विजयपुर दरबार क्षेत्रको सिमांकन र संरक्षण गर्न माग

धरान । चार किरातजन्य संघसंस्था एवं आदिबासी जनजाति संघसंस्थाहरुले ऐतिहासिक महत्व बोकेको विजयपुर दरबार क्षेत्रको अस्तित्व जोगाउन सिमांकन गरी संरक्षित क्षेत्र घोषणा गर्न माग गरेको छ । धरान खानेपानी आयोजनाले पानी टंकी निर्माण गर्न दरबार क्षेत्रको रुखहरु काटेको विरोधमा मंगलबार उपमहानगरपालिकालाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाउदै ती संघसंस्थाहरुले विजयपुुर दरबार संरक्षित क्षेत्र घोषणाको माग गरेका हुन् । साथै, ती संघसंस्थाहरुले गठन गरेको विजयपुर दरबार संरक्षण समितिलाई मान्यता दिन पनि माग गरिएको छ ।
नवगठित संरक्षण समितिले कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई ज्ञापन पत्र बुझाउदै पानीटंकीको संरचना निर्माण गरिदा विजयपुर दरबारको अस्तित्व समाप्त हुने र धरानको पर्यटन विकासमा समेत दिर्घकालीनरुपमा घात पर्ने जिकिर गर्दै विकल्प खोज्न पनि आग्रह गरेको छ । ‘विजयपुर दरबार क्षेत्र कहाँदेखि कहाँसम्म हो, त्यसको सिमांकन गरेर दरबार क्षेत्र घोषणा गरिनुपर्छ र नवगठित संरक्षण समितिलाई पनि मान्यता दिइनुपर्छ’–दरबार संरक्षणका अभियन्तामध्येका ताजुब लिम्बुले भने–‘पानी टंकी बनाउने ठाउँको विकल्प पनि खोज्नुपर्छ ।’
चार किरातजन्य संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजले केही दिनअघि मात्र १३ सदस्यीय संरक्षण समिति गठन गरेको छ । समितिमा नगर समितिका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु र केन्द्रीय सदस्यहरु सम्मिलित छन् । संरक्षण गर्नुपर्ने ऐतिहासिक किरात दरबार क्षेत्रको रुखहरु काटिएको भन्दै चार किरातजन्य संघसंस्था र लिम्बुवान पार्टीले विरोध जनाएपछि एकीकृत शहरी विकास परियोजनाअन्र्तगतको आयोजनाको काम त्यसक्षेत्रमा बुधबारदेखि ठप्प छ । नेकपा माओवादी केन्द्रका नेता चोत्लुङले टंकी बनाउने कुरा भएपनि कुन ठाउँमा बनाउने भन्ने सल्लाह नभएको भन्दै असन्तुष्टी जनाएका थिए । उनले पनि विजयपुर दरबार क्षेत्र ऐतिहासिक, पुरात्तात्विक महत्वको संरक्षित क्षेत्रको मन्यता नदिएसम्म विकासको काम अघि बढाउन नसकिने बताए । ज्ञापन पत्र बुझ्दै कार्यकारी अधिकृत कोइरालाले वार्ताबाट समस्या समाधान गर्न उपमहागनरपालिका र परियोजना तयार रहेको बताए । तर वार्ताको लागि विभिन्न समुह नभई एउटै समुह भएर आउन उनले संघसंस्थाका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । ‘वार्ता गरेर समस्याको हल गर्न तयार छु, तर तपाईहरु एउटै टिम भएर आउनुस् । धेरै वटा समुहमा आउनु भयो भने समस्याको हल गर्न गाह्रो हुन्छ’–उनले भने ।
विजयपुरको अस्तित्व १३ आंै शताब्दीदेखि शुरु भएको इतिहास छ । १३ औं शताब्दीमा विजयनारायण रायका पुर्खाले पुर्वी क्षेत्रमा राज्य प्रारम्भ गरेको र विजयनारायणले विजयपुर गढीमा दरबार सारेको(स्थापना) गरेको इतिहासका अध्ययेता कमल तिगेलाले बताए । उनै विजयनारायणको नामबाट गढीको नाम विजयपुर रहन गएको हो । तिगेलाका अनुसार यहाँ वि.स. १८२४ सम्म मकवानपुरका सेनवंशीहरुले शासन गरेका थिए भने त्यसपछि कामदत्त सेनको हत्या गरेर बुद्धिकर्ण रायले शासनसत्ता आफ्नो हातमा लिएका थिए । अरुण सप्तकोशी पुर्वका लिम्बु राजाहरुलाई युद्धमा जित्न नसकेपछि वि.स.१८३४ मा पृथ्वीनारायण शाहले सम्झौता गरी यो क्षेत्रका राज्यहरुलाई गोर्खाको अधिनमा पारेको इतिहास छ । ‘विजयपुर दरबार क्षेत्र जोगाउने जिम्मा हाम्रो मात्र होइन, राज्यकै निकायहरुको पनि हो । पाटन, भक्तपुर दरबार संरक्षण भई विश्वसम्पदा सुचीमा सुचीकृत छ भने विजयपुर गढी दरबार क्षेत्र किन संरक्षण गरिदैन ?’–उनले भने ।
किरात इतिहासका अध्ययेता सालिक सतासकका अनुसार हाल दरबार भनिदै गरिएको ठाउँ तत्कालीन शासकको किल्ला(सुरक्षा पोष्ट) मात्र हो । आयोजनाले पानीटंकी बनाउन लागेको ठाउँ सेनाले परेड खेल्ने ठाउँ हो भने मुख्य गढी डाँडामा मानव वस्ती बसेर अतिक्रमण भएको छ । गढीको प्राचीन ढुंगाहरु विजयपुरको घरहरुमा ल्याएर प्रयोग गरिदा इतिहास लोप भइरहेको पनि उनले बताए । ‘हात्तिसार क्याम्पस भएको ठाउँ तत्कालीन दरबारको हात्ति बाध्ने ठाउँ थियो, धरानको वडा १५ मा आडा भन्ने ठाउँ छ । त्यो सुरुङ बनाएर लुकेर बस्ने ठाउँ थियो’–उनले भने–‘थुम्को मात्र दरबार होइन, समग्र दरबार क्षेत्रको संरक्षण हुनुपर्छ ।’
धरान १४ स्थित पञ्चकन्या जंगल क्षेत्रमा आयोजनाले ६ लाख लिटर क्षमताको खानेपानीको रिजर्ब वेयर(टंकी) निर्माण गर्न रुखहरु काटेको थियो । त्यसको लागि आयोजनाले जिल्ला वन, वन विभाग र मन्त्रालय हुदै पठाएको प्रस्तावलाई गत पुष २७ गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछि आयोजनाले रुख काटेको थियो । प्रस्तावअनुसार धरान ८ स्थित लांघाली सामुदायिक वनमा ५८ वटा र दरबार क्षेत्रको पञ्चकन्या जंगलमा १ सय १५ वटा साना ठुला रुख काट्न मन्त्रीपरिषदले स्वीकृती दिएको थियो । आयोजनाले विजयपुर, शिवधारा लगायत धरानको उच्च क्षेत्रमा खानेपानी वितरणको लागि पञ्चकन्यामा रिजर्ब वेयर बनाउन लागेको जनाएको छ । यस्तै, लांघालीमा भने २ लाख लिटर क्षमताको कलेक्सन च्याम्बर बन्न लागेको हो । विरोधसँगै पानीटंकी र कलेक्सन च्याम्बर निर्माणमा ढिलाई हुदा जुलाई ७ भित्र आयोजनाको काम सम्पन्न गर्न चुनौती थपिएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे