विश्व एक परिवार


करिब ३६ घण्टा पट्यार लाग्दो रेलको यात्रा पछि भारतको दिल्लीस्थित आनन्द विहार स्टेशनमा उत्रदा ज्यानलाई सञ्चो भयो । रेलको डिब्बाबाट उत्रिएर एक ठाउँ भेला हुदै गर्दा कतिपयको हातमा नेपाली राष्ट्रिय झण्डा फहराई रहेको थियो । चन्द्र सुर्य अंकित झण्डा देखेपछि मनभित्र राष्ट्रियताको तरंग फैलियो । तीन दिनको रेल यात्राले ओइलाएको सबैको मुहारमा उमंग छाएको प्रष्टै थियो । सबैमा एक प्रकारको छुट्टै जोश थियो ।
मार्च ९ को मध्यरात करिब १२ बजे जोगवनीबाट सिमाञ्चल सुपर फस्ट एक्सप्रेस चढेका थियौं । रेल निर्धारित समय भन्दा ४ घण्टा ढिला गरि आएको थियो । रेल नाम मात्रैको सुपर फस्ट । घरि घरि त धरानको सडकमा ब्याट्रीबाट चल्ने सिटी सफारी भन्दा पनि सुस्त गति थियो । द आर्ट लिभिङ नामको संस्था स्थापनाको ३५ औं बर्ष पुगेको अवसरमा आयोजित विश्व साँस्कृतिक महोत्सवमा सहभागी हुन दिल्ली गएका थियौं । यो संस्था आध्यात्मिक गुरु श्री श्री रवि शंकरले सन् १९८१ मा स्थापना गरेका हुन् । महोत्सवको मिति मार्च ११ देखि १४ तारिख । रेलको सुस्त गतिले ११ तारिख बिहान ९ बजेतिर मात्रै आनन्द विहार स्टेशनमा उत्रियौं ।
महोत्सवमा नेपालको पनि लोक सँस्कृति देखाउने कार्यक्रम थियो । महोत्सवमा सहभागी हुन धरानबाट पत्रकार मित्र सन्तोष काफ्ले र म थियौं । अरु संस्थाका सदस्य, कोही साँस्कृतिक टोलीका कलाकार । धरान, इटहरी, विराटनगर, उर्लाबारी, विर्तामोड, इलाम लगायत ठाउँबाट जोगवनी नाका हुदै जानेको संख्या ७० को हाराहारीमा थियो । उत्तर प्रदेशको नोइडा सिटिको सेक्टर ५० मा बस्ने व्यवस्था रहेछ । आनन्द विहार स्टेशनबाट गाडी रिजर्ब गरेर पुगियो ।
हामी बस्ने होटलको नाम नित्याज रेसिडेन्सी । नुहाई सकेर खाना खायौं । आयोजकको आग्रह अनुसार नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजियौं । सबैलाई कार्यक्रमस्थलमा पुग्न हतारो थियो । कलाकारको टोली त हामीले खाना खानुअघि नै महोत्सवस्थलतर्फ हिडिसकेछ । झण्डै डेढ सय मुलुकका मानिसहरु एकै ठाउँमा भेला हुने । फरक भुगोल, फरक सँस्कृति अनि फरक भाषाका मानिसहरु एकै ठाउँमा उभिदा कस्तो होला ? मन रोमाञ्चित भइरहेको थियो । आयोजकले तीन दिनमा ३५ लाख सहभागी हुने दाबी गरेको थियो ।
महोत्सवको तयारी दिल्लीस्थित यमुना नदी किनारमा थियो । नदीमा प्रदुषण बढाउने भन्दै वातावरणवादी र भारतीय मिडियाले आलोचना गरिरहे पनि सबैलाई महोत्सवको ब्यग्र प्रतिक्षा थियो । हामीलाई लिन आउने गाडी पनि निक्कै ढिला गर्यो । समय कटाउन घरि टिभी हेर्दै, घरि फोटो सेसन गर्दै बस्यौं । पत्रकार मित्र गोपाल कामतले सन्तोष र मलाई मिडियाको कार्ड दिएका थिए । हामी स्टेज नजिकसम्म पुग्न सक्थ्यौं । गाडी त आयो, तर सन्तोष, मसँगै दर्जन जति अटाएनौं । अर्को बस लिन आउछ भनेको पनि जाममा फसेर घण्टौं बित्यो । असिना पानी पनि पर्यो । दिल्लीमा असिना परेको देखेर होटलका मेनेजरले पनि अचम्म माने । महोत्सव बेलुकी ५ बजे उद्घाटन हुदै थियो । त्यतिबेलासम्म पनि हिड्न पाएनौं । ज्यादै नमिठो लाग्यो ।
होटलबाट गाडी रिजर्ब गरेर गेट नम्बर ३ पुग्दा रात परिसकेको थियो । कार्यक्रम शुरु भइसकेछ । भित्र प्रवेश गर्दा गर्दै मानिसहरुको हुलमा अरु साथीहरु कता विलाए । म र सन्तोषमात्र सँगै थियौं । गेटबाट महोत्सवस्थलसम्मको बाटो हिलाम्मे थियो । महोत्सवस्थलमा विछ्याएको कार्पेटमा पनि पानी र हिलो । बर्षातले विथोलिएर होला, सुरक्षा जाँच भएन । मान्छेहरुको ओहोर दोहोरले एकछिन उभिनै नसक्ने । भिडमा च्यापिदै, हिलोमा लडिएला कि भनेर जोगिदै, ठेलिदै स्टेज भएतिर अघि बढ्यौ । बाफ रे बाफ ! यता मान्छे, उता मान्छे । हुरी र असिना पानीमा रुझ्दै भएपनि मानिसहरु महोत्सवमा ओइरिएका छन् । विभिन्न देशका आगन्तुकहरु खाल खालको पहिरनमा । विश्व सँस्कृतिको महाकुम्भ । अनुपम, अद्भुत दृष्य । ठेलमठेल हुदै गर्दा मलाई हेर्दै एक जना विदेशीले उसको साथीलाई भन्यो, ‘नेपाली फोल्क ड्रेस ।’ दौरा सुरुवाल र ढाका टोपी देखेर उसले नेपाली भनेर चिन्यो । गर्व महसुस भयो । मैले मुस्कुराई दिए । कुराकानी हुनै पाएन, ऊ पनि भिडमा हरायो ।
 एक सय एकड जमिनमा महोत्सव हुदै थियो । स्टेज मात्र ७ एकड जमिनमा बनिएको । प्याराफिट स्वरुपमा बनाइएको भव्य छ । स्टेजलाई जमिन मुनि फाउण्डेशन राखिएको छैन । त्यत्रो स्टेज जमिन माथि नै अडिएको । यसको डिजाइन नितिन चन्द्रकान्त देसाई र उनको टिमले गरेको रहेछ । साह्रै तारिफ योग्य काम । जमिनमा पनि सबैलाई बस्न कुर्सी राखिएको । कुर्सी लाखांैको संख्यामा छ । स्टेजमा श्री श्री रवि शंकरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा पनि थिए । केन्द्र र राज्य सरकारका मन्त्रीहरु सबै छन् । विश्वका विभिन्न मुलुकबाट आमन्त्रित पाहुना पनि । भिडमा कता पुग्यौ कता । मिडियालाई छुट्याएको स्थानसम्म पुग्नै सकिएन । स्टेज र सर्वसाधारणबीचको सुरक्षा घेरासम्म पुग्यौं । सबैभन्दा अघिल्तिर राष्ट्रिय झण्डासहित नेपाली टोली पो कुर्सीमा रहेछन् । अन्य देशका झण्डा भन्दा नेपालको आकार अलग्ग छ । थुप्रै नेपाली झण्डा फरफराई रहेको देख्न पाउदा खुशीको सिमा थिएन । महोत्सवमा नेपालको प्रस्तुती भने तेस्रो(अन्तिम )दिनमा थियो ।
स्टेजमा एकै पटक सत्र सय कलाकारहरुले दक्षिण भारतको सँस्कृति ‘भरत नाट्यम’ प्रस्तुत गरे । लगत्तै, आर्ट अफ लिभिङका ८ हजार ५ सय कलाकारहरुको ग्राण्ड अर्केष्ट्रा । कति भव्य र सभ्य प्रस्तुती । केही क्षण अघिको सारा तनाव बिर्साइदिने । यतिको संख्यामा कलाकारहरु कसरी जुटे होलान् ? रिहर्सल गर्न कति गाह्रो भयो होला ? त्यसपछि, अर्जेन्टिनाकी चर्चित गायिका प्याट्रिसिया सोसा र ५ सय बढी कलाकारहरुले ल्याटिन अमेरिकी सँस्कृतिलाई विश्व सामु पस्किए ।
विश्व एक परिवार( वसुदैव कुटुम्बकम) महोत्सवको नारा । श्री श्री रवि शंकरलाई उनका चेलाहरुले गुरु जी भन्छन् । उनले निक्कै राम्रा कुरा गरे । विश्व एक परिवार बनोस् भन्ने सपनालाई महोत्सवले साकार बनाएको बताए । आध्यात्मिक बाटोबाट मात्रै मनभित्र शान्ति, आनन्द पाउन सकिने । त्यही आध्यात्मको लहर बोकेर हिड्न सबै एक ठाउँमा भेला भएको पनि भने । ‘यो आध्यात्मिक घर हो, जो जो जहाँबाट आउनु भएको छ सबैलाई आफ्नो घरमा स्वागत छ । फरक देश, फरक भेष, फरक सँस्कृति तर एउटा घर’–उनले भने । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पनि मञ्चको उपयोग गर्दै राम्रो मन्तव्य दिए । भारतले विश्व सामु बुद्ध भारतमा जन्मिएको भन्दै भ्रम फैलाइ रहन्छ । मन्त्री थापाले भारतीय प्रधानमन्त्री र विश्वभरबाट आएका लाखौं मानिस सामु ‘नेपाल बुद्ध जन्मिएको देश’ भन्दा नेपाली टोलीले जोशिएर झण्डा हल्लाउदै परर ताली बजाए । अरुले पनि साथ दिए । गर्वले छाती ढक्क फुल्यो ।
बुल्गेरियाका २ सय कलारकारहरुले होरो नृत्य प्रस्तुत गरे भने केरलाका १ हजार ३ सय १० नर्तकीहरुले शास्त्रीय नृत्य मोहिनीअटम, एक हजार कलाकारले हिमांचल प्रदेशको सास्ँकृति नाटी लोक नृतय, रसियाको ३० कलाकारले कोइर सुन्दरढंगले पस्किए । यस्तै, वाका वाका भन्दै ड्रम सहित स्टेजमा आएका ४ सय कलाकारहरुले अफ्रिकन गीत र नृत्यसहित अफ्रिकाको सँस्कृति, ब्राजिलको बोनिटालगायत विभिन्न देशको सँस्कृति क्रमैसँग प्रस्तुत भयो । सँस्कृतिको माध्यमबाट सारा विश्वलाई एकै स्थानमा नियालिरहेका थियौं । दुर्लभ अवसर मिलिरहेको थियो ।
.................................................

महोत्सव साँझ ५ बजे मात्रै शुरु हुने । मार्च १२ र १३ तारिख बिहान र दिउसोको खाली समय दिल्ली र अगरा घुमघाममा बित्यो । सन्तोष जी, धरानका जनक खड्का दाई, दिनेश तुलाधार, विनिता भाउजु, विर्तामोडका आयुस ढुंगानालगायत एउटा समुह बनाएर घुम्न निस्कियौं । लोटस टेम्पल, इण्डिया गेट, अक्षरधाम, अगराको लाल किल्ला र विश्वको सातौं आश्चर्य ताज महल हाम्रो गन्तव्य । जता पुगे पनि हजारौंको संख्यामा देश विदेशबाट पर्यटकहरु पुगेका छन् । साँस्कृतिक महोत्सवमा सहभागी हुन आएका विभिन्न देशका मानिसहरु पनि त्यतै भेटिने । तीन दिनमा एक नेपालीले सरदर १० हजार भारु खर्च गरे । महोत्सवमा लाखांैको संख्या आएका अन्य विदेशी पर्यटकले कति खर्च गरे होलान् ?
पर्यटक घुमाउन गाइडहरुलाई फर्सद छैन, कमाई पनि राम्रो हुदो रहेछ । ती गन्तव्य नजिकैको होटल रेष्टुरेष्ट, गिप्mट पसल र अन्य विभिन्न व्यापार पनि पर्यटकले नै धानेको छ । पर्यटक बोक्ने ट्याक्सी, फोटो खिचिदिएर मोवाइल नम्बर मागेर लैजाने र गेटमा कुरेर बस्नेले पनि मनग्ये कमाएका छन् । कतिसम्म भने ताज महलमा मुख्य गेटबाट भित्र १ किलोमिटर बाटोमा पनि पर्यटकलाई हिड्न नदिई साना गाडी वा उठले तान्ने सवारीमा चढाएर कमाएका छन् । आगराको लालकिला भित्र साना लोखर्के छन् । केहीले पर्यटकको हातमा थोरै चारो हालिदिन्छन्, लोखर्के पर्यटकको हातमा एक छिन आउछ । त्यति चारो हालिदिएको पनि भारु १० रुपैया लिन्छन् । हामी बसेको होटल मेनेजरले रिजर्ब गाडीको व्यवस्था गरेवापत चालकबाट कमिशन पाउछन् । त्यहाँका मानिसले पर्यटनलाई राम्ररी बुझेका छन् । पर्यटकलाई राम्रो बोली, व्यावहार गर्दा पैसा खर्च गरेर जान्छन् भन्ने उनीहरुलाई राम्ररी थाह छ । यस्तो पर्यटनमैत्री सँस्कार नेपालीलाई पनि अनुकरणीय छ ।
..............................................................

नेपालको सँस्कृतिको प्रस्तुती अन्तिम दिन अर्थात मार्च १३ मा थियो । नेपालका एक सय २५ कलाकारको टोलीले विभिन्न जातजातिको मौलिक सँस्कृति देखाउने तयारी थियो । कलाकारहरु कोही पनि व्यावसायिक छैनन् । उद्घोषकले नेपाली टोलीलाई प्रस्तुतको लागि बोलायो । भव्य स्टेज, लाखौंको नजरले हेरिरहेको । विश्व सामु नेपाली सँस्कृति प्रस्तुत हुदै थियो । सम्झदा पनि गौरवको क्षण ।
सबैभन्दा शुरुमा हिमाली जाति शेर्पाहरुको लोक भाकाको संगीतमा नेपाली कलाकारहरु सबै नाच्न थाले । नेवारी, झागड, राई र गुरुङ पोशाकमा रहेका कलाकारहरु पनि संगीतको तालमा लहरै नाचे । स्टेजमा यता र उता गर्दै ठुलो राष्ट्रिय झण्डा दौडिरह्यो । नेपालको झण्डा नै महोत्सवमा देखिएकोमध्ये ठुलो थियो । मैदानमा कुर्सीमा बसेका नेपालीहरुले पनि जोशिदै राष्ट्रिय झण्डा हल्लाई रहे । शेर्पा पछि नेवारी, झगड, राईको साकेला र अन्तिममा पश्चिमका गुरुङ जातिको कौडा नृत्य क्रमशः प्रस्तुत भयो । गीतको शब्द थिएन, सबै संगीतको धुनमा मात्रै प्रस्तुती रह्यो ।
कलाकारले नृत्य प्रस्तुत गरिरहदा स्टेजमा झण्डा लिएर यता उता दौडिरहने करियोग्राफर श्रेष्ठ थिए । उनको २५ बर्षे कला क्षेत्रको यात्रामा यो कार्यक्रमजस्तो भव्य कुनै भएन । स्टेजमा सबै भन्दा ठुलो झण्डा बोकिरहदा उनको दिमागमा केही कुरा खेलेन, मात्र देश(नेपाल) सम्झिए रे । महोत्सवमा सहभागी १ सय ५५ देशका लाखौं मान्छे सामु नेपाली सँस्कृतिको पहिचान गराउन सकेको क्षण अविष्मरणीय रहेको उनले सुनाए । अन्य कलाकारहरु पनि उधुमै खुशी छन् । नेपालको प्रस्तुती पछि कलाकारहरुसँग विदेशीहरु फोटो खिच्न लालयित बने । नेपाली झण्डाले पनि विदेशीलाई आकर्षित गर्यो । उनीहरुले कलाकारसँग भएको नेपाली राष्ट्रिय झण्डा बोकेर फोटो खिचेको खिच्यै ।
नेपालको प्रस्तुती अघि र पछि पनि न्युजिल्याण्ड, जर्मनी, जापान, पाकिस्तान, इण्डोनेसिया, श्रीलंका, मंगोलियालगायत विभिन्न देशका कलाकारले सँस्कृति देखाए । अन्त्यमा, ८ हजार ५ सय कलाकारको ग्राण्ड अर्केष्ट्रा प्रस्तुतीसँगै महोत्सव सकियो । तीन दिनमा ३७ हजार कलाकारहरुले प्रस्तुती देखाए । विश्व कला र सँस्कृतिको अद्भुत संगम । सँस्कृतिको माध्यमले विश्वलाई भावनात्मक एकताको सुत्रमा बाध्ने पहल । विश्वमा शान्ति, प्रेम, भातृत्व र सद्भावको सन्देश छर्न पनि महोत्सव सफल भयो । ‘वशुदैव कुटुम्बकम’लाई संसारभर पुर्याउन सक्यो । महोत्सव आर्ट अफ लिभिङले आयोजना गरेपनि यसको प्रत्यक्ष लाभ भने भारतलाई भयो, त्यहाँको पर्यटन उद्योगलाई भयो । विश्वभरबाट आएका सहभागीहरु दिनभर घुम्थे र साँझमा महोत्सवस्थल पुग्थे । नेपालमा पनि यस्तै केही भव्य कार्यक्रम गर्न सके भुकम्पपछि थलिएको पर्यटन उद्योग पुनः उठ्ने थियो ।

................................................................................................................................
                                         श्री श्री रवि शंकर
                         संस्थापक, द आर्ट अफ लिभिङ
 ः मानव जातिलाई एक सुत्रमा बाध्ने पाँच वटा क्षेत्र छ । खेलकुद, कला, विचार, व्यापार र आध्यात्म । विश्व एक परिवार होस् भन्ने सपना देखेका थियौं, साकार हुदैछ भन्ने लाग्छ । वसुदैव कुटुम्बकम, हामी सबै एक छौं । भनाई र गराईमा कुनै अन्तर नहोस् । मनभित्र आनन्द, चैन मिलोस् । त्यसको लागि आध्यात्म चाहिन्छ । मान्छेले आफुभित्र मनन् गर्नुपर्छ, जो मसँग त्यही सबै ठाउँमा छ । यो खुशीको लहर, आध्यात्मको लहरलाई लिएर हिड्नुपर्छ । तपाई जति समाजलाई प्रेम बाड्नुहुन्छ, त्यसको वदलामा सय गुणा बढी फिर्ता पाउनुहुन्छ ।
मलाई यो कार्यक्रम गरिरहदा मान्छेहरुले भने, यो त गुरु जीको प्राइभेट पार्टी हो । विल्कुल ठिक भने, किनभने पुरा संसार मेरो परिवार हो । वसुदैव कुटुम्बकम । आफ्नो लागि केही चाहिदैन भने सबैथोक आप्mनो हुन्छ, संसार आफ्नो हुन्छ । जीवन संघर्ष हो, त्यसलाई उत्सवमा वदल्नु एक कला हो । तपाईहरुले उत्सवलाई रंग दिइरहनु भएको छ ।
.....................
                                 भुवनदास श्रेष्ठ, नेपाली नृत्य निर्देशक
ः जब स्टेजमा हाम्रो प्रस्तुती हुदै थियो, म त केही सोच्नै सकिन । राष्ट्रिय झण्डा बोकेर स्टेजमा हल्दाउदै मैले त मात्र देश नेपाल सम्झिए । मेरो २५ बर्षे क्यारियरमा मानिसहरुको यतिको मास कहिल्यै देखेको थिइन । यस्तो भव्य कार्यक्रममा नेपाल र नेपाली सँस्कृतिलाई देखाउन पायौ, पहिचान गरायौं, ज्यादै भाग्यमानी ठान्छु आफुलाई । त्यो क्षण गौरवपुर्ण थियो
.....................................................

                                           सम्झना सुब्बा, कलाकार
ः म राई जातिको ड्रेसमा थिए । राई जातिको साकेला नृत्य पनि देखाउनु थियो । त्यत्रो ठुलो कार्यक्रममा सारा विश्वको सामु सँस्कृति देखाउन पायौं, म कलाकारकोरुपमा थिए, आफुलाई निक्कै भाग्यमानी महसुस गरे । नृत्य गरिसकेर फर्कदा नेपालको झण्डा देखेर विदेशीहरु फोटो खिच्छु भन्दै आउथे । हाम्रो झण्डा अरुको भन्दा ठुलो र अलग थियो । फिलिपिन्स, जापानिज, मलेसियन, अफ्रिकन, मंगोलिया थुप्रै देशका मानिसहरुले नेपाली राष्ट्रिय झण्डा बोकेर फोटो खिचे ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे