श्रमिक महिला र डाक्टर सम्मानित(फोटोफिचर)


धरान । १०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार धरानको भानुचौकमा आयोजित कार्यक्रममा श्रमिक महिला सीता रोक्का राई र महिलालाई फिस्टुलाको समस्याबाट मुक्त गर्न अभियान चलाइरहेका चिकित्सक डा.मोहनचन्द्र रेग्मी सम्मानित भएका छन् ।
विगत १७ बर्षदेखि घर निर्माण मजदुरी पेशामा रहेकी सीतालाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो भने डाक्टर रेग्मीलाई ताम्रपत्रसहितको साथी अवार्ड प्रदान गरिएको हो । सम्मान र अवार्ड बर्षेनी प्रदान गरिने सह आयोजक महिला सञ्जाल धरानले जनाएको छ । दुवैलाई मुल आयोजक समितिकी अध्यक्ष एवं महिला बालबालिका प्रमुख मेरिना श्रेष्ठ, सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, क्रियाशिल पत्रकार महिलाकी अध्यक्ष सीता मादेम्बालगायतले दोसल्ला, सम्मापत्र प्रदान गरेका थिए ।
सम्मान पाउने श्रमिक महिला १३ बर्षको उमेरदेखि घर निर्माण मजदुरीमा काम शुरु गरेकी थिइन् । माइती परिवार र विवाह पश्चात पनि आफ्नो परिवारलाई उनैले मजदुरी गरेर पाल्दै आएकी छिन् । मेहनत र परिश्रम गर्दै उनी विगत ५ बर्षदेखि राजमिस्त्री भएकी छिन् । अहिले उनी घर बनाउन सेटिङ र बुट्टा भर्ने काम कुशलतापुर्वक गर्छिन् । ज्याला मजदुरीबाट जीवनमा धेरै संघर्ष गर्दै राजमिस्त्री बनेर अन्य महिलाहरुको लागि प्रेरणा बनेकोले सम्मान गरिएको आयोजकको भनाई छ ।
साथी अवार्डबाट सम्मानित डाक्टर रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग बिशेषज्ञ हुन् । उनले विगत ६ बर्षदेखि महिलाहरुमा देखिएको पिसाब चुहिने समस्या(फिस्टुला) रोगको निःशुल्क उपचार अभियान चलाएर धेरै महिलाहरुलाई उक्त रोगबाट मुक्ति दिलाएका छन् । फिस्टुलाको कारणले घरपरिवार र समाजबाटै तिरस्कृत भएका महिलाहरुलाई निःशुल्क उपचार गरेर उनले पुर्नस्थापना पनि गरेका छन् । हालसम्म ३ सयको उनले निःशुल्क शल्यक्रिया गरिसकेका छन् । ‘सम्मान गर्न छनौट समिति गठन गरेका थियौं, उक्त समितिले सम्मान पाउने आधारसहित दुवैको नाम सिफारिश गरेको थियो । सम्मान पाउन दुवै व्यक्तित्व योग्य हुनुहुन्छ’–सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले भनिन् ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे