अपराध नियन्त्रण गर्न ‘अप्रेशन डेल्टा’

धरान । कोशी अञ्चल प्रहरी कार्यालय धरानले कोशीका सबै जिल्लामा ‘अप्रेशन डेल्टा’ नाम दिएर अपराध नियन्त्रणको नयाँ सुरक्षा कार्ययोजना थालनी गरेको छ । कोशी अञ्चलको प्रहरी प्रमुख भएर आएका एसएसपी उत्तमकुमार कार्कीले एक महिना लगाएर अध्ययनपछि अप्रेशन डेल्टाको कार्ययोजना तयार गरेका थिए ।
उक्त कार्ययोजनालाई यही चैत ७ गते(आइतबार)देखि कोशी अञ्चलका सबै ६ जिल्लामा कार्यान्वयन गर्न थालिएको एसएसपी कार्कीले बताए । उनका अुनसार लागुऔषध, गुण्डागर्दी र तस्करी नियन्त्रण गर्ने उद्देश्यले अप्रेशन डेल्टाको कार्ययोजना तयार गरिएको हो । नयाँ सुरक्षा कार्ययोजनालाई कार्यान्वयन गर्न बिशेष टिम परिचालन भएपनि आफ्नो मातहतका सबै जिल्ला एवं युनिटहरुमा प्रहरीहरुले अप्रेशन डेल्टालाई सघाउने एसएसपी कार्कीले बताए । ‘ठाउँ बिशेषमा अलग अलग किसिमको अपराध हुनेगर्छ, ती ठाउँ बिशेषको अपराध नियन्त्रण गर्न बिषेष कार्यक्रम अप्रेशन डेल्टा तयार गरिएको हो । यसले लागुऔषध, गुण्डागर्दी र तस्करीविरुद्ध कार्य गर्नेछ’–कार्ययोजनाबारे एसएसपी कार्कीले भने ।
अप्रेशन डेल्टा कोशी अञ्चलको सबै जिल्लालाई लक्षित गरेर तयार गरिए पनि धरान क्षेत्रमा हुने अपराधलाई बढी केन्द्रीत गरिएको छ । लागुऔषधको कारोबार तथा प्रयोगमा र गुण्डागर्दीमा धरान वद्नाम छ । पछिल्लो समय हत्या, ग्याङ्फाइटको घटनाले पनि धरानको शान्ति सुरक्षामा थप चुनौती थपिएको बेला अञ्चल प्रहरीले अप्रेशन डेल्टा शुरुवात गरेको हो । एसएसपी कार्कीका अनुसार अप्रेशन डेल्टाको नेतृत्व जिल्लामा जिल्ला प्रहरी प्रमुख(एसपी) र मातहतको युनिटमा इञ्चार्जको कमाण्ड हुनेछ । कोशी अञ्चलभरिका ४ हजार ५ सय बढी प्रहरीहरु यसको सदस्य रहनेछन् । आवश्यकता अनुसार अञ्चल प्रहरीले स्पेशल स्क्वाड परिचालन गर्नेछ । ‘अपराध नियन्त्रण प्रहरीबाट मात्र सम्भव छैन, समाज र प्रत्येक नागरिकको पनि साथ सहयोग हामीलाई आवश्यक छ’–कार्कीले आग्रह गर्दै भने ।
अपराधीसँग प्रहरीको साँठगाठ वा मिलेमतोलाई पुर्णरुपमा बन्द गराउने र त्यस्तो भएको प्रमाणित भए विभागीय कारबाही गर्ने एसएसपी कार्कीले प्रतिवद्धता जनाए । राजनीति र अपराध फरक पाटो भएको जिकिर गर्दै उनले अपराध गर्ने जो कोहीलाई पनि अपराधीकोरुपमा व्यावहार र कारबाही गर्ने दाबी गरे । ‘राजनीति म जान्दिन, अपराध गर्ने जो कोही होस, अपराधी नै हो । अपराध गर्नेलाई कारबाही हुन्छ’–उनले थपे–‘हुलहुज्जत, पैसा असुली होस वा जस्तोसुकै गुण्डागर्दीविरुद्ध कारबाही गछांै ।’
........................................................

लागुऔषध कारोबारी पक्राउ

कोशी अञ्चलको जिल्लामा अपराध नियन्त्रण गर्न नयाँ सुरक्षा कार्यक्रम लागु गरेलगत्तै प्रहरीले धरानमा ठुलो मात्रामा लागुऔषधसहित एक कारोबारी पक्राउ गर्न सफल भएको छ । अञ्चल र धरान प्रहरीको संयुक्त टोलीले धरान १५ स्थित पिण्डेश्वरी चोकबाट २८ बर्षीय नविन गुरुङलाई बिहिबार लागुऔषधसहित समातेको हो ।
प्रहरीका अनुसार ती युवाबाट २ हजार २ सय ५ एम्पुल डाइजेलाव, एभिल र लुप्रिजेसिक इकजेक्सन वरामद भएको छ । यसको बजार मुल्य १० लाख बराबर भएको एसएसपी उत्तम कार्कीलले जानकारी दिए । ‘अप्रेशन डेल्टा लागु गरेलगत्तै यो सफलता हात पारेका हौं, प्रारम्भिक अनुसन्धानबाट भारतीयले नेपाल भित्र्याएको खुलेको छ’–उनले भने । अनुसन्धान कार्य नसकिएको र कारोबारीको थप जालो पत्ता लगाउन बाकी भएको भन्दै प्रहरीले पक्राउ परेका युवाको नाम भने सार्वजनिक गर्न मानेको थिएन । उनको घर धरान ५, देउराली घर भएपनि पिण्डेश्वरी चोकमा कोठा डेरा लिएर लागुऔषध कारोबार गरिरहेको प्रहरीको भनाई छ । उनलाई कोठाबाटै लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले कार्टुनभित्र लुकाएको अवस्थामा ती लागुऔषध फेला परेको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे