कसले चुम्ला बुढासुब्बा गोल्डकपको उपाधि ?

धरान । १८ औं बुढासुब्बा रेडबुल गोल्डकपमा उपाधिको लागि आज शनिबार नेपाल पुलिस क्लब र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्बल फाइनलमा भिड्दैछन् । जारी सिजनमा दुई उपाधि जितिसकेको मनाङको आत्मविश्वास वलियो छ र, तेस्रो उपाधि चुम्ने उसको दाउ छ । पुलिसले पनि यसै साता विराट गोल्डकपको विजेता बनेर आफु पुरानै लयमा फर्किदै गरेको संकेत दिएको छ । पुलिस पनि दोस्रो उपाधि हत्याउने दाउमा छ । तर, उपाधि जित्न दुवै टिमलाई निक्कै कठिन हुनेछ ।
दुवै टोली लयमा देखिएको छ । मनाङले यसअघि पोखराको आहा रारा गोल्डकप र हेटौडा गोल्डकपको उपाधि जितेको थियो । पुलिसले पनि यही साता विराट गोल्डकपमा च्याम्पियन बन्दै ०७१ फागुनमा मनकमना गोल्डकप जिते यताको उपाधिविहिन यात्रालाई समाप्त पारेको थियो । मनाङले पहिलो खेलमा भुटानको सिएफसिलाई ८–० र साविक विजेता एपिएफ क्लबलाई ३–२ ले हराउदै फाइनल यात्रा तय गरेको थियो । पुलिसले शेरे क्लब कालिङ्पोङलाई ३–० र सेमीफाइनलमा रुपन्देहीलाई १–० ले हराउदै फाइनल पुगेको थियो । यी दुवै क्लब बुढासुब्बाको फाइनलमा भेट हुनुअघि विराट गोल्डकपको क्वार्टरफाइनलमा भएको थियो । त्यहाँ १–१ को बराबरी भएपछि पुलिसले टाइब्रेकरमा ३–२ गोलअन्तरले मनाङलाई पराजित गरेको थियो । तेस्रो उपाधि उचाल्ने दाउसँगै मनाङ पुलिससँग विराट गोल्डकपमा भएको हारको वदला पनि लिन चाहन्छ । उता, मनाङलाई पनि बुढासुब्बामा सबैभन्दा धेरै पटक उपाधि विजेता बन्ने दाउमा छ ।
बुढासुब्बा गोल्डकपमा थ्री स्टार र पुलिस क्लबले सबैभन्दा धेरै समान ४ पटक उपाधि जितेको टोली हो । पुलिसले यसअघि दोस्रो (०५६), चौथो(०५८), पाँचौं(०५९) र दशौं(०६४) सँस्करणमा च्याम्पियन बनेको थियो । मनाङले भने यसअघि छैटौं(०६०) र तेह्रौं(०६७) मा उपाधि जितेको थियो । बुढासुब्बामा मनाङ र पुलिसको फाइनलमा भेट भएको यो दोस्रो अवसर हो । यसअघि छैटौं(०६०)सँस्करणमा पुलिस र मनाङको भेट भएको थियो । खेलमा मनाङले बाजी मारेको थियो ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ विराट गोल्डकपमा पुलिससँग टाइब्रेकरमा हारेपनि त्यसअघि लगातार दुई उपाधि जितेकोले खेलाडीमा उपाधि जित्छौं भन्ने आत्मविश्वास भएको बताउछन् । मनाङसँग किरण चेम्जोङ, अनिल गुरुङ, विराज मर्हजन, अनन्त तामाङ, हेमन गुरुङ, विशाल राई बि र बिक्रम लामाजस्ता अनुवभी र राष्ट्रिय खेलाडीहरु छन् । जसले राम्रो टिमवर्क बनाएको छ भने नाइजेरियन सिसाको, मोउसा र अफिज ओलावले हुनुको फाइदा पनि छ । ‘हाम्रो टिमवर्क राम्रो छ, दुईटा उपाधि जितिसकेकोले लयमा पनि छौं । खेलाडीहरुमा पनि उत्साह छ’–मनाङका प्रशिक्षक गुरुङले भने–‘खेलाडीहरुमा उत्साह छ, उपाधि जित्नकै लागि आएका हौं, विराट गोल्डकपको वदला लिने मौका पनि हो ।’
क्वार्टर र सेमीफाइनल ५–५–२ को रणनीतिमा खेलेको मनाङले फाइनलमा भने ४–४– २ मा खेल्नेछ । फरवर्डमा अनिल गुरुङ, अफिज ओलावले खेल्नेछ भने मिडमा विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, मोउसा, विश्वसास श्रेष्ठ हुनेछन् । रक्षापंक्तिमा विराज, रवि सिलवाल, अमित तामाङले सम्हाल्नेछन् । अनुभवी र वलियो टिम भएपनि प्रशिक्षक गुरुङले पुलिसलाई कम आँकेका भने छैनन् । ‘पुलिस राम्रो टिम हो, भर्खर विराट गोल्डकप जितेको छ । तर हामीले धेरै मौका पाउछौं र सदुपयोग हुदा जित्छौं भन्ने विश्वास छ’–उनले भने ।
विराट गोल्डकपबाट पुलिसको प्रशिक्षक जिम्मेवारी सम्हालेका क्लबकै पुर्वखेलाडी अनन्तराज थापा पुनः अर्को सुखद पलको नजिक छन् । पुलिसको लामो उपाधिविहिन यात्रा विराट गोल्डकपबाट टुंगिएको थियो । मनाङलाई विराट गोल्डकपमा पनि हराइसकेकोले यहाँ पनि जित्ने पुलिसको आत्मविश्वास छ । ‘मनाङमा धेरै राष्ट्रिय खेलाडी र ३ नाइजेरियन छन् । तर हामी अत्तालिएका छैनौं । विराट गोल्डकपमा हराएकै हो’–उनले भने–‘योजना वनाएर खेल्छौं र जित्छौं ।’ उनका अनुसार फाइनलमा पुलिसको टिम रक्षात्मक खेल्दै काउण्टर अट्याकको रणनीतिमा ४–४–२ अनुसार खल्नेछ । सेमीफाइनलमा पनि यस्तै योजना बनाएर खेल्दा वलियो टिम रुपन्देही ११ लाई हराउन सफल भएको थियो । गोल खादै नखाने तर विपक्षीको पोष्टमा जसरी पनि हान्ने पुलिसको योजना हुन्छ । ‘खेलाडीमा समझदारी र टिममा तलमेल बढेको छ, हामी पनि अहिले लयमा छौं । डिफेन्स वलियो बनाएर गोल मात्रै गर्नेमा ध्यान केन्द्रीत गछौं’–प्रशिक्षक थापाले भने ।
पुलिसको फरवर्डमा अनुभवी खेलाडी जुमानु राईसँगै भरत साह वा सुमन लामामध्ये एक जनाले खेल्नेछ भने मिडफिल्डमा दिनेश गुरुङ, भोला सिलवाल, हेम तामाङ हुनेछन् । यस्तै, सेन्टर डिफेन्समा सुरज बिक र सुमन सुवेदीले सम्हाल्नेछ भने लेफ्टमा रविन श्रेष्ठ र राइट डिफेन्समा अजित भण्डारी हुनेछ । शनिबारको फाइनल खेलमा मौका दुवै टिमले बराबर पाउने भएपनि पहिला जस्ले सदुपयोग गर्छ, त्यही टिम हावी हुने थापाको आँकलन छ । पुलिसका कप्तान जुमानु राईले खेलाडीहरुमा आत्मविश्वास वलियो रहेको बताउदै बुढासुब्बाको ट्रफी चुम्ने आफ्नो चाहना पुरा गर्ने दाबी गरे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे