बालिका मृत्यु प्रकरण:घरमा तोडफोड, प्रहरी कार्यालय घेराउ

धरान । धर्मपुत्री बनाएर राखेकी १३ बर्षीय एक बालिकाको हत्यामा भएको दाबी गर्दै धरान १६, पुष्यमार्गका स्थानीयबासीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन् ।
धरान १६ पुष्यमार्गका भारतीय सेनाका पुर्वसुवेदार वलिमान राई र पदमकुमारीले धर्मपुत्री बनाएकी १३ बर्षीय अनुषा राईको रहस्यमय मृत्यु भएको सावर्जनिक भएपछि स्थानीयबासीहरु राई दम्पत्तिप्रति आक्रोशित छन् । सयौंको संख्यामा भेला भएका स्थानीयबासीले मंगलबार नारा लगाउदै इलाका प्रहरी कार्यालयअघि प्ले कार्डमा मृतको तस्बिर बोकेर प्रर्दशन गरेका थिए । धर्मपुत्री बनाएपनि राई दम्पत्तिले अनुषालाई घरेलु कामदार बनाएको र यातना पनि दिने गरेको दाबीसहित स्थानीयबासीहरुले उनको हत्या भएको आरोप लगाएका छन् । तर, राई दम्पत्तिले प्रहरीमा दिएको वयान अनुसार सोमबार अनुषाले बिष(नाम खुल्न नसकेको) सेवन गरेकी थिइन् । तत्काल उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए पनि उपचारको क्रममा अनुषाको मृत्यु भएको थियो । राई दम्पत्तिले घटनाबारे छरछिमेकलाई समेत जानकारी नदिई सतगत गर्न शव राख्ने बाकस बनाउदै गरेको भेटेपछि हत्या गरिएको स्थानीयबासीहरुले आशंका गरेका थिए । वलिमान हेभन्ली पाथका सुनसरी अध्यक्ष पनि हुन् ।
बालिकाको रहस्यमय मृत्यु प्रकरणले धरानमा मंगलबार साँझदेखि तनाव शुरु भएको थियो । अभिभावक भनिएका राई दम्पत्तिले नै बिष खुवाएर हत्या गरेको भन्दै साँझ ठुलो संख्यामा भेला भएका स्थानीयबासीहरुले पुष्यमार्गस्थित घरमा ढुंगामुढा तथा तोडफोड गरेका थिए । साँझ करिब ६ बजेदेखि शुरु भएको तनाव राती करिब साढे ११ बजेसम्म जारी रहेको थियो । प्रहरी र स्थानीयबासीबीच दोहोरो झडप हुदा केही सुरक्षाकर्मी र स्थानीयहरु पनि घाइते भए । त्यसक्रममा ३६ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । तनाव बढ्दै गएपछि मंगलबार राती इनरुवास्थित जिल्ला प्रहरी प्रमुख(एसपी) पोषराज पोख्रेल स्वयम धरान आएर प्रहरीको कमाण्ड सम्हाल्नु परेको थियो । इलाका प्रहरी कार्यालय धरानको टोलीलाई सघाउन जिल्ला, अञ्चल गुल्म र सशस्त्र प्रहरीको टोली ठुलो संख्यामा परिचालन भएको थियो । प्रहरीले वलिमान र उनकी पत्नीलाई मंगलबार नै अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
स्थानीयहरुले वडा नागरिक मञ्चकी संयोजक उर्मिला प्रधानको संयोजकत्वमा एक छानबिन समिति गठन गरेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्नुपर्ने माग रहेको संयोजक प्रधानले बताइन् । ‘छरछिमेकी सबैले हत्या भएको भनिरहेका छन्, सत्य के हो ? यथार्थ आउनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ’–उनले भनिन् । राई दम्पत्तिले मृतकको कोही पनि आफन्त करिब ४ बर्षको उमेरदेखि अनुषालाई राई दम्पत्तिले धर्मपुत्रीकोरुपमा राखेका थिए । दुई भाई छोरा मात्र रहेका उनीहरुले अनुषालाई छोरी बनाएर आफ्नै नाममा जन्मदर्तासमेत गराएका छन् । अनुषा धरान १६, जोरसुवास्थित सियोन इन्टरनेशनल स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
.................

कर्तव्य ज्यानमा मुद्दा दर्ता

घटना सार्वजनिक भएपछि मंगलबार दिउँसो अधिकारकर्मी, वडा नागरिक मञ्चलगायतले छानबिनको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । बुधबार पुनः मृतक राईकी वास्तविक बुबा जितबहादुर राई फेला परेपछि उनले प्रहरीमा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका छन् । जितबहादुरबाट जाहेरी परेपछि प्रहरीले दर्ता गरी बुधबार नै म्याद थप गर्न अदालतमा पेश गरेको थियो । ‘कर्तव्य ज्यानमा जाहेरी आएपछि दर्ता गरेर म्याद थप गर्न पठाएका छौं, शवको भोली बिहिबार पोष्टमार्टम हुन्छ’–डिएसपी ढकेन्द्र खतिवडाले भने–‘बालिकाको मृत्यु कसरी भयो, सही अनुसन्धान गछौं र जो दोषी देखिन्छ, उसलाई कारबाही हुन्छ । तर, धनजनको क्षति हुनुहुदैन, स्थानीयबासीले पनि संयमता अपनाउनुपर्छ ।’








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे