८ मार्चमा श्रमिक महिला र डाक्टरलाई सम्मान गरिने
धरान । ‘लैंगिक समानताा लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी ’ भन्ने नारासहित ८ मार्च अर्थात १०६ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसमा सुनसरीका विभिन्न संघसंगठनहरुले संयुक्तरुपमा धरानमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्ने भएको छ ।
धरानको भानुचौकमा हुने कार्यक्रममा महिलाहरुको लागि प्रेरणा बनेकी श्रमिक महिला सीता रोक्का राई र महिलाको फिस्टुला रोगको निःशुल्क उपचारलाई अभियानकोरुपमा अघिबढाइरहेका चिकित्सक डा.मोहनचन्द्र रेग्मीलाई सम्मान गरिने सह आयोजक संस्था महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यले बताइन् । आइतबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिदै सञ्जालले श्रमिक महिलालाई नगदसहित सम्मान गरिने जनाएको छ भने डाक्टर रेग्मीलाई सम्मान पत्र प्रदान गरिनेछ । ‘सीता रोक्का राई संघर्ष गर्दै राज मिस्त्री बनेकी छिन्, घर बनाउन सेटिङ र बुट्टा भर्ने काम गर्छिन्, उनी महिलाहरुको लागि प्रेरणाको स्रोत भएकोले सम्मान गर्न लागेका हौं’–अध्यक्ष बज्रचार्यले भनिन्–‘डाक्टर रेग्मीले फिस्टुलाको उपचार निःशुल्क गरेर महिलाहरुलाई धेरै गुन लगाएकोले सम्मान गर्न लागका हौं ।’

लैंगिक हिंसा न्युनिकरण समनवय समितिका संयोजक एवं प्रजिअ मोहन चापागाईको अध्यक्षतामा हुने कार्यक्रमको सह आयोजक सञ्जाल रहेको छ भने सञ्जाल आवद्ध क्रियाशिल पत्रकार महिला समुह कार्यक्रम संयोजक रहेको छ । कार्यक्रमलाई युवा महिला नेतृ रामकुमारी झाक्रीले सम्बोधन गर्नेछिन् । भानुचौकमा खुला सभा हुनुअघि पब्लिक उच्चमाविको मैदानबाट विभिन्न संघसंस्थाको वृहत र्याली निकालिने पत्रकार महिला समुहकी अध्यक्ष सीता मादेम्बाले बताइन् । सञ्जालमा ३३ वटा महिलाजन्य संघसंस्था आवद्ध छन् । कार्यक्रममा धरान, इटहरी र इनरुवाको संघसंस्थाहरु पनि सहभागी हुने आयोजकको भनाई छ । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर शनिबार धरानमा दौडड पनि आयोजना भएको थियो ।
Comments
Post a Comment