अनुषा मृत्यु प्रकरण,पहिल्यै थाह पाएर पनि सरोकारवालाले उद्दार नगरेको खुलासा, घरमा मुचुल्का उठाइयो

धरान । धर्म आमा–बुबाले शारीरीक र मानसिक यातना दिएर मारिएको भनिएकी धरान १६ की १३ बर्षीया अनुषा राईलाई घरेलु श्रमिककोरुपमा राखिएको पहिल्यै थाह पाएर पनि सरोकारवाला वाल संरक्षण समिति, अधिकारकर्मी एवं सरकारी निकायले उद्दार नगरेको तथ्य खुलेको छ ।
धरान उपमहानगरपालिकाले विभिन्न वडालाई बाल श्रमिकमुक्त वडा घोषणा गर्ने अभियान सञ्चालन गर्दा गत असारमा नै धरान १६ का वलिमान र पदमकुमारी राईको घरमा अनुषालाई घरेलु श्रमिककोरुपमा राखिएकोबारे सरोकारवाला एवं बालअधिकारका अगुवाहरुले थाह पाएका थिए ।  त्यसबेला उपमहानगरपालिकाले वडा नम्बर ११ लाई बाल श्रमिकमुक्त वडा घोषणाको तयारीमा थियो । अनुषा राखिएको घर वडा ११ र वडा १६ को सिमानामा पर्छ । बाल संरक्षण समिति, वडा नागरिक मञ्च, समाजिक परिचालिकालगायतको टोली बाल श्रमिकमुक्त अभियान लिएर घर नजिक(सिमाना)मा पुगेपछि स्थानीय छरछिमेकले अनुषालाई श्रमिककोरुपमा राखेको जानकारी गराएको थियो । तर, वडा ११ को उक्त अभियान टोलीले अनुषाको अवस्थाबारे विस्तृत जानकारी लिने र उद्दार गर्नेबारे पहल नगरी त्यसबेला चेतनामुलक स्टिकर मात्र घरमा टाँसेर फर्केको तथ्य उजागर भएको छ ।
वडा ११ लाई असार २५ गते बाल श्रमिक मुक्त वडा घोषणा गरिएको थियो । वडा १६ मा बाल श्रमिक मुक्त कार्यक्रम(अभियान) सञ्चालन नभएकै वाहनामा सरोकारवाला एवं बाल अधिकारकर्मीहरुले अनुषाको अवस्था बुझ्न र उद्दारको पहल नगरेको पाइएको छ । दश दिनअघि भने अनुषाको रहस्यमय मृत्यु भएपछि कथित धर्म आमा र बुबाको शारीरिक र मानसिक यातना पाएर हत्या गरिएको भन्दै बालअधिकारकर्मीहरु नै अहिले आन्दोलनमा छन् । छरछिमेकले अनुषाबारे जानकारी दिदा सरोकारवालाहरुले उद्दार गर्न पहल नगरेकोप्रति अहिले आलोचना पनि भइरहेको छ । बिहिबार संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि पत्रकारहरुले यो बिषयलाई उठाएका थिए ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै बालअधिकारकर्मी हेमचन्द्र राईले वडा नागरिक मञ्च, सामाजिक परिचालिकाले अनुषा राखिएको घरमा स्टिकर टाँसे पनि बाल संरक्षण समितिमा अनुषाको बिषयले प्रवेश नपाएको बताए । ‘बाल संरक्षण समितिको बैठक नै बस्न सकेन, त्यसले गर्दा घरेलु श्रमिक राखिएको अनुषाबारे समितिमा बिषय प्रवेश नै हुन सकेन’–त्यसबेला उप्का नेपालमा कार्यरत राईले भने–‘ अनुषालाई श्रमिककोरुपमा शोषण गरेको वा प्रयोग गरेकोबारे उप्कालाई मात्रै जानकारी दिएको भए हामी नै उद्दार गथ्यौं । बाल गृहमा पठाउथ्यौं, हामीसँग जिविकोपार्जन कार्यक्रम पनि थियो । सहयोग गथ्यौं ।’ उप्का नेपाल बाल संरक्षण समितिमा आगन्तुक सदस्यकोरुपमा रहेको पनि उनले खुलाए ।
तत्कालीन वडा नागरिक मञ्चकी अध्यक्ष कमला राईले अभियानको क्रममा छरछिमेकले अनुषालाई श्रमिककोरुपमा राखेको र कुटपिट हुने गरेको जानकारी दिएको स्वीकार गरे । आफ्नो वडाको क्षेत्रभन्दा बाहिर भएकोले सचेत गराउन घरमा स्टिकर टासेको उनले बताइन् । वडा ११ की सामाजिक परिचालिका सबेरा श्रेष्ठले छरछिमेकले अनुषालाई यातना दिने गरेको बताएपछि तपाईहरुले नै आवाज उठाउनुपर्छ भनेको पनि बताइन् । ‘छरछिमेकले रातदिन कुट्छ भन्यो, हामीले तपाईहरुले नै आवाज उठाउनुस भन्यौं’–उनले भनिन्–‘छिमेकीहरुले भनेकै आधारमा सचेत होस भनेर बाल श्रम शोषण गर्दा के कस्तो दण्डको व्यवस्था छ भन्ने स्टिकर टास्यौं ।’ आफुले तत्कालीन वडा १६ को सामाजिक परिचालिकालाई त्यसबारेमा बताएको तर उक्त वडामा बाल श्रमिक मुक्त कार्यक्रम नभएको पनि उनले खुलाइन् । घटनाबारे परिचालिकाहरुको मासिक बैठकमा पनि छलफल भएको थियो । ‘त्यसबेला वडा १६ लाई जानकारी दियौं, मासिक बैठकमा पनि यो बिषयमा कुरा भएको थियो’–उनले भनिन् ।
अनुषा राईको बुबा जितबहादुर राई
उपमहानगरपालिकाका समाजिक विकास अधिकृत एवं बाल संरक्षण समितिका सदस्य सचिव सुनिल नेपाल भने वडा नम्बर १६ मा बाल श्रमको कार्यक्रम नभएकोले औपचारिकरुपमा जानकारी नआएको दाबी गर्छन् । वडा ११ को टोलीले अर्को वडामा भएकोले गम्भीरतापुर्वक नलिएको र औपचारिकरुपमा जानकारी नआएकोले आफुहरुले पनि फ्लेअप नगरेको हुनसक्ने उनको भनाई छ । ‘वडा ११ मा अभियान चलाउदा सिमानामा पर्ने भएकोले त्यो घरमा सचेतना जगाउन स्टिकर टासेको रहेछ, त्यो कुरा पनि अहिले मात्र जानकारीमा आयो’–उनले भने । उनका अनुसार हालसम्म धरान उपमहानगरको विभिन्न १३ वटा वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । ती वडामा बाल संरक्षण समिति छन् भने अन्य वडाहरुमा बालमैत्री स्थानीय शासन समन्वय समिति पनि छ ।
एक दशकअघिदेखि धरान १६ का वलिमान र पदमकुमारीले धर्मपुत्री बनाएको भनिएकी अनुषाको फागुन १६ गते बिष पिएर आत्महत्या गरेको भनिएको थियो । तर,राई दम्पत्तिले कुन बिष पिएको भनेर प्रष्ट पार्न सकेका छैनन् । उपचारको क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएपछि छरछिमेकलाई पनि थाहै नदिई दाहसँस्कार गर्न लागेको थाह पाएपछि स्थानीयहरुले हत्या भएको आशंका गरेका छन् ।
................................................

घरमा मुचुल्का उठाइयो, दोषीलाई कारबाहीको माग

रहस्यमय मृत्यु भएको भनिएकी १३ बर्षीय अनुषा राईको हत्या भएको दाबी गर्दै स्थानीय संघर्ष एवं छानबिन समितिले मृतक बालिकालाई न्याय दिलाउन र दोषीलाई कडा कारबाहीको माग गरेको छ । समितिको दबाबपछि प्रहरी, छरछिमेक र समिति सम्मिलत टोलीले बिहिबार बिहान वलिमानको घरमा अनुषा सुत्ने कोठाको स्थलगत मुचुल्का गरिएको थियो । त्यसक्रममा शंकास्पद एवं अनुषाको शारीरिक शोषणा भई हत्या गरेको हुनसक्ने विभिन्न आधारहरु फेला परेको शिवमाया वान्तवाले बताइन् । ‘कोठामा अनुषाको लत्ताकपडा, कपिकिताप पोको परेको अवस्थामा थियो । उनको कपडामा खुनको टाटा, तन्नामा ¥याल सिगान सुकेको जस्तो टाटा, एउटा भेष्टमा शारीरिक सम्बन्ध राखेपछि पुछेको टाटाहरु थियो’–उनले भनिन्–‘अरु कोठामा आधुनिक फर्निचर, वेड छ तर अनुषाकोमा चार खुट्टे बेड छ । पंखा छैन । यातना धेरै पाएपछि आफ्नो पीडा पोख्न कपीमा आमाले भनेको सबै मान्छु, घर सफा गर्छु,, भाडा टलक्क टल्काउछु भनेर लेखेको पनि भेटियो ।’

घटना भएको १० दिनपछि बिहिबार समितिले पत्रकार सम्मेलन गर्दै बालिकालाई शारीरिक, मानसिक यातना दिएर हत्या भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग दोहो¥याएको हो । समितिकी अध्यक्ष एवं वडा नागरिक मञ्च वडा १६ की अध्यक्ष उर्मिला प्रधानले हालसम्म समितिले गरेको पहलको जानकारी गराउदै भनिन्–‘अहिलेसम्मको घटनाक्रमहरु, वलिमान र पदमकुमारीको फरक फरक भनाईहरुले अनुषाको हत्या भएको भन्ने छ, तर पनि प्रहरीले निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कडा कारबाही होस भन्ने चाहन्छौं ।’ साथै, घरमा तोडफोड र आगजनीको आरोपमा पक्राउ परेका १० जनालाई रिहाउ गर्न पनि उनले माग गरिन् । पोष्टमार्टम पश्चात अनुषाको गएको शुक्रबार अन्त्येष्टी गरिएको थियो । दाहसंस्कारको लागि समितिले उनको वास्तविक बुबा जितबहादुर राईलाई ५ हजार ५ सय रुपैया पनि सहयोग गरेको जानकारी दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे