किताब प्रर्दशनीमा धरान बिशेष कार्यक्रम हुने
धरान । बैशाख पहिलो साता विराटनगरमा हुन लागेको दश दिने ‘किताबसँग रंगहरु’ शिर्षकको पुस्तक प्रर्दशनीमा एक दिन धरान बिशेष कार्यक्रम हुने भएको छ । प्रर्दशनीलाई सफल बनाउन धरान १८ स्थित विमल स्मृति पुस्तकालयमा आयोजित छलफलमा आयोजक तथा धराने लेखक, साहित्यकारहरुबीच यस्तो समझदारी बनेको हो । धरान बिशेष कार्यक्रमको संयोजन विमल स्मृति पुस्तकालयलाई जिम्मेवारी दिइएको छ ।
घोष्ट राइटिङ प्रालिले बैंशाख ३ देखि १३ गतेसम्म विराटनगरमा प्रर्दशनी गर्दैछ । उक्त प्रर्दशनीमा पुस्तक किनबेच मात्रै नभई कला प्रर्दशनी, साहित्यिक गोष्ठी, नाटक प्रस्तुतीलगायत विभिन्न गतिविधिहरु हुनेछन् । ‘एक दिन धरान बिशेष कार्यक्रम हुन्छ । त्यसदिन धरानको कला, साहित्य, सँस्कृति पस्किने कार्यक्रम हुन्छ’–वरिष्ठ साहित्यकार अनिल पौडेलले भने । छलफलमा धराने साहित्यकारहरुले धरान बिशेष कार्यक्रम राख्न प्रस्ताव गरेपछि आयोजकले सहर्ष स्वीकार गरेको थियो । आयोजकका अनुसार अन्य दिन भने पुर्वभरिका कला, साहित्यको प्रस्तुती रहनेछ । शुक्रबार र शनिबार झापा, मोरङ, सुनसरीका विभिन्न स्थानका लेखक, साहित्यकारहरुसँग आयोजकले अन्र्तक्रिया गरेको थियो ।

प्रर्दशनीमा एक सय १० भन्दा बढी प्रकाशन गृहका पुस्तकहरु राखिनेछन् भने चित्रकला, मुर्तिकला, फोटो प्रर्दशनी, नाटक, साहित्यिक गोष्ठी पनि एक साथ सञ्चालनमा हुने ढकालको भनाई छ । ती सबै प्रस्तुतीहरु पुर्वका कलाकार, साहित्यकारहरुबाट नै हुनेछ । ‘एउटा ब्लकमा किताब हुन्छ, अर्को ब्लकमा चित्रकला, अर्कोमा मुर्ति, फोटो प्रर्दशनी हुन्छ भने साहित्यिक गोष्ठी र नाटक पनि देखाइरहेको हुन्छ’–उनले भने–‘यो कार्यक्रम पुर्वकै श्रष्टाहरुको मात्र कार्यक्रम हो, पुर्वकै कला, साहित्यको केन्द्र बन्नेछ ।’ दश दिनअवधिभर एक लाख बढीले सहभागीता जनाउने आयोजकको अपेक्षा छ । पुर्वको विराटनगरबाट शुरु हुने प्रर्दशनी पछि पोखरा, नेपालगञ्जमा पनि आयोजना हुनेछ ।
Comments
Post a Comment