उपमहानगरपालिकाको कामप्रति सेवाग्राही असन्तुष्ट


धरान । धरान उपमहानगरपालिका कार्यालयको सेवा तथा कामप्रति सेवाग्राही जनता पुर्णरुपमा सन्तुष्ट हुन नसकेको एक सर्वेक्षणले देखाएको छ । धरान २३ पानवारीमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको सर्वेक्षण प्रतिवेदनमा अधिकांश सेवाग्राहीले उपमहानगरपालिका कार्यालयको काम तथा सेवालाई ‘ठिकै’ भन्ने जवाफ दिएको उल्लेख छ ।
गत माघमा अभियान नेपाल नामक संस्थाले उपमहानगरपालिका कार्यालयमा सेवा लिन आएका सेवाग्राहीमध्ये ५० जनालाई नमुनाकोरुपमा सहभागी गराएर सर्वेक्षण लिएको हो । उक्त सर्वेक्षणको प्रतिवेदन संस्थाले शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरेको थियो । जनताको घरआगनसम्मै पुगेर कार्यालयको काम तथा सेवाप्रति जनगुनासो सुन्ने उद्देश्यले उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जालको व्यवस्थापनमा सार्वजनिक सुनुवाई धरान २३ पानवारी(साविक पाँचकन्या गाविस)मा आयोजना गरिएको थियो ।
कार्यालयबाट पाउने सेवाप्रति २० प्रतिशतले मात्रै सन्तुष्ट भएको र ८० प्रतिशतले ठिकै भएको जवाफ दिएका छन् भने कर्मचारीको व्यावहारप्रति पनि २० प्रतिशत सन्तुष्ट देखिएका छन् भने ८० प्रतिशतले ठिकै भनेका छन् । यस्तै, सर्वेक्षणले उपमहानगरपालिका कार्यालयबाट योजनाहरुको जाँचपास गर्दा प्राविधिकहरुले अतिरिक्त रकम लिने गरेको गम्भीर तथ्य पनि उजागर गरेको छ । सर्वेमा सहभागी ५० जनामध्ये ३० जना(६० प्रतिशत)ले प्राविधिकलाई रकम दिनु नपर्ने बताए पनि १४ जना अर्थात २८ प्रतिशतले मागेरै लिने गरेको बताएका छन् भने ६ जना(१२ प्रतिशत)ले त रकम नदिए अफ्ठ्यारो पार्ने गरेको तथ्य खुलाएका छन् ।
यसैगरि, योजनाको विल भुक्तानी दिने व्यावस्थाबारे १० जना(२०) प्रतिशतले मात्र सहज भनेका छन् भने ३४ जना(६८ प्रतिशत)ले ठिकै र ६ जना(१२ प्रतिशत) सेवाग्राहीले अफ्ठ्यारो भनेका छन् । यस्तै, सेवाप्रदायक कर्मचारीले गर्ने व्यावहारमा ३० प्रतिशत(१५ जना)ले मात्रै मिलनसार मैत्रीपुर्ण व्यावहार गरेको भनेका छन् भने ६४ प्रतिशत(३१ जना)ले ठिकै र ६ प्रतिशत(३ जना)ले अभद्र अमर्यादित व्यावहार गरेको गुनासो गरेका छन् । नियमितरुपमा भइरहेको सार्वजनिक सुनुवाईमा गरिएका प्रतिवद्धता कार्यान्वयन भए नभएको सन्दर्भमा २१ जना(४२ प्रतिशत)ले ठिकै र २९ जना(५८ प्रतिशत)ले कम भएको बताएका छन् । ‘यो प्रतिवेदनले उपमहानगरपालिकाले दिने सेवामा धेरै सुधार गर्नुपर्ने गम्भीर कुराहरु औल्याएको छ, उपमहानगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरुसँगको प्रत्यक्ष कुराकानीबाट आएको निष्कर्ष हो’–प्रतिवेदन प्रस्तोता देवराज कार्कीले भने ।
शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा पनि कार्यालयको सेवा तथा कामप्रति सेवाग्राही जनताहरुले धेरै गुनासो पोखेका थिए । अधिकांश सेवाग्राहीले गत बैशाखको भुकम्प पछि घर बनाउन लागु गरिएको २० फिट बाटो छोड्नु पर्ने नयाँ मापदण्डले आफुहरु मर्कामा परेको बताएका थिए । यस्तै, पानवारीबासीहरुले विजुली विल तिर्न धरान बजार धाउनुपर्ने, धरान बजार आउन एक घण्टा बस कुर्न बाध्य हुनु परेकोले नगरबस चलाउनुपर्नेजस्ता मागहरु राखेका थिए । जनगुनासोहरुको कार्यकारी अधिकृत टिकादत्त राई, प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, योजना प्रमुख इञ्जिनियर सुरज श्रेष्ठलगायतले जवाफ दिएका थिए ।
घरनक्सा एवं सडकको नयाँ मापदण्डअनुसार २० फुट बाटो छोड्नुपर्ने मापदण्ड सरकारको निर्देशन अनुसार लागु भएको इञ्जिनियर श्रेष्ठले प्रष्ट्याएका थिए । तर, पहिल्यै १४ फिट बाटो कायम भएर घर निर्माण भइसकेको भए नयाँ मापदण्डले नछुने पनि खुलाए । घर घडेरी हतारमा खरीद गर्नुअघि नगरपालिका वा सरकारको नीति, नियमबारे राम्रोसँग बुझ्न पनि उनले सेवाग्राहीहरुलाई आग्रह गरेका थिए । कार्यकारी अधिकृत राईले विगतको सार्वजनिक सुनुवाई पछि कर्मचारी बैठक राखेर कमीकमजोरीहरु सुधार्ने प्रयास गरिएको खुलाउदै निरन्तर पहल हुने बताए । ‘पहिला पनि जनगुनासो थुप्रै आएको थियो, सार्वजनिक सुनुवाई लगत्तै वैठक बसेर कमीकमजोरी सुधार्ने पहल भएको थियो । यहाँ उठेका गुनासो, हाम्रो कमीकमजोरीहरुलाई अझै सुधार गर्दै परिष्कार गर्दै जानेछौं’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे