फुटबलर अनन्तलाई तामाङ घेदुङको सम्मान

धरान । नेपाललाई तेइस बर्षपछि अन्र्तराष्ट्रिय फुटबलमा उपाधि दिलाउने यु २३ फुटबल टोलीका सदस्य अनन्त तामाङ शुक्रबार धरानमा सम्मानित भएका छन् । बुढासुब्बा रेडबुल गोल्डकप खेल्न धरान आएको मौका पारेर नेपाल तामाङ घेदुङ सुनसरी जिल्ला र नगर समितिले नगदसहित सम्मान गरेको हो ।
घेदुङका जिल्ला अध्यक्ष सुरज लामा, नगर समिति अध्यक्ष जयबहादुर मोक्तान, महिला घेदुङकी अध्यक्ष विष्णु मोक्तानले सम्मान पत्रसहित नगद १३ हजार ५ सय प्रदान गरेका थिए । झापा, झिलझिले घर भएका १९ बर्षीय फुटबल खेलाडी तामाङ वंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग फुटबलको स्वर्ण पदक विजेता टोलीका सदस्य हुन् । नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा बहराइनलाई हराउदै २३ बर्षपछि अन्र्तराष्ट्रिय उपाधि जितेको थियो भने साग फुटबलमा पनि फाइनलमा वलियो भारतलाई हराउदै २३ बर्षपछि स्वर्ण पदक जितेको थियो ।
०६५ सालदेखि एन्फा एकेडेमीमा प्रशिक्षणमा रहेका तामाङ १९ बर्ष मुनिको फुटबलको राष्ट्रिय टिमको उप कप्तान हुन् । काठमाण्डौंमा सम्पन्न यु १९ साफ फुटबल प्रतियोगिताको विजेता टोलीमा पनि उनी सदस्य थिए । तामाङ हाल मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध छन् । उनको क्लब धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकपको फाइनल पुगेको छ । वंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण जितेर राष्ट्रको गौरव बढाउने टोलीका सदस्य भएकोले उनलाई बधाईसँगै सम्मान गरिएको घेदुङका जिल्ला अध्यक्ष सुरज लामाले बताए ।
सम्मानित खेलाडी तामाङले म्याच फिक्सिङ काण्डले निराश बनेको नेपाली फुटबल र फ्यानहरुलाई लगातार दुई उपाधि जितेर खुशी बनाउन पाएकोमा गौरव लागेको बताए । ‘म्याच फिक्सिङले हामी सबै अपसेट थियौं, हाम्रै दाईहरुलाई त्यस्तो आरोप थियो । जित्छौं भन्ने आशै थिएन’–सम्मान ग्रहण पछि उनले भने–‘वंगवन्धुमा सेमीफाइनल पुग्ने लक्ष्य थियो, तर फाइनलै जित्यौं । सागमा पनि जोश र हिम्मतले खेलेर जित्यौं, गौरव लागेको छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे