अदुवा नबिकेपछि सुठो बनाउदै

धरान । अरु बेला भए उनी धमाधम अदुवा गाडीमा लोड गरिरहेका हुन्थे । ती अदुवा भारत जान्थ्यो । उनको हातमा राम्रै नगद पथ्र्यो । केही दिनअघि धरान १३ स्थित कृर्षि उपज बजारस्थल पुग्दा अदुवा व्यापारी रामप्रसाद राई भवनको छतमा अदुवा सुकाउदै गरेका भेटिए । त्यसो गर्नुको कारणबारे उनले भने–‘बिक्री नै नभएपछि के गर्नु ? सुठो बिक्री होला कि भनेर अदुवालाई सुकाएको ।’
व्यापारीहरुका अनुसार गत साउनयता अदुवाले भाउ नपाएपछि बिक्री हुनै छोडेको छ । नेपालमा उत्पादन हुने अदुवाको भाउ भारतीय बजारको मागमा निर्भर हुन्छ । नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारत निर्यात हुन्छ भने १० प्रतिशत अदुवा मात्र स्थानीय बजारमा खपत हुन्छ । भारतीय बजारमा अदुवाको माग नहुदा नेपालको अदुवाले भाउ पाउदैन र निर्यात पनि ठप्प हुन्छ । छ महिनायता भारतीय बजारमा अदुवाको माग नभएपछि मुल्य ह्वात्तै घटेको छ । जसले गर्दा व्यापारीभन्दा पनि किसानहरु बढी मारमा परेका छन् । व्यापारीले किसानबाट अदुवा खरीद गर्नै छोडेका छन् भने खरीद गरेको अदुवालाई कुहिन नदिन विकल्पमा कतिपयले सुठो बनाइरहेका छन् । ‘७ किलो अदुवा बराबर १ किलो सुठो बन्छ । पोहोरसम्म त किलोको ८० देखि सय रुपैयासम्म गएको थियोे’–व्यापारी राईले भने ।
भाउ नपाएपछि व्यापारीहरुले त किसानबाट अदुवा खरीद नगर्दा भयो । खरीद गरेको भएपनि सुठो बनाएर बेच्दा हुन्छ । तर, किसानसँग त केही विकल्पै छैन । ‘व्यापारीहरुले त सुठो बनाइरहेका छन्, तर किसानहरुलाई त सुठो बनाउनुपर्छ भन्ने पनि थाह छैन’–कृर्षि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई भन्छन्–‘किसानहरु काचै अदुवा बजारमा ल्याउछन्, बिक्री हुदैन र न्युन भाउमा बेच्छन् ।’ उनका अनुसार अधिकांश अदुवा किसानको बारीमै छ । भाउ नपाउने हो भने ती अदुवा यसपाली बारीमै कुहिएर सकिने खतरा छ । अहिले अदुवाको भाउ प्रतिकिलो १० देखि २० रुपैयासम्म छ । अदुवा गोदाममै थन्किने हुदा लगानी डुब्ने डरले न्युन भाउमा पनि खरीद गर्न व्यापारीहरुले रुचाएका छैनन् । ‘व्यापारीले त खरीद गर्दिन भन्न पाउछ, तर किसानले बेच्दिन भन्न सक्दैनन्’–व्यावस्थपाक भट्टराईले भने–‘किसानलाई सुठो बनाउनेबारे पनि जानकारी दिनुपर्ने बेला आइसक्यो ।’
......................................................................

                                          प्रशोधन उद्योगको आवश्यकता

अदुवालाई पखालेर उसिनेपछि सुकाइन्छ । सुकेको अदुवा नै सुठो हो । सुठो मसला बनाउने कच्चा पदार्थ हो । सुठोलाई पेलेर धुलो बन्छ, र मसलाकोरुपमा बिक्री हुन्छ । प्रशोधन उद्योग नहुदा व्यापारीहरुले सुठो पनि भारत निर्यात गरिरहेका छन् । ‘नेपालको सानातिना घरेलु मसला उद्योगले थोरै मात्र सुठो लैजान्छ, नत्र सबै भारत नै जाने हो’–व्यापारी राईले भने–‘भारतमा गएको सुठो मसला बनेर प्याकेटमा फेरी नेपालमै आउछ, हामी त्यही किनेर तरकारीमा खान्छौं ।’ राज्यले प्रशोधन वा मसला कलकारखाना स्थापना गरिदिए किसानहरु नमर्ने उनको भनाई छ ।
कृर्षि उपजका व्यावस्थापक भट्टराई पनि सरकारले खेती लगाउन मात्र प्रोत्साहन गर्ने तर उत्पादनको बजारीकरण गर्न ध्यान नदिदा किसानहरु निराश हुनुपरेको बताउछन् । अदुवा भारत निर्यात नहुदा खेर गइरहेकोले सरकार वा सम्बन्धित निकायले कसरी उपयोग गर्ने भनेर विकल्प खोज्न जरुरी भइसकेको उनको भनाई छ । ‘हामीले धेरै उत्पादनमा मात्र जोडदियौ, तर उत्पादनको बजारीकरण गर्न वा पूँजीमा रुपान्तरण कसरी गर्ने भनेर ध्यानै दिएनौं’–भट्टराई भन्छन्–‘अदुवा काचोमा बिक्री नहुदा सुठो, जाम अचार र पर्फ्युम पनि बन्छ, किसानले त्यसबाट फाइदा पाउछन् । देश आत्मनिर्भर पनि बन्छ, तर सरकारले ध्यानै दिएको छैन ।’ प्रशोधन गरिएको सुठो वा मसलालाई प्याकिङ गरेर तेस्रो मुलुकमा निर्यात गर्न पनि सकिने उनले बताए ।
पुर्वमा इलाम, धनकुटा, सुनसरीको पहाडी भेग अदुवा उत्पादन बढी हुन्छ । बर्षेनी कोशी पहाडी जिल्लाबाट मात्र धरानस्थित बजारस्थल हुदै १० हजार मेट्रिक टन अदुवाको करोबार हुन्छ भने मेचीमा पनि सोही परिमाणमा कारोबार हुनेगर्छ । ‘कच्चा पदार्थ अदुवा, सुठो नेपालमै प्रशस्त छ । सरकारले उद्योग खोलिदिए मात्र मसला बनाएर प्याकिङ, लेबलिङ र ब्राण्डिङ गरेर स्वदेशमै खपत हुन्छ भने तेस्रो मुलुकको बजारमा निर्यात गर्न पनि सकिन्छ’–भट्टराईले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे