साइकले युवालाई बाटैभरी ‘जय नेपाल’


धरान । गएको साता इलामको पशुपतिनगरबाट साइकल गुडाउदै करिब दुई दर्जन नेपाली युवाहरु भारतीय भुमी प्रवेश गरे । साइक्लिङको माध्यमबाट पुर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य बोकेका ती युवाहरु त्यतिबेला चकित परे, जतिबेला बाटैभरि उनीहरुले स्थानीयको सम्मानमा ‘नमस्ते र जय नेपाल’ फर्काउनु पर्यो ।
साइकले युवाहरुको साथमा नेपाली राष्ट्रिय झण्डा पनि थियो । त्यसले उनीहरु नेपाल भएको पहिचान झल्काउथ्यो । नेपालीभाषी बाहुल्य भएको दार्जिलिङ क्षेत्रमा पुुगेपछि बाटोमा हिड्ने जो कोहीले पनि साइकले युवाहरुलाई नमस्ते र जय नेपाल भन्थे । साइकलको प्याडल मार्दै युवाहरु पनि सम्मानपुर्वक जोशिएर त्यही जवाफ दिन्थे । ‘बाटैभरि जसले भेटेपनि नमस्ते र जय नेपाल भन्थे, हामी त छक्क पर्यौं’–धरानका साइक्लिष्ट एवं फोटोग्राफर राजेश शाक्यले अनुभव सुनाए–‘सिक्किम पुगेपछि त झनै राम्रो स्वागत भयो, बाटोभरि पानी बाडिदिए । साइक्लिष्ट भएकोमा त्यतिबेला गौरव महसुस भयो ।’
साइक्लिङको मजा थुप्रै लिइसके पनि उनले यस्तो सुखद अनुभूति यसअघि भने कहिल्यै पाएका थिएनन् । युवाहरु चैत ९ गते धरानबाट प्रस्थान गरेका थिए । टोलीमा धरानका १० सहित काठमाण्डौं, पोखरा, कपिलवस्तु, बुटवल, गोर्खा र इटहरीबाटसमेत गरि २२ जना साइक्लिष्टहरु समावेश थिए । पशुपतिनगरसम्म बसमा पुगेका उनीहरु त्यहाँदेखि भने भारतीय भुमिमा करिब ३ सय २१ किलोमिटर साइकलमा मात्रै यात्रा गरे । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा गएको टोली आइतबार साँझ धरान आइपुगेको थियो । पशुपतिनगर हुदै भारत प्रवेश गरेको टोली दार्जिलिङ, सिंङ्गताम हुदै सिक्किमको राजधानी गान्तोक पुग्यो । त्यहाँबाट पुनः पश्चिम वंगालको सिलगुडी हुदै काकडभिट्टाबाट नेपाल आएको हो ।
सिक्किममा साइक्लिष्ट टोलीलाई सिक्किम सरकारको पर्यटन सचिव सेवङ जङ्पो भुटियाले स्वागत गरेका थिए । उनीसँगको अन्र्तक्रियामा साइक्लिष्टहरुले चारधाम दर्शन गर्न जादा मल्ली भन्ने स्थानमा नेपालीहरुको पासपोर्ट राख्ने गरेको बिषयलाई प्रमुखताका साथ उठाएको विश्व साइकल यात्री पुष्कर शाहले जानकारी दिए । ‘यात्राकै क्रममा हामीले के थाह पायौं भने चारधाम जाने नेपालीको पासपोर्ट नै राखिदो रहेछ, यो बिषय उठाएपछि पर्यटन सचिवले म बुझ्छु भन्नुभयो । यो बिषय राष्ट्रियतासँग पनि गासिएको छ, सिक्किम सरकारको पर्यटन सचिवसम्म पुर्याउन सक्यौं’–उनले भने–‘सिक्किम पुरै अग्र्यानिक राज्य रहेछ, नेपालमा त सिक्किमको भन्दा पनि धेरै राम्रो अग्र्यानिक खेती हुन्छ रे । हामीले त्यहाँबाट थुप्रै सिक्न सक्ने रहेछौं ।’
साइकल एक्स्पीडिशन २०१६ नाम दिएको साइकल यात्रा धराने युवाहरुले गत बर्षदेखि शुरु गरेका हुन् । धराने युवाहरु साइकल सिटी अभियानसँगै पुर्वमा साहसिक खेल पर्यटनको प्रर्वद्धनमा पनि सक्रिय छन् । सिक्किममा अन्र्तक्रियामा धरानसँगै पुर्वको पर्यटन गन्तव्यबारे टोलीले जानकारी दिदै एकअर्कामा समन्वय गरेर घुम्न पठाउनेबारे पनि छलफल भएको थियो । ‘हामी प्रकृतिसँग रमाएर हिड्ने मान्छे, आनन्द त त्यसैपनि लुटिहाल्यांै, सँगसँगै हामीले पर्यटन प्रर्वद्धन पनि गर्यौ’–साइक्लिङ धरानका अध्यक्ष प्रमोद शाक्यले भने । टक्स माउण्टेन बाइकका प्रबन्ध निर्देशक कृष्ण केसीका अनुसार साइक्लिङले पर्यटन प्रर्वद्धनसँगै जनस्तरमा नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गरेको छ । आगामी बर्षहरुमा अझ संख्या बढाएर यो अभियानलाई निरन्तरता दिइने उनले बताए ।
सिक्किम पुगेर फर्किएका साइक्लिष्टहरुको सम्मानमा आयोजित समारोहमा साइक्लिङ धरानले भुकम्पमा परि क्षतिग्रस्त दोलखाको विद्यालय पुर्ननिर्माणको लागि नगद २१ ह्जार सहयोगसमेत गरेको छ । साइक्लिङ धरानका अध्यक्ष शाक्यले विश्व साइकल यात्री शाहलाई चेक हस्तान्तरण गरेका थिए । दोलखा शाहको गृहजिल्ला हो । शाहका अनुसार भुकम्पबाट उनी पढेको विद्यालय क्षतिग्रस्त छ । यो सहयोग त्यही विद्यालय पुर्ननिर्माणको लागि खर्च गर्ने उनले बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे