खानेपानीको टंकी तत्काल निर्माण नगरिने

धरान । विजयपुरस्थित ऐतिहासिक एवं पुरात्तात्विक महत्वको दरबार क्षेत्रमा रुख काटेपछि विवादित बनेको धरान खानेपानी आयोजनाको टंकी(रिजर्ब वेयर) तत्काल निर्माण नहुने भएको छ । रुट काटिएको विरोधमा गठित संघर्ष समिति, धरान उपमहानगरपालिका, राजनैतिक दल, अनुगमन समिति र खानेपानी व्यवस्थापन बोर्डसहित आइतबार भएको सर्वपक्षिय वार्तामा अर्को सहमति नभएसम्म टंकी निर्माण नगर्ने र विकल्पको खोजी गर्ने सहमति भएको हो ।
संघर्ष समितिले अघि सारेको ६ बुँदे प्रस्ताव(माग)मध्ये अधिकांश मागमा सहमति भएपनि मुख्य मुद्दा टंकी निर्माणस्थलबारे भने सहमति नजुट्दा खानेपानी आयोजनाको भविष्य पनि अनिश्चित बनेको छ । अन्यत्र टंकी बनाउनुपर्दा पुनः डिजाइन र ड्रइङ गर्नुपर्ने हुँदा आयोजना करिब २ बर्ष ढिलाई हुने र लागत पनि बढ्ने भन्दै उपमहानगरपालिका एवं आयोजनाले उक्त मागबारे पुर्नविचार गर्न संघर्ष समितिलाई आग्रह गर्दै आइरहेको छ । ‘हाम्रो अन्य मागहरुमा सहमति जुट्यो तर टंकी निर्माणस्थल अन्यत्र सार्नुपर्ने मागबारे भने सहमति हुन सकेको छैन । तरपनि सहमति नभइञ्जेल निर्माण कार्य नबढाउने र विकल्पको खोजी गर्ने सहमति बनेको छ’–संघर्ष एवं वार्ता समितिका सदस्य कमल तिगेलाले भने ।
संघर्ष एवं वार्ता समितिले हाल खानेपानी संस्थानले सर्दु र खर्दुको पानी संकलन गरिरहेको माथिल्लो फुस्रेस्थित टंकीलाई उपयोग गर्नुपर्ने विकल्पकोरुपमा प्रस्ताव अघि सारेको छ भने विजयपुरस्थित पाँचकन्या मन्दिर नजिकैको संस्थानको टंकीलाई विस्तार गर्ने बारे पनि थप विकल्पकोरुपमा हेरिएको छ । दरबार क्षेत्रमा विजयपुरसहित धरानको उच्चस्थानमा पानी वितरण गर्नको लागि आयोजनाले रिजर्ब वेयर निर्माण गर्न लागिएको हो । त्यहाँ ६ लाख लिटर क्षमतको रिजर्ब वेयर बनाउने आयोजनाको तयारी थियो । विजयपुरस्थित पञ्चकन्या जंगल क्षेत्रमा रिजर्ब वेयर(टंकी) बनाउन आयोजनाले जिल्ला वन, वन विभाग हुदै मन्त्रालयमा १ सय १५ वटा रुख काट्ने प्रस्वा पठाएको थियो । उक्त प्रस्तावलाई गत पुष २७ गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेपछि आयोजनाले रुख काटेको थियो । प्रस्तावअनुसार धरान ८ स्थित लांघाली सामुदायिक वनमा ५८ वटा र दरबार क्षेत्रको पञ्चकन्या जंगलमा १ सय १५ वटा साना ठुला रुख काट्न मन्त्रीपरिषदले स्वीकृती दिएको छ ।
किरात दरबार क्षेत्रको रुख काटेर टंकी निर्माण गर्नेबारे सरोकारवालाहरुसँग छलफल र समन्वय नगरेको भन्दै चार किरातजन्य संघसंस्थाहरुले विरोध जनाउदै आएको छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजसँगै लिम्बुवानले पनि रुख काटिएको विरोध गरिरहेको छ । चार किरात जातिले साकेला, चासोक, यक्वालगायत आफ्नो मुख्य चाडमा विजयपुर क्षेत्रमा पुजाआजा गरेर चाड मनाउन शुरुवात गर्ने गरेका छन् । धरानका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले भने आफुहरुले समितिको सबै माग स्वीकार गर्दै टंकी बनाउन पाऊँ भन्ने एउटा बिषय मात्रै राखिए पनि सहमती नजुटेको बताए । ‘उहाँहरुको सबै माग स्वीकार गरेका छौं, हाम्रो एउटै मात्र माग टंकी बनाउन पाउँ भन्ने हो’–कार्यकारी अधिकृत कोइरालाले भने–‘त्यसमा मात्रै कुरा मिलेको छैन, अन्यत्र ठाउँ खोज्ने भन्ने छ । त्यसो गर्दा आयोजना धेरै ढिलाई हुन्छ ।’ खानेपानी आयोजनाको म्याद अब ४ महिनामात्र बाँकी छ । यो समयभित्र आयोजना पुरा नभए लागत बढ्नेछ भने ऋणको भार पनि थपिनेछ । मन्त्रीपरिषदबाट निर्णय भएर टंकी निर्माणस्थको जग्गा नै हाम्रो भोगाधिकारमा आइसकेको छ भने अन्यत्र जग्गा खरीद गर्नै पनि बजेट अभाव हुने आयोजनाको भनाई छ ।
सर्वपक्षीय वार्तामा दरबारस्थलको सिमांकन र संरक्षण गर्ने, विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल गर्नुपर्ने, संरक्षण समितिलाई मान्यता दिने, भविष्यमा कुनै संरचना बनाउनुपरेमा सरोकारवालाहरुसँग समन्वय गर्ने, विजयपुर क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीयस्थलकोरुपमा विकास गर्ने सहमति भएको छ । यस्तै, संघर्ष समितिको रोहबरमा काटिएको रुखको काठहरुलाई वन कार्यालयमा बुझाउने पनि सहमति भएको छ । आदिबासी जनजाति अभियन्ता गोपाल देवानले दरबारस्थललाई अहिल्यै संरक्षण नगरे भविष्यमा थप अतिक्रमण हुदै जाने भएकोले ऐतिहासिक, धार्मिकस्थल संरक्षणको कार्ययोजना बनाउन आवश्यक भएको बताए । आफुहरुले पुरै आयोजनाको काम नरोकेको भन्दै उनले समय र खर्च बढ्ने वहानामा प्राचीन थलो विनास गर्न नपाउने बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे