डढेलोले ९ सय हेक्टर जंगलमा क्षति


धरान । दुई उपमहानगर धरान र इटहरीको बीचमा अवस्थित चारकोसे जंगलमा अनियन्त्रितरुपमा लागेको डढेलोले करिब ९ सय हेक्टर वनक्षेत्रलाई क्षति गरेको छ । करिब एक साता यता निरन्तर लागेको डढेलोबाट पुर्ण क्षतिको विवरण आइनसके पनि जिल्ला वन कार्यालयले करिब ९ सय हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको अनुमान गरेको हो ।
वनमा आगो कसरी सल्कियो भन्नेमा सरोकार निकायहरु अन्यौलमा रहेपनि उपभोक्ताहरु भने धरान उपमहानगरपालिकाले वन क्षेत्रमा फल्ने गरेको फोहोरको थुप्रोबाट आगो सल्किएको बताउछन् । धरान उपमहानगरले धरान १५ स्थित बाँझगरा सामुदायिक वन क्षेत्रमा पर्ने सेउती खोला किनारमा दैनिकरुपमा उठेको फोहोर फाल्ने गर्छ । त्यही फोहोरमा कवाडी संकलन गर्न आउनेहरुले आगो लगाउने र सुख्खा मौसममा त्यही आगो पातपतिंगरमा सल्किएर वनक्षेत्रमा डढेलो लागेको उपभोक्ताहरुको आरोप छ ।
शुक्रबार धरान उपमहानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पनि उपभोक्ताहरुले यो कुरा उठाएका थिए । बाँझगारा वन समुहकी सदस्य रमला तामाङले भनेकी थिइन्,–‘नगरपालिकाले जथाभावी फोहोर ल्याएर फाल्छ, अनि जलाउन भन्दै आगो लगाएर छोड्छ । त्यही आगो अहिले सल्किएर वनमा डढेलो सल्किएको हो ।’ बाँझगरा वन समुहका कोषाध्यक्ष भोजराज श्रेष्ठ भने डढेलो लाग्ने थुप्रै कारणहरु भएपनि नगरपालिकाले अव्यवस्थितरुपमा फाल्ने फोहोरबाट पनि आगो लाग्ने प्रवल सम्भावना भएको बताउछन् । उनका अनुसार फोहोरमा कवाडी टिप्न आउनेहरुले आगो लगाइदिन्छन् । त्यही आगो हावाले उडाएर वनको सुक्खा पातपतिंगर सल्किएर डढेलो लाग्ने गरेको श्रेष्ठको भनाई छ । ‘हाम्रो २ सय हेक्टर वन क्षेत्रमा ढेड सय हेक्टरमा त डढेलो लागिसक्यो । यही साता ३ पटकसम्म लाग्यो’–उनले भने ।
सेक्टर वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञान कुमार लामा भने डढेलोको कारण पत्ता लगाउनै नसकिएको बताउछन् । उपभोक्ता, दमकल, प्रहरी, सशस्त्र, सशस्त्र वन रक्षकसमेत परिचालन गरिए पनि डढेलो नियन्त्रणमा लिन नसकिएको उनले बताए । ‘यता निभायो उता लाग्छ, जति गरेपनि जोगाउनै सकिएन’–उनले भने–‘दिउँसो घाम चर्कन्छ, त्यतिबेला हावा पनि चल्दा सल्किन्छ ।’ बाँझगरा वन क्षेत्रको फोहोरको डंगुरबाट डढेलो शुरु भएको हुनसक्ने उनको पनि आशंका छ । यद्यपी, उनी घास दउरा गर्नेले फालेको चुरोटको ठुटा, सलाईको काटी र चोरी शिकारी गर्नेले पनि डढेलो लगाएको हुनसक्ने अनुमान गर्छन् ।
जिल्ला वन अधिकृत राजेन्द्र प्रसाद निरौला विभिन्न कारणले डढेलो लाग्ने भएपनि वन उपभोक्ताहरुले भनेजस्तै फोहोरको आगोबाट सल्किएको हुनसक्ने कारण यथार्थको धेरै नजिक भएको स्वकार्छन् । ‘धरान उपमहानगरले वन क्षेत्रमा फल्ने गरेको फोहोर एकदमै समस्या हो, उपभोक्ताले त्यहीको आगोबाट डढेलो लागेको हो भन्छन् भने त्यही यथार्थ हुनसक्छ’–उनले भने–‘फोहोरलाई व्यवस्थित गर्नुस भनेर पत्र पठाईसकेका छौं ।’ धरान उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राई फोहोरबाट धातु निकाल्न कवाडी संकलन गर्नेहरुले आगो लगाउने गरेपनि त्यो आगो वनमा सल्किएको जानकारी आफुहरुसँग नभएको बताए । ‘हामीले फोहोरलाई खोलामा फाल्ने गरेका छौं । फोहोरबाट धातु निकाल्ने व्यक्तिहरुले आगो लगाउने सत्य हो । तर, त्यही आगो जंगल प्रवेश गरेको चाहि थाह छैन’–कार्यकारी अधिकृत टिकादत्त राईले भने । धरानको बाँझगरा वन, लांघाली वन, कुमारखत वनक्षेत्रमा धेरै डढेलो लागेको छ भने हरियाली र उदय वन क्षेत्र पनि डढेलोबाट अछुतो रहन सकेको छैन ।


जैविक विविधतामा खलल


डढेलो समयमै नियन्त्रणमा लिन नसक्दा जैविक विविधता खलल पुगेको छ भने कार्बनडाईअक्साईले वातावरणलाई पनि प्रदुषित बनाएको छ । डढेलोले साना विरुवाहरु नष्ट भएको छ । यस्तै, किरा फट्याङ्ग्रालगायत साना प्राणीहरु पनि डढेर नष्ट हुन्छन् भने बासस्थान नासिएकोले वन्यजन्तु असुरक्षित छन् । ‘साना विरुवा, किरा फट्यांग्राहरु नष्ट भएर जैविक विविधतामा खलल पुग्छ, वातावरणमा प्रदुषण बढाउछ’–सहायक वन अधिकृत लामाले भने–‘पुनरुत्पादन हुनुपर्ने मसिनो विरुवाहरु नष्ट भइदिन्छन्, यसले ठुलो असर पुग्छ ।’
वासस्थान र घासपात नष्ट हुने भएकोले वन्यजन्तुहरु डढेलो नलागेको ठाउँमा एकत्रित हुन्छन् । चोरी शिकारी गर्नेहरु यही मौकाको प्रतिक्षामा बसेका हुन्छन् । शिकारीहरु पनि बचेको थोरै हरियोपरियो वन क्षेत्रमा सजिलै वन्यजन्तुको शिकार गर्न पुग्छन् । ‘शिकारीहरुले यही कारणले पनि डढेलो लगाइदिएको हुनसक्छ’–लामाले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे