सफारी चालक र यात्रुमाथि टेम्पोको आक्रमण

धरान । टेम्पो चालकहरुले पालेर राखेका युवाहरुको आक्रमणमा एक यात्रुसहित सफारी चालकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफन्त लिएर घर जादै गर्दा सफारी चालक शिवकुमार राई र यात्रु देशकुमार राईमाथि गम्भीर आक्रमण भएको हो । आक्रमणकारी युवाहरु टेम्पो चालक नभई टेम्पो संघले पैसा दिएर सफारी चालकलाई तर्साउन राखेका गुण्डाहरु भएको सफारी चालकहरुको आरोप छ ।
हातमा ढुंगा लिएर आएका तीन युवाहरुले जथाभावी प्रहार गर्दा दुवै जना घटनास्थमा नै बेहोस भएका थिए । सफारी चालक शिवको टाउकोमा दुई ठाउँमा काटेको छ भने अनुहार र शरीरको विभिन्न भागमा चोट छ । यात्रु देशकुमारको आँखा र टाउकोमा चोट छ । घटना बीपी प्रतिष्ठानको मुल गेटबाहिर सोमबार दिउँसोको हो । सफारी रोकेर विरामीको औषधी खरीद गर्ने क्रममा आक्रमण भएको घाइतेहरुले बताएका छन् । देशकुमार डिस्चार्ज भएर घर गइसकेका छन् भने चालक शिवको प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते चालकका अनुसार हात र खुट्टा फ्रयाक्चर भएका आफन्तलाई लिएर घर जाने क्रममा आक्रमण भएको हो । आक्रमणकारी युवाहरुले हामीलाई नसोधी मान्छे बोक्न पाउदैनस् भन्दै एक्कासी आक्रमण शुरु गरेका थिए । ‘मैले नै बिहान बीपीमा पुर्याएको थिएँ, दिउँसो पनि लैजान लागेको थिए । परिवारकै मान्छे हुन भन्दा पनि उनीहरु आएर तैले लैजान पाउदैनस भनेर ढुंगा टिपेर हिकाउन थाहिल्यो । म त बेहोस भएछु’–चालक शिवकुमारले भने । उनी विशाल यातायात अटो प्रालिको सफारी चालउछन् । खुट्टा भाचिएका दाईको टाँका खोलेर फर्कने क्रममा टेम्पोका मान्छेहरु आक्रमण गर्न आउदा हामी परिवारकै मान्छे भन्दा भन्दै पनि आक्रमण गरेको यात्रु देशकुमारले बताए । ‘सम्झाउन खोज्दै थिएँ, मेरो कुरा नै नसुनी ढुंगा टिपेर हान्न थाल्यो, म पनि बेहोसै भएछ । एक जनाले तानेर जोगाएछ’–उनले भने ।
एक स्थानीय एवं प्रत्यक्षदर्शीका अनुसार टेम्पो मालिक र केही चालकहरु मिलेर सफारी चल्न नदिन ती युवाहरुलाई पैसा दिएर राखिएको छ । एक टेम्पोबाट ती युवाहरुले दिनको २० रुपैया भत्ता पाउछन् । उनीहरुको काम भनेको त्यो रुटमा मान्छे बोकेर सफारी चल्न नदिने र मान्छे बोकेमा रोकेर उतार्ने हो । खासगरी कोशी टेम्पो सिण्डिकेटले ती युवा परिचालन गरेको विशाल अटो यातायात प्रालिका कोषाध्यक्ष सुरेन राईले बताए । आक्रमणकारीहरुमध्ये एक जना धरान ११ बस्ने दिपेन राई भएको खुलिसेको छ । घाइते चालकले उनीविरुद्ध किटानी जाहेरी दिएका छन् । आरोपित युवा फरार छन् । घटनामा संलग्नहरुको खोजी तीब्र पारिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
धरानमा सफारी सञ्चालनमा ल्याउने तयारी भएदेखि नै टेम्पो चालक एवं संघ र सफारी सञ्चालकहरुबीच विवाद शुरु भएको थियो । आफुहरुलाई पेशाबाट विस्थापित गराउन केही व्यापारी र राजनीतिक दलका नेताले सल्लाह नगरी सफारी सञ्चालनको अनुमति दिएको भन्दै टेम्पो चालकहरुले विरोध जनाएका थिए । विवाद चर्कै गर्दा दुवै पक्षले विरोध र्याली निकाल्नेदेखि आक्रमण गर्नेसम्मका घटना दोहोरिन थालेको छ । सफारीको रुट परमिट नभएकोले पनि टेम्पो चालकसँग स्टेण्ड र रुटको कारण सफारी चालकको दिनहुजसो झगडा भइरहन्छ । धरान उपमहानगरपालिकाले यो बर्ष ७० वटा मात्र सफारीको रुट कायम गरी दर्ता सिफारिश गर्ने निर्णय गरेपनि अहिले धरानमा ५ सय बढी सफारी गुडिरहेको छ । दर्ता र अनुमति विना बग्रेल्ती चलेका सफारीले ट्राफिक समस्यासमेत निम्त्याइरहेको छ । सफारी चालकहरु बालकदेखि वृद्धसम्म भएकोले उनीहरुलाई ट्राफिक नियमसमेत थाह छैन ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे