भूपू गोर्खाहरुको नयाँ संस्था

धरान । सम्पुर्ण भूपू ब्रिटिश गोर्खा लाहुरेहरुलाई पुनः संगठित गर्न र पुर्खासँगै आफुहरुको गाथा जोगाइराख्नको लागि यहाँका भुपु गोर्खा सैनिकहरुले नयाँ संस्था दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा ब्रिटिश गोर्खा भूपू सैनिक एकता समाज नामको नयाँ संस्था दर्ता गरेर भूपू गोर्खाहरु सबैलाई समेट्ने प्रयासमा छन् ।
विगतमा गोर्खा भूपू सैनिक संघ(गेसो)मा आवद्ध भएपनि सबै दर्जाका भूपू सैनिकहरु समेटिन सकेका थिएनन् । खासगरी अधिकृतस्तरका भूपू गोर्खाहरु गेसोसँग टाढिएका थिए । गेसो नेतृत्वमा समान पेन्सन, नाम कट्टामा परेकाहरुलाई क्षतिपुर्तिसहित पेन्सनलगायत ४ सुत्रिय माग लिएर आन्दोलनले अधिकृत(गोर्खा मेजर) तह र अन्य दर्जाका भूपू गोर्खाहरुबीच अन्र्तद्धन्द नै भएको थियो । अहिले भने विगतको अन्र्तद्धन्द बिर्सिएर यहाँका भूपू गोर्खा सैनिकहरुबीच एकताको प्रयासमा नयाँ संस्था जन्मिएको हो । ‘समान पेन्सनको आन्दोलन इतिहास बन्यो, अब नयाँ ढंगले अघि बढ्नको लागि सबै भूपू गोर्खा सैनिकहरुलाई समेट्न नयाँ संस्थाको आवश्यकता महसुस ग¥यौं । नयाँ संस्था सबैको छाता र साझा संस्था हुुनेछ’–समाजको तदर्थ समितिका संयोजक गजेन्द्र इस्वोले भने ।
समाजको नेतृत्वकर्ताहरुका अनुसार नयाँ संस्था भूपू गोर्खा मेजर र सिपाहीको लागि मात्रै नभई छोरा–नातीहरुको लागि पनि हो । गोर्खाहरुको इतिहास र गाथालाई जीवीत बनाइराख्न संस्थामा भूपू परिवारका छोरा–नातीलाई पनि सदस्य बनाएर नेतृत्वको पुस्ता हस्तान्तरण गरिने ७३ बर्षीय भूपू सार्जेन्ट रमेश राईले बताए । बेलायतले आवासिय भिषा उपलब्ध गराएपछि अधिकांश भूपूहरु सपरिवार बेलायत गए भने कार्यरतहरु पनि उतै बसोबास गर्न थालेपछि भूपू गोर्खाहरुको पहिचानसँगै पुर्खाहरुको गाथा संकटमा छ । त्यही भएर पनि फराकिलो दायरा बनाएर नयाँ संस्थाको आवश्यकता परेको राईको भनाई छ । ‘हामी पछि पनि छोरा नातीहरुले पुर्खाहरुको वीरताको गाथा र विरासतलाई जोगाइराखुन् भनेर प्रयास गरेका हौं’–राईले थपे–‘सदस्यता वितरण गर्दैछौं, अब संस्थामा भूपू सैनिक मात्र हुदैनन्, श्रीमति, छोरा–नाती र पनाती पनि सदस्य हुनेछन् । हामी पछि संस्थाको नेतृत्व उनीहरुले नै गर्नेछन् ।’ बाजे भूपू लाहुरे हो भने पल्टनको नम्बर राखेर नाता खुलाएर सदस्यता दिइने उनले बताए ।

संयोजक इस्वोका अनुसार नयाँ संस्था ‘एकता नै वल हो’ भन्ने भावना र नारा लिएर अघि बढ्नेछ । विगतको अन्र्तद्धन्दले संस्थागत, संगठनात्मकरुपमा मात्रै नभएर समाजको विकास निर्माणमा पनि नकरात्मक असर पुगेको थियो । बेलायतले आवासिय भिषा उपलब्ध गराउने घोषणा गरेलगत्तै गेसोका तत्कालीन अध्यक्ष पदम गुरुङले आन्दोलन सकिएको घोषणा गरेपछि सुनसरीका भूपू गोर्खाहरुले गेसोमा विद्रोह गरेका थिए । विगतमा आन्दोलन हाकेका उनीहरु आफैले पनि अहिले गेसोसँग नाता तोडिसकेका छन् । अब भने सबैको नयाँ संस्थालाई साझा संस्था बनाउन सबै एशोसिएशनहरुलाई विधानसँगै पत्र पठाएर सामेल हुन आग्रह गरिसकेको छ । अबको छ महिनाभित्रमा समाजले नयाँ नेतृत्व पाउनेछ ।
अवकाशप्राप्त भूपू गोर्खाहरुको सेकेण्ड(२) गोर्खा राइफल, सिक्स(६) गोर्खा राइफल, सेभेन(७) गोर्खा राइफल, टेन(१०) गोर्खा राइफल, क्विन्स गोर्खा इञ्जिनियर, क्विन्स गोर्खा सिग्नल, क्विन्स अन गोर्खा लजेस्टिक रेजिमेन्ट र सिंगापुर पुलिस गरी ८ वटा एशोसिएशनहरु अस्तित्वमा छन् । तर, यी पल्टनका पुरानो संरचनाको रेजिमेन्ट हुन् । अहिले बेलायतले ती संरचनाहरुलाई खारेज गरेर रोयल गोर्खा रेजिमेन्ट बनाएको छ । ‘हामी अहिले गतिशिल रोयल गोर्खा समेतलाई समेट्ने गरि संस्था अघि बढाउने योजनामा छौं’–संयोजक इस्वोले भने । धरानमा भूपू गोर्खा सैनिकहरुले गोरखा वचत तथा ऋण सहकारी संस्था, गोरखा भूपू सैनिक परिवार पब्लिक लिमिटेडमार्फत गोर्खा कम्प्लेक्स(व्यावसायिक भवन) सञ्चालन गरिरहेका छन् भने धरान २० माछामारा डाँडामा करोडौंको गोर्खा स्मृति पार्क पनि निर्माण गरिरहेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे