महिला उद्यमीलाई प्रोत्साहन गर्न कोसेली घर

धरान । महिला उद्यमी तथा व्यावसायीहरुलाई प्रोत्साहन गर्न धरानमा कोसेली घर सञ्चालन ल्याइने भएको छ । महिला उद्यमीहरुको उत्पादन सामग्रीको बजारीकरण तथा प्रर्वद्धन गर्न नेपाल सरकार र सुनसरी उद्योग वाणिज्य संघले कोसेली घरको अवधारणा ल्याएको हो । उत्पादन सामग्रीको बजारीकरण हुन नसक्दा व्यावसायमा टिक्न गाह्रो अधिकांश महिला उद्यमीहरुको अनुभव छ ।
कोसेली घर सञ्चालनमा ल्याउन सकने उद्यमी महिलाहरुको उत्पादनले ठाउँ पाउने र उनीहरुलाई व्यापार, व्यावसायमा प्रोत्साहन मिल्ने सुनसरी उवासंघका महासचिव शिवराज श्रेष्ठले बताए । उनका अनुसार कोसेली घर सञ्चालनबारे उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय पनि सकरात्मक छ । ‘कोसेली घर चलाउन सरकार आफै पनि सकरात्मक छ, त्यसको लागि जग्गाको खोजी भइरहेको छ । सरकारले नचलाए हामी आफै पनि सञ्चालन गर्ने सोचमा छौं’–महसचिव श्रेष्ठले भने–‘महिला उद्यमीहरुको सीप र क्षमता बढाउन, उहाँहरको उत्पादनलाई बजारीकरण गर्न अनि थप प्रोत्साहन गर्न हामी पहल गछौं ।’
महिला उद्यमीहरुको अवस्था एवं समस्याहरु बुझ्ने उद्देश्यले सोमबार धरानमा महिला उद्यमीहरुको वृहत भेला आयोजना भएको थियो । सुनसरी उद्योग वाणिज्य संघअन्र्तगतको महिला उद्यमी प्रर्वद्धन समितिले आयोजना गरेको भेलामा डेढ सय बढी उद्यमी महिलाहरु सहभागी थिए । महिलाहरुले उद्यम तथा व्यावसाय सञ्चालनको क्रममा के कस्ता समस्याहरु झेलिरहेका छन् र ती समस्याहरुलाई कसरी समाधान गर्ने भनेर कार्ययोजना बनाउन भेला आयोजना गरिएको प्रर्वद्धन समितिकी अध्यक्ष शुभेच्छा अधिकारी श्रेष्ठले बताइन् । ‘उहाँहरुको के समस्या छ, संघसँग के कस्ता अपेक्षा छ, त्यो बुझ्छौं र त्यसैको आधारमा कार्ययोजना बनाउछौं’–उनले भनिन् ।
भेलामा धरान क्षेत्रका ढाका उद्यमी, सिलाई बुनाई, ब्युटिसियन, उनीको सामान उत्पादन, पशुपालन, रेडिमेट कपडा व्यापार, होटल व्यावसायलगायत विभिन्न पेशामा संलग्न महिलाहरुको उपस्थिति रहेको थियो । भेलालाई कृष्ण शाहले सहजीकरण गरेका थिए । प्रर्वद्धन समितिकी अध्यक्ष अधिकारीले पनि महिला उद्यमीहरुको उत्पादनलाई प्रर्वद्धन एवं बजारीकरण गर्न कोसेली घरको आवश्यकता रहेको औल्याइन् । ‘कोसेली घर धेरै आवश्यक छ । महिलाहरुको उत्पादनलाई त्यहाँ राखेर प्रर्वद्धन र बिक्रीवितरण हुन्छ । यसले लगानी गर्न पनि महिलाहरुलाई प्रोत्साहन मिल्छ’–अध्यक्ष अधिकारीले भनिन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे