार, आँखामा गम्भीर चोट छ भने शरीरको विभिन्न भागमा पनि चोट छ । ‘एमआरपी बनिसकेको’ भन्दै दलाल बिक काठमाण्डौं जाने बसको टिकटसहित सोमबार बिहान भोजकुमारीको घर पुगेका थिए । आमालाई अवैधरुपमा खाडी मुलुक लैजान लागेको सुइको पाएपछि १६ बर्षी छोरा अमृतले टिकट च्यातेर दलाललाई घरबाट धपाएका थिए । त्यही झोकमा दिउसो पसल जादै गरेको बेला दलालले अमृतलाई मरणासन्न हुने गरि कुटे । ‘बिहान टिकट लिएर राजेश घरमा आएको थियो । छोराले कुवेत जान लागेको थाह पाएर टिकट च्यातिदियो । दिउसो त बाटो ढुकेर छोरालाई नै कुटेछ’–इलाका प्रहरी कार्यालयमा जाहेरी दिन आइपुगेकी भोजकुमारीले भनिन्–‘दिल्ली हुदै अवैध तरिकाले कुवेत पठाउन लागेको थाह पाएर म जान्न भनेको थिएँ, बिहान त एमएरपी बनिसक्यो, नगई हुदैन भन्दै दलाल घर आएको थियो ।’
पौरखी नेपालको सहयोगमा पीडितको जाहेरी पछि इलाका प्रहरी कार्यालय धरानले दलाल बिकलाई सोमबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । अमृतले च्यातेको टिकटमा भोजकुमारीको नाम कुमारी लिम्बु उल्लेख भएकोले नागरिकता र एमआरपी नै नक्कली बनाइदिएको हुनसक्ने आशंका छ । छिमेकी कल्पना राईमार्फत भोजकुमारीको भेट करिब दुई साता अघि दलाल राजेशसँग भेट भएको थियो । कुवेत जान खर्च नलाग्ने र मासिक ४० हजार तलब हुने बिकले आश्वासन दिएपछि उनी तयार भइन् । दलाल बिकले नै १३ हजार जति खर्च गरेर उनको एमआरपी र मेडिकल रिपोर्ट पनि तयार गरिदियो । कुवेत उडाउने भन्दै कल्पना र भोजकुमारीलाई चैत १ गते बिकले धरानबाट काठमाण्डौं पठाइदिएका थिए । उनीहरुलाई कोटेश्वरबाट एजेण्ट भनिएकी पुजा राईले लिएर गइन् ।
भोजकुमारी करिब दश बर्षअघि नै ओमनमा २ बर्ष बसेर फर्किएकी थिइन् । त्यसैले काठमाण्डौंबाट सिधै कुवेत उडाए मात्रै जाने अडान लिएपछि एजेण्ट पुजाले नयाँलाई दिल्लीबाट र पुरानो(एक पटक विदेश गइसकेको)लाई सिधै काठमाण्डौंबाट उडाउने आश्वासन दिए । तर वैध बाटोबाट सिधै कुवेत उडाउला भन्नेमा उनी विश्वस्त भइनन् । काठमाण्डौं पुगेको तीन दिन पछि(चैत ४ गते) नै भोजकुमारी घर फर्किइन् । कल्पनालाई पनि घर फर्किउ भन्दा नमानेको उनले बताइन् । ‘मैले दिल्ली हुदै त जान्न भने । पुजाले नयाँलाई मात्रै दिल्लीबाट उडाउने भनेपनि चित्त बुझेन र ४ गते घर फर्किए’–उनले भनिन्–‘राजेशले धरानबाट ५ जना महिलालाई काठमाण्डौं लगेको रहेछ, अरु उतै छन् ।’
वैदेशिक रोजगारबारे सचेतनामुलक अभियान चलाउने पौरखी नेपालकी शाखा अध्यक्ष चेतना श्रेङका अनुसार मेनपावर कम्पनी दर्ता गरेपछि शाखा खोल्न वा एजेण्ट राख्न पनि आधिकारिकरुपमा अनुमति लिएको हुनुपर्छ । तर, पुजा राई र राजेश दुवैले अवैधरुपमा महिला संकलन गरेर दिल्ली हुदै खाडी मुलुकमा मानव तस्करी गरिरहेको उनको दाबी छ । ‘ऐन, कानुनले अन्र्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाहेक अन्य देशको एयरपोर्टबाट वैदेशिक रोजगारीमा पठाउनु गैरकानुनी मानेको छ । राजेशले त आफै पैसा हालेर नागरिकता, एमआरपी, मेडिकल रिपोर्ट निकालिदिनुले पनि गैरकानुनी हो भन्ने प्रष्टै छ, यिनीहरु अवैधरुपमा खाडीमा लगेर महिलालाई बिक्री गर्ने गिरोह नै हो’–उनले भनिन् ।
इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले जाहेरी आएपछि दलाल बिकलाई पक्राउ गरिएको र अवैधरुपमा महिला विदेश पठाउन पुजा राई पनि संलग्न रहेको खुलेपछि भोजकुमारीसहित महिला प्रहरी सोमबार राती नै काठमाण्डौं पठाएको बताए । ‘भोजकुमारीको साथमा महिला प्रहरीलाई राती नै काठमाण्डौं पठाएका छौं, पुजा राई पक्राउ गरेर ल्याएपछि विस्तृत जानकारी दिन्छौं’–प्रहरी निरीक्षक श्रेष्ठे भने ।

श्रीमान्लाई थाहै नदिई विदेश


भोजकुमारीसँगै काठमाण्डौं पुगेकी धरान ११, मकालु वस्तीकी कल्पना राई त आफ्ना श्रीमान्लाई समेत सुइको नदिई विदेशिन लागेकी हुन् । घर निर्माण मजदुरी काम गर्ने उनका श्रीमान् प्रेमकमार घरमा नभएको मौकामा उनी चैत १ गते भोजकुमारीसँग काठमाण्डौं गएकी थिइन् । उनलाई पनि दलाल राजेश बिकले नै धरानबाट टिकट काटेर पठाइदिएका थिए ।
श्रीमान् प्रेमकुमारका अनुसार कल्पनाले घरमा भएको एउटा फ्रिज बिक्री गरेर हिडेकी हुन् । श्रीमतिको नागरिकता आफुसँग सुरक्षित रहेको भन्दै उनले दलालले नै प्रतिलिपी निकालेर एमआरपी पनि बनाइदिएको उनले बताए । ‘मलाई केही थाहै नदिई कुवेत जाने तयारी गरेको रहेछ, चैत १ गते पनि घरको फ्रिज के कतिमा बेचेर हिडेछ’–प्रेमकुमारले भने–‘अहिले काठमाण्डौंमा छ भन्ने सुनेको छुँ ।’ उनले चैत ३ गते प्रहरीमा खोजतलाश गरिपाउ भन्दै निवेदन दिएका थिए । कल्पनासँगै काठमाण्डौं पुगेर फर्किएकी भोजकुमारीलाई लिएर प्रहरीको एक टोली दलाल पुजालाई पक्राउ गर्न र कल्पनालाई फर्काउन सोमबार राती नै काठमाण्डौं पुगिसकेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे