थुनुवा भागेपछि दुई प्रहरी हिरासतमा

धरान । म्याद थप र वयानको लागि लगिएका एक थुनुवा सरकारी वकिल कार्यालयबाटै फरार भएपछि सुरक्षामा खटिएका दुई प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ । लागुऔषध कारोबारमा मुद्दा खेपिरहेका मोरङ घर भएका २२ बर्षीय विरेन्द्र खत्री आइतबार सरकारी वकिलको कार्यालयबाटै फरार भएका थिए ।
थुनुवा फरार भएपछि सुरक्षामा खटिएका जवान लोकबहादुर महत र जीवन श्रेष्ठलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान शुरु गरेको छ । दुवै इलाका प्रहरी कार्यालय धरानमा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी निरीक्षक शेषकराम थान्दारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । समितिमा एक जना असई र एक हवल्दार पनि छन् । उक्त छानबिन समिति सोमबार धरान आएर हिरासतमा रहेका प्रहरी जवानसँग वयान लिएको थियो भने जिल्लाको टोलीले नै म्याद थप गर्न प्रहरी जवानद्धयलाई इनरुवा लगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी प्रविण धितालका अनुसार थुनुवामा खटिएका दुई प्रहरीको लापरवाही देखिएकोले पहिलो चरणमा उनीहरुलाई आवश्यक कारबाही शुरु गरिएको छ । साथै, घटनामा अन्यको संलग्नता भए नभएको अनुसन्धान गर्न टोली गठन भइसकेको पनि डिएसपी धिमालले जानकारी दिए । ‘थुनुवा फरार हुनुमा सुरक्षामा खटिएकाको लापरवाही देखिएकोले पहिलो चरणमा दुई जनालाई आवश्यक कारबाही शुरु गरिसकेका छौं । छानबिन टोेली गठन भएको छ, अन्यको पनि संलग्नता भेटिए थपलाई कारबाही हुन्छ’–डिएसपी धितालले भने ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार फरार थुनुवा खत्री चैत ९ गते ५ सेट लागुऔषध टिडिजेसिकसहित पक्राउ परेका थिए । चैत १० गते मुद्दा दर्ता भएका खत्रीलाई आइतबार म्याद थप र वयानको लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको थियो । थुनुवा खत्रीको सुरक्षामा दुई प्रहरी महत र श्रेष्ठ खटिएका थिए । प्रहरी स्रोतका अनुसार वयानको लागि वयान कक्षमा खत्रीलाई पु¥याउदा सरकारी वकिल बाहिर गएका थिए । त्यसबेला सुरक्षार्थ खटिएका प्रहरीको ध्यान अन्तै गएको मौकामा हतकडीसमेत खुस्काएर खत्री भाग्न सफल भए । खत्री कोठाबाट निस्किएर बाहिरबाट चुकुल लगाएपछि प्रहरीद्धय भित्रै थुनिएको र उनी सजिलै भागेका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक यामबहादुर पौडेलले वयान कक्षाबाट २ प्रहरीलाई थुनेर थुनुवा फरार भएको र लापरवाही गर्नेलाई कारबाही शुरु भइसकेको बताए । ‘वयान कक्षमा भएको बेला प्रहरी पनि सँगै थियो, लापरवाही भएर नै हतकडी खुस्काएर थुनुवा भागेछ । थुनुवाको खोजतलास जारी छ’–पौडेलले भने–‘तत्काल २ जना कसुरदार देखिएकोले कारागार ऐनअनुसार कारबाही शुरु भएको छ । अरुपनि संलग्न देखिए कारबाही हुन्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे