शहरीया शिक्षित समाजमा नै छोरीको भ्रुण हत्या: युवा नेतृ झाक्री

धरान । युवा महिला नेतृ रामकुमारी झाक्रीले महिलामाथि हुने हिंसाको विकृतरुप भ्रुण हत्याको घटना शहरिया शिक्षित समाजमा नै अत्यधिक हुने गरेकोले यही समाजलाई नै खबरदारी गर्नुपर्ने धारणा राखेकी छिन् ।
‘लैंगिक समानता लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी ’ भन्ने नारासहित मंगलबार धरानमा आयोजित जिल्लास्तरीय १०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम महिला राष्ट्रपति, सभामुख पदमा पुग्दैमा आम महिलाको वास्तविक तस्बिर परिवर्तन नहुने बताइन् । महिलाको वास्तविक तस्बिर बदल्न मनैदेखि महिला पनि मान्छे हुन् र उसको बाच्ने अधिकार छ भन्ने संकल्प गर्नुपर्नेमा उनले जोडदिइन् । ‘आधुनिक शहरका शिक्षित वर्गमा नै छोरीलाई जन्मनै दिईदैन, प्राध्यापक, शिक्षक, इञ्जिनियरहरुबाट नै भ्रुण परीक्षण गरेर गर्भमा नै छोरीको हत्या गर्ने यथार्थ छ’–भानुचौकमा आयोजित सभामा झाक्रीले भनिन्–‘अबको १४ बर्षमा लैंगिक समानताको पाइला चाल्न निक्कै कठिन छ, यसको लागि छोरीलाई जन्मन दिन के गर्नुपर्ला भनेर समाजको सबै तह, तप्का, पेशा, व्यावसायले संकल्प गर्ने बेला भइसकेको छ ।’
घरपरिवारबाट बाहिर निस्केका शहरिया, आधुनिक महिला र अशिक्षा, अचेतनाले गाँजेको गाउँबस्तीका महिलाको अवस्थामा धेरै भिन्नता रहेको उल्लेख गर्दै उनले लंैगिक समानताको नारा मध्य तराई र गाउँको लागि थाहै नहुने बिषय भएको पनि बताइन् । साथै, उनले यस्तो स्थितिमा सन् २०३० सम्म हिस्सा बराबरी गर्ने नारा पनि कार्यान्वयनमा आउन चुनौतिपुर्ण रहेको बताइन् । ‘महिलाको वास्तविक तस्बिर वदल्ने हो भने गाउँ शहरको अभियान जोड्नुपर्छ, महिलाको साझा मुद्दामा एक भएर सबै अभियान चलाउनुपर्छ’–उनले थपिन्–‘पिछडिएको गाउँवस्तीमा दृष्टिगोचर गर्नुपर्छ र घरपरिवार समाजबाटै महिला हिंसामुक्त समाज बनाउने अभियान थाल्नुपर्छ ।’
लैंगिकता परियोजनाको लागि बिकाउ शब्द भएको भन्दै उनले आफु बसिरहेको ठाउँमा लैंगिक हिंसामुक्त समाज बनाउन लाग्छौं कि लाग्दैनौं भन्ने चुनौती रहेको उनको भनाई थियो । महिलामाथि दोहोरो, तेहोरो कामको जिम्मेवारी भएकोले सार्वजनिक क्षेत्रमा बाहिर निस्केका महिलाको कार्यक्षमतामाथि जहिल्यै पनि प्रश्न उठ्ने गरेको भन्दै उनले घरभित्र पुरुष सदस्यलाई लैंगिक समानताको धारणा महिलाले राख्न सक्नुपर्नेमा जोडदिइन् । ‘एउटी महिलाले घरायसी काम, अफिसको काम, सामाजिक काम, राजनीतिक कामको जिम्मेवारी हुन्छ’–उनले भनिन्–‘तसर्थ, बाबु, दाई भाईसँग घरपरिवारमा कामको बाडफाड नभएसम्म महिलाको कार्यबोझ हट्दैन र कार्यक्षमतामाथि प्रश्न उठिरहन्छ । महिला त छन्, तर क्षमता छैन, आरक्षणबाट आएको छ भनिरहन्छौं ।’
नेपालको नयाँ संविधानले महिलालाई धेरै अधिकार प्रत्याभुत गरेको जिकिर गर्दै उनले अब वडा, गाउँस्तरबाट नै महिला सहभागीता बढाएर केन्द्रमा नै हस्तक्षेपकारी भुमिका खेल्न आग्रह गरिन् । आफु माथि पुगेपछि चढ्ने भर्याङ भाचेर अरु महिलालाई आउनै नदिने प्रवृत्ति त्याग्न आग्रह गर्दै उनले स्थानीय निकायको चुनावमा कार्ययोजनासहित आफ्नो दाबा प्रस्तुत गर्न पनि महिलाहरुलाई आह्वान गरिन् । ‘रोएर, कराएर मात्रै हुदैन । संविधानले हाम्रो लागि ६ लेनको पुर्वपश्चिम राजमार्ग जस्तै चिल्लो सडक तयार गरेको छ, त्यसमा हामीले कुशलतापुर्वक गाडी चलाएर गन्तव्यमा पुर्याउने चुनौती छ’–उनले भनिन्–‘वडास्तरबाटै राजनीतिमा महिलाको सहभागीता बढायौं भने हस्तक्षेपकारी भुमिका रहन्छ । नत्र पुरुष नेतृत्वले कस्लाई ल्याउन चाहन्छ, त्यतिमात्रै आउछ ।’ कार्यक्रममा कांग्रेसकी स्थानीय नेतृ श्यामा रेग्मी, पुर्व सांसद कुन्ता शर्मा, समाजसेवी सरला कायस्थ,पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, महिला सञ्जालकी पुर्वअध्यक्ष मिना पुलामीलगायतले पनि आफ्नो धारणा राखेकी थिइन् । भानुचौकमा सभा हुनुअघि विभिन्न संघसंस्थाहरुको ब्यानरमा पब्लिक स्कुलको मैदानबाट प्ले कार्डसहित र्याली निस्किएको थियो ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे