रंगमञ्च दिवसको औपचारिक कार्यक्रममा युवक कुटिएपछि...

धरान । ५५ औं विश्व रंगमञ्च दिवसको अवसरमा धरान ९ स्थित होटल रत्न इनको हलमा सोमबार नाट्य संगोष्ठी कार्यक्रम चलिरहेको थियो । आयोजक आरम्भ नाट्य डबलीका सचिव प्रविण राईले कार्यक्रमबारे बोल्न मात्र शुरु गरेका थिए, एक युवाले अर्कोलाई कुट्दै स्टेज छेऊमै पुगे ।
‘साला पाकेटमार’ भन्दै एक युवालाई अर्कोले कुट्न थाले । औपचारिक कार्यक्रमको बीचमा अचानक युवाहरु झगडा गर्दै पुगेपछि हलमा सन्नटा छायो । खासमा के भएको हो भनेर शुरुमा त कसैले भेऊ नै पाएनन्, सबै स्तब्ध बने । कुटाई खाने पाकेटमार युवा कार्यक्रममा आतिथ्यता ग्रहण गरिरहेका भाषाविद् डा.टंक न्यौपानेका विद्यार्थी रहेछन् । पाकेटमार ती युवकको बचाउ गर्दै डा.न्यौपानेले भने–‘ए भाई, ऊ त्यस्तो होइन ।’ तर, उनको आग्रह सुनुवाई भएन ।
ती दुई युवाबीच जब दोहोरो संवाद शुरु भयो, अनि मात्र रहस्य खुल्यो । ती युवा त आरम्भका नव कलाकारहरु पो रहेछन् । धनी परिवारका छोरा आमा बुबाको माया र सही हेरविचार नपाएर लागुऔषध दुव्र्यसनमा फसेका रहेछन् उनी । लागुऔषधको लतले उनलाई अन्ततः पाकेटमार बन्न बध्य बनाएको रहेछ । ‘हो, म दुव्र्यसनी हुँ । आमा बुबाले माया ममता र सँस्कार दिएको भए यस्तो हुन्न थे । मलाई केयर गरेनन्, होस्टलमा राखिदिए । घर आउदा पनि ख्यालै गरेनन्’–उनले आफ्नो पीडा पोखे–‘पैसा त दिन्थे तर त्यो पैसालाई कसरी सहीरुपमा सदुपयोग गर्ने भनेर सिकाएनन् । पैसा नै सबथोक हो भने । अनि, म बिग्रिए ।’
ती युवकले आफ्नो कहानी नसकिदै सडक बालक आइपुग्छन् । कान्छी आमा र बाउको कुटाइ सहन नसकेर आफु सडकमा आउनु परेको पीडा पोख्छन् । अर्का बाल हकर पत्रिका बाड्दै आउछन्, र जान्छन् । नवकलाकारहरुले ‘अध्याँरो सुरुङभित्र’ नाटक मञ्चन गर्दै शहरिया अभिभावकहरुले आफ्ना सन्तानलाई उचित माया, ममता र सँस्कार नदिदा उनीहरु गलत बाटोमा हिडिरहेको सामाजिक यथार्थतालाई पस्किएका थिए । अन्त्यमा, पुर्नस्थापना गृहका सञ्चालक(सुवर्ण पलिखे) टोल छिमेकका दुव्र्यनीहरुलाई घृणा नगर्न आग्रह गर्दै भन्छन्–‘उनीहरुलाई घृणा होइन, माया प्रेम दिउँ । पुर्नस्थापना गृहमा लगेर उपचार गरौं । नत्र अध्याँरो सुरुङबाट उनीहरु कहिल्यै निस्कन सक्दैनन् ।’ आरम्भका अध्यक्ष गोपाल देवानले लेखेको नाटकको निर्देशन प्रविण राईले गरेका थिए । नाटकमा अग्रज कलाकार सुवर्ण पलिखेसँगै नवकलाकारहरु शान्तिराम राई, सविना राई, तीथराज बिक, सन्देश क्षेत्री र कमानसिंह याम्फुको अभिनय थियो । नवकलाकारहरुको अभिनयको प्रसंसा गर्दै मन्तव्यको क्रममा भाषाविद डा.न्यौपानेले भने–‘मेरो विद्यार्थीले कुटाई खाएको देख्या मन दुख्यो, र उ त्यस्तो होइन भने । तर, अभिनय रहेछ, थाहै पाइन । यही हो नाटकको शक्ति र सौन्दर्य ।’
औपचारिक कार्यक्रम सकिएपछि आरम्भका अग्रज रंगकर्मीहरुले संवादविहिन(मुक) नाटक ‘हस्तान्तरण’ मञ्चन गरेका थिए । उक्त नाटकले नेपालको विकृति, विसंगतियुक्त राजनीतिलाई तिखो ब्यङ्ग्य प्रहार ग¥यो । संवाद विना नै प्रतिकात्मक अभिनयबाट नेताहरुले जनतालाई विकृति, विसंगतिबाहेक केही पनि नदिएको छर्लङ्ग पारे । जनताले दुःख, पीडा पाइरहदा पनि पत्रिका पढेर रमाउने नागरिक समाजको भुमिका समाजमा पनि रमितेबाहेक केही नभएको नाटकले टिप्पणी ग¥यो । ‘नेपालको राजनीतिले जनतामा विकृति, विसंगति सार्नेबाहेक केही गरेन, नागरिक समाजको पनि भुमिका रमिता बन्नुमात्रै रह्यो’–नाटकको सन्देश प्रष्ट्याउदै अध्यक्ष देवानले भने । नाटकमा अध्यक्ष देवान, पानस गुरुङ, ज्योति राई, प्रविण राई, सुर्वण पलिखे, राजन दाहाल, कृष्ण तिम्सिना र विना मोक्तानको अभिनय थियो । रंगकर्मी सचिन क्षेत्रीले परिकल्पना गरेको नाटकको निर्देशन राजन दाहालले गरेका हुन् ।
...........................

रंगकर्मीहरुबीच वृहत मोर्चामा जोड

रंगकर्मको विकासको लागि वृहत मोर्चा तथा एकता हुनुपर्नेमा कलाकार एवं रंगकर्मीहरुले जोडदिएका छन् । ५५ औं विश्व रंगमञ्च दिवसको अवसमा धरानमा आयोजित रंग संगोष्ठीमा वक्ताहरुले रंगकर्मीहरुबीच एकताको धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोकगायक एल.पी.जोशीले कलाकारहरुको लागि अरु कसैले नबोलिदिने भन्दै कलाकारहरुले नै एकजुट भएर बोल्नुपर्ने बताए । उनले जीवीत एवं मृत्यु भइसकेका भएपनि अग्रज कलाकारहरुलाई कला क्षेत्रले भुल्न नहुने बताए । नाट्यकर्मी महासंघका क्षेत्रीय संयोजक विशाल भण्डारीले रंगकर्मीहरुले समाजलाई रंगकर्मबारे बुझाउन नसकेको भन्दै वृहत मोर्चा बनाएर अघि बढ्न आवश्यक भएको बताए । सबैको साझा मुद्दा बनाएर समाजको पीडालाई रंगकर्मीहरुले बोक्न सकेमात्र समाजले बुझ्ने उनको जिकिर थियो ।
भाषाविद् डा. टंक न्यौपानेले धरानमा रंगकर्मको पुर्नजागरण भएको उल्लेख गर्दै जुनसुकै नाट्य समुहमा भएपनि रंगकर्मीहरु रंगकर्मको विकास र उत्थानको लागि एकजुट हुनआवश्यक रहेकोमा जोडदिए । आरम्भका सल्लाहकार एवं युन एन कलेजका प्रिन्सिपल डम्बर तुम्बापोले धरानमा थिएटर हलको खाँचो रहेको औल्याउदै आफुलेसक्दो आर्थिक, भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे