पुष्प मेलामा अपेक्षाभन्दा तेब्बर कारोबार(फोटोफिचर)

धरान । अफ सिजनमा भएर पनि धरानमा आयोजित प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेलामा अपेक्षा गरेभन्दा तेब्बर कारोबार भएको छ । अपेक्षा विपरीत पुष्प(फुल)को कारोबार भएपछि आयोजकसँगै प्रर्दशनीमा आएका व्यावसायीहरु दंग छन् ।
पुर्वाञ्चलमै पहिलो पटक आयोजित पुष्प मेलामा बढीमा १० लाखसम्मको व्यापार हुने आयोजकको अपेक्षा थियो भने १० हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने भनिएको थियो । तर, तीन दिनको अवधिमा मेलामा ३० लाख बढीको कारोबार भएको आयोजक समितिका सदस्य एवं नर्सरी व्यावसायी प्रेमप्रसाद पराजुलीले बताए । ‘मेलामा १० लाखको करोबार हुने लक्ष्य थियो, तर हामीले सोचभन्दा बढी ३० लाखभन्दा माथि कारोबार भयो’–चकित हुदै पराजुलीले भने–‘फुलको अफ सिजन हो, तर एउटा स्टलले ३ लाख बढीको कारोबार भयो । मेला हामीले सोचभन्दा बढी सफल भयो ।’
‘घर आगन होस या नदी किनारा, रोपी स्वदेशी फुल बनाऔं पुर्वाञ्चल हराभरा’ भन्ने मुल नारा दिएको मेला धरान ५ स्थित अमान बजारमा भएको थियो । नेपाल फ्लोरिकल्चर एशोसिएशनद्धारा आयोजित पुष्प व्यापार मेलामा सुनसरी, झापा, मोरङ र भोजपुकार दुई दर्जन व्यावसायीहरुले नर्सरीको स्टल राखेका थिए । पुष्प प्रर्दशनी अवधिभर १० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षाविपरीत एकै दिनमा १० हजारले मेला अवलोकन गरे । स्टलमा नर्सरी सञ्चालकले राखेको फुलको प्रकार(भेराइटी) अनुसार मेलामा व्यावसायीहरुको कारोबार भएको आयोजक समितिका संयोजक खगेन्द्र पोख्रेलले बताए । ‘जुन नर्सरीले राम्रो र भेराइटी फुलहरु राखेका थिए, त्यो व्यावसायीले धेरै नै राम्रो कारोबार गरे’–उनले थपे–‘सर्वसाधारणहरुमा यतिको चासो होला र मान्छे आउलान् भन्ने लागेकै थिएन । मेला हरेक किसिमले सफल भयो ।’
व्यावसायीहरुले मेलामा राम्रो व्यापार मात्रै गरेनन्, केहीले त पछिको लागि पनि राम्रो ‘कन्ट्रयाक’समेत हात पारेका छन् । मेलाका संयोजक एवं न्यु रितु नर्सरी तरहराका संचालक पोख्रेल स्वयमले पनि ५ लाख बराबरको दुबो गार्डेनिङ(ल्याण्डस्केप) र ४ बिघामा कागति फार्मिङको कन्ट्रयाक पाएको बताए । बषौअघिदेखि पुष्प मेला आयोजना गर्ने सपना पुरा भएकोमा धरान ८ स्थित पवित्र नर्सरीकी सञ्चालिका कल्पना लिम्बुले खुशी जताइन् । ‘बिक्री त आफ्नै नर्सरीमा पनि हुन्थ्यो, तर मेलामा धेरै जनसम्पर्क भयो । फुलप्रति मान्छेहरुको कति चासो छ भन्ने थाह पायौं । यो ठुलो उपलब्धी भयो’–उनले थपिन् ।
व्यावसायीहरुका अनुसार मेलामा फुलमा गजनिया, मेरिगोल्ड, गुलाब, ग्लाडियस, एजेलिया, अर्किड, भर्विना, क्यालेन्डुलालगायत फुलहरु ब्ढी बिक्री भएको थियो । यस्तै, फलफुलमा रुद्राक्ष, आप, लिची, कागीत, भोगटेलगायत र आलंकारिक बोटविरुवाहरु बढी बिक्री भएको थियो । तीन दिने पुष्प मेला बुधबार औपचारिकरुपमा समापन भएपनि सर्वसाधारणहरुको चाहना र माग वमोजिम केही नर्सरीहरु अझै २ दिनसम्म मेलास्थलमा रहनेछ भने सञ्चालन हुने आयोजकले जनाएको छ । ‘औपचारिकरुपमा मेला सकिएपनि केही नर्सरीको स्टलहरु अझै रहन्छ, बुढासुब्बा नर्सरी भने सधै यही रहनेछ’–आयोजक समिति सदस्य पराजुलीले भने–‘आगामी मंसिर–पुषमा पुनः पुष्प मेला गछांै ।’ एशोसिएशनले पुर्वाञ्चलमा बर्षमा २ स्थानमा पुष्प मेला गर्ने योजनाअनुसार एउटा नियमित धरानमा हुने पनि आयोजकले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे