कृर्षि परियोजनाबाट अदुवा र बेसार किसान आशावादी

धरान । व्यावसायिकरुपमा अदुवा खेती गरिरहेका धरान २० विष्णुपादुकाका कृषक पदम राई यसपाली अदुवा बिक्री नभएर चिन्तित छन् । उनले यसपाली करिब ३५ मन अदुवा रोपेका थिए । भारतीय बजारमा निर्भर नेपाली अदुवाले भाउ नपाउदा निराश बनेका पदम र अन्य किसानहरु आइतबार भने उत्साहित बने ।
अदुवा र बेसार खेती लक्षित गरेर प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजनामा धरान पनि छनौट भएको थाह पाएपछि किसानहरु उत्साहित भएका हुन् । अदुवा र बेसारको उत्पादन बढाउने, बजारीकरण गर्ने लक्ष्य लिएर सुनसरीको धरान उपमहानगरपालिका(साविक पाँचकन्या र विष्णुपादुका गाविससमेत)मा यो परियोजना आएको हो । गत मंसिर १६ देखि परियोजना आएपनि धरानमा भर्खर मात्र परियोजना जोन कार्यान्वयन इकाईको कार्यालय खुलेको छ भने आइतबार सरोकारवाला एवं किसानहरुबीचमा परियोजनाबारे गोष्ठी आयोजना भएको थियो ।
उत्पादन बढाउन पुर्वाधार विकास, यान्त्रीकरण गर्ने र प्रशोधन उद्योगसमेत स्थापना गर्न समन्वय गर्ने जानकारी पाएपछि अदुवा नबिकेर निराश बनेका किसानहरु परियोजनाप्रति धेरै आशावादी बनेका छन् । ‘हामीले त पटक पटक सरकारलाई भनेका थियौं, किसानको अदुवा कुहिएर गयो । कि प्रशोधन उद्योग खोलिदिनु प¥यो कि त भारतबाहेकको मुलुकमा पनि निर्यात हुने वातावरण बनाइदिनु प¥यो’–परियोजनाप्रति आशा व्यक्त गर्दै किसान राईले भने–‘परियोजनाले ती कामहरु गर्ने जानकारी पाउदा खुशी लाग्यो । सफा गर्ने र प्रशोधन गर्ने मेशिन मात्र खुल्यो भने पनि अदुवाबाट नेपालको आफ्नै ब्राण्ड बनाउन सकिन्छ ।’
नेपालका किसानहरु अदुवा खेतीमा आकर्षित भइरहे पनि भारतीय बजारमा माग नहुदा उत्पादन कुहिएर जाने अवस्था आउने गरेको छ । नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारत निर्यात हुन्छ भने १० प्रतिशत अदुवा मात्र स्थानीय बजारमा खपत हुन्छ । भारतीय बजारमा अदुवाको माग नहुदा नेपालको अदुवाले भाउ पाउदैन र निर्यात पनि ठप्प हुन्छ । छ महिनायता भारतीय बजारमा अदुवाको माग नभएपछि मुल्य ह्वात्तै घटेको छ । व्यापारीले किसानबाट अदुवा खरीद गर्नै छोडेपछि किसानहरु मारमा छन् । किसानहरुले प्रशोधन उद्योग स्थापना गरेर तेस्रो मुलुकमा पनि निर्यात गर्ने वातावरण बनाउन माग गरिरहे पनि सरकारले सुनुवाई नै भएको थिएन । धरानको विष्णुपादुका क्षेत्रमा बेसार र अदुवा अत्यधिक खेती हुने ठाउँ हो । त्यहाँ सुनसरी उद्योग वाणिज्य संघले यसअघि एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत बेसारको व्यावसायिक खेती र प्रर्वद्धन कार्यक्रमसमेत लागु गरेको थियो ।
परियोजना प्रमुख एवं वरिष्ठ कृर्षि अधिकृत महेन्द्रराज कौडालका अनुसार परियोजनाको अवधि २०८२ सालसम्म (१० बर्ष) छ । अदुवा र बेसारको उत्पादन बृद्धि गर्ने र बजारीकरण गर्दै प्रशोधन उद्योग स्थापना गर्न तथा निकासीमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आएको हो । धरानमा खेतीको लागि ५ सय हेक्टर जोन क्षेत्र निश्चित गरिनेछ । त्यहाँ पुर्वाधार विकासअन्र्तगत सिचाई पु¥याइनेछ भने विभिन्न उपकरहणहरु किसानलाई उपलब्ध गराएर कृर्षिलाई यान्त्रीकरण गरिनेछ । ‘निजी क्षेत्रसँग सहकार्य गरेर प्रशोधन उद्योग स्थापना गछौं, जसले गर्दा किसानहरुले उत्पादन गरेको बेसार, अदुवा भारत निकासी नहुदैमा खेर जादैन’–कौडालले भने–‘अदुवा धुने र प्रशोधन गरेपछि के के उत्पादन हुनसक्छ, त्यतापट्टी ध्यान दिन्छौं । बजार पाएनौं भन्ने किसानको गुनासो हट्छ र आम्दानी पनि राम्रो हुन्छ ।’ परियोजनाले दर्तावाल कृषक समुह, सहकारी, रजिष्टर्ड फर्म वा कम्पनीलाई कृर्षि सामग्री तथा औजार उपकरणतर्फ ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । यस्तै, प्रयोगशाला सेवातर्फ ८५ प्रतिशत, साना सिचाईतर्फ ८५ प्रतिशत, उत्पादनोपरान्त तथा कृर्षि व्यावसाय पुर्वाधार निर्माणमा ८५ प्रतिशत र प्राविधिक सेवा सत प्रतिशत उपलब्ध गराउने परियोजनाले जनाएको छ ।
अदुवालाई प्रशोधन गरेर तेल, स्याम्पु, विस्कुट, धुलो मसला, आर्युवेदिक औषधीलगायत उत्पादन गर्न सकिन्छ । तर, नेपालमा त्यस्ता उद्योग स्थापना नहुदा अदुवा भारतीय बजारमा निर्भर छ । भारतमा पर्याप्त अदुवा उत्पादन हुदा नेपालको अदुवा निकासी ठप्प हुन्छ । ‘परियोजनाको उद्देश्यअनुसार इमान्दार भएर काम हुने हो र वास्तविक किसानहरुको सक्रिय सहभागीता हुने हो भने धेरै फाइदा पुग्छ । उत्पादनसँगै प्रशोधन उद्योग स्थापना गर्न सके अदुवा बन्ने विभिन्न उत्पादन गर्ने र प्याकिङ, लेबलिङ र ब्राण्डिङ गरेर तेस्रो मुलुकमा निर्यात गर्नसके देश आत्मनिर्भर पनि बन्छ’–कृर्षि बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने । पुर्वमा इलाम, धनकुटा, सुनसरीको पहाडी भेग अदुवा उत्पादन बढी हुन्छ । बर्षेनी कोशी पहाडी जिल्लाबाट मात्र धरानस्थित बजारस्थल हुदै १० हजार मेट्रिक टन अदुवाको करोबार हुनेगरेको बजारस्थलको तथ्यांक छ ।
...........................................................................

जोन सञ्चालक समिति गठन

 परियोजनाअन्र्तगत आइतबार कृषक समुह, कृर्षि सहकारी, फर्म एवं कम्पनीका प्रतिनिधिहरुको भेलाले आइतबार जोन सञ्चालक समिति गठन गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको भेलाले सुर्दशन श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।
जोनअन्र्तगत साविक विष्णुपादुका, पाँचकन्या र धरान क्षेत्रको ३/३ जना सदस्य चयन गरेपछि ९ जनाबाट सर्वसम्मतरुपमा पदाधिकारी चयन गरिएको थियो । समितिको सहसंयोजक प्रर्मिला नेम्बाङ, सचिवमा तपेन्द्र राई, सहसचिवमा कमला राई छन् भने सदस्यहरुमा प्रकाश भण्डारी डिल्लीराम गौतम, राजेन्द्र तामाङ, ज्योति लिम्बु र फुलमाया तामाङ सर्वसम्मत चयन भएको हो । समितिले आफ्नो पकेट क्षेत्र(जोन)मा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे