गोपाल मन्दिर र जग्गा हडपेको भन्दै विरोध


धरान । करिब आठ दशकअघि धरान १४ विजयपुर(सिंहदेवी मन्दिर मास्तिर)मा स्थापना भएको ‘गोपाल मन्दिर’को अस्तित्व मेटाएर धार्मिक माफियाहरुले अर्कै धार्मिक संस्थाको नाममा मन्दिर र जग्गा हडपेको भन्दै विरोध शुरु भएको छ ।
ऊँ शिवशक्ति कल्याणी केन्द्रको नाममा पुरानो गोपाल मन्दिरको अस्तित्व मेटाएर ‘बालगोपाल मन्दिर’ बनाएको र करिब ५ कट्टा १८ धुर जग्गासमेत हडपेको भन्दै विरोध शुरु भएको हो । केन्द्रले मन्दिर निर्माणस्थलमा बुधबारदेखि रामकथा नवाह पितृ उद्दार ज्ञान महायज्ञ शुरु गर्नुअघि नै जनसरोकार मञ्च नेपालको अगुवाईमा सिंहदेवी चोकमा धर्ना शुरु गरिएको हो । वि.स.१९९२ सालमा सिंहदेवी मन्दिर मास्तिर गोपाल मन्दिर स्थापना भएको इतिहास छ । तर, पछिल्लो समय धरान नगरपालिकाले गोपाल मन्दिरको जग्गा संरक्षण गर्न भन्दै केन्द्रलाई दिएको खुलेपछि विवाद शुरु भएको थियो । केन्द्रले मन्दिरको जग्गामा वृद्धाश्रम, सत्सङ हलसँगै नाम फेरेर बालगोपाल मन्दिर बनाइसकेको छ ।
एउटा मन्दिरको अस्तित्व नै लोप गराएर अर्कै धार्मिक संस्थाले जग्गा हडपेको भन्दै मञ्चको अगुवाईमा मंगलबारदेखि नै प्रवेशद्धारअघि(सिंहदेवी चोक)मा धर्ना शुरु भएको थियो । बुधबार महायज्ञको लागि कलश यात्रा हुनुअघि सिंहदेवीमा धर्ना कार्यक्रमले अप्रिय घटना निम्तिन सक्ने भन्दै प्रहरी परिचानल गरेर सुरक्षा सर्तकता अपनाउनु परेको थियो । डिएसपी ढकेन्द्र खतिवडाले आग्रह गरेपछि धर्नाकारीहरु प्रवेशद्धारबाट हटेपनि प्लेकार्ड बोकेर बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म नाराबाजी गरिरहे । मञ्चले चैत २४ गतेसम्म निरन्तर धर्ना दिने जनाएको छ । मञ्चका संयोजक एवं पुर्व उपमेयर कृष्णनारायण पलिखेले नगरपालिकाको कर्मचारी, दलहरु र धार्मिक माफियाको मिलेमतोमा गोपाल मन्दिरको अस्तित्व नै मेटिने गरी एउटा मन्दिरको जग्गा अर्कैलाई दिएकोले विरोध गरिएको बताए । ‘गोपाल मन्दिर थियो, त्यो पनि भत्काएर बालगोपाल भनेर नामाकरण ग¥यो । मन्दिरकै जग्गा पनि हडपिएको छ’–पलिखेले भने–‘नगरपालिकाले जग्गाको संरक्षण गर्नु भनेर दिएको भन्ने छ, तर यहाँ मन्दिर भत्काएर, रुखहरु काटेर अर्कै मन्दिर बनाइयो ।’ त्यहाँको जग्गामा रुखहरु काटिएको उजुरी परेपछि सेक्टर वन कार्यालयले गत बैशाख ३१ गते रुखविरुवा नहटाउन पत्र काटेपनि अटेर गरेको उनको भनाई छ ।
स्वर्गीय पथिक कवि लक्ष्मीप्रसाद आचार्यद्धारा लिखित एवं तत्कालीन धरान नगर पञ्चायतले २०३० सालमा प्रकाशन गरेको देशको माटो देशको ढुंगा नामको पुस्तकमा गोपाल मन्दिर वि.स.१९९२ सालमा स्थापना भएको उल्लेख छ । पुस्तकको पेज ८९ मा उल्लेख भएअनुसार उक्त मन्दिर परमेश्वर दास बाबाले निर्माण गरेका थिए । पछि उनका चेला ठाकुर दासले मटिहानी मठलाई सुम्पिएका थिए । ‘गोपाल मन्दिर थियो भन्ने ऐतिहासिक कागजात र प्रमाणहरु छ, यो सब मिलेमतोमा जग्गा कब्जा गर्ने षडयन्त्र हो’–पलिखे भन्छन्–‘राज्यका सम्पत्ति हो, राज्यले जिम्मा लिनुपर्छ । विजयपुर धार्मिक, पुरात्तात्विक क्षेत्र हो, समग्र विजयपुरकै गुरुयोजना बनाएर विकास गरिनुपर्छ ।’
समाजसेवी पिंगला न्यौपानेका अनुसार २०५२ सालमा सुर्यप्रसाद उपाध्ययको अध्यक्षतामा गोपाल मन्दिर संरक्षण समिति समेत बनेको थियो । तर, यो समिति नवीकरण भने नगरिए पनि संरक्षणको कार्य अघि बढ्न नसकेको उनले बताइन् । ‘नगरपालिकाले कल्याणी केन्द्रलाई जग्गा संरक्षण गर्नु भनेर दिएको रहेछ, मन्दिर भत्काउने र कब्जा गर्ने भनेको होइन । तर धार्मिक भुमाफियाहरुले चलखेल गरे’–उनले भनिन् । तत्कालीन नगरपालिकाले २०६८ असार २७ गतेको सर्वदलीय वैठकले पुरानो बालिका स्कुल माथिको जग्गा अन्दाजी ५ कट्टा १८ धुरमध्ये तल्लोपट्टिबाट २ कट्ठा छोडेर संरक्षण गर्न अनुमति दिने निर्णय गरेको थियो । केन्द्रले भने त्यहाँ वृश्राश्रम र सत्सङ हलसँगै गोपाल मन्दिरको स्थानमा बालगोपाल मन्दिर बनाएको छ ।
कल्याणी केन्द्रका पुर्वमहासचिव एवं वृद्धाश्रम निर्माण समितिका सचिव सिताराम आचार्य भने वृद्धाश्रम र सत्सङ हल बनिदा कसैले पनि विरोध नगरेको तर मन्दिर बनाउन थालेपछि भने अनावश्यक विरोध भएको दाबी गर्छन् । गोपाल वा बालगोपाल जे भनेपनि कृष्णकै रुप भएकोले विवाद अनावश्यक भएको उनको तर्क छ । ‘मन्दिर भग्नवशेष थियो, हात भाचिएको रामको मुर्ति थियो । पुजा पनि सधै हुदैनथ्यो’–उनले भने–‘संरक्षण गर्न भनेर केन्द्रले नगरपालिकासँग माग ग¥यांै र अनुमति पाएपछि वृद्धाश्रम, सत्सङ हल बनायांै, त्यतिबेलासम्म विरोध भएन । तर, मन्दिर बनाउन थालेपछि मात्र विरोध भयो । खास के कारण हो थाह भएन ।’ नगरपालिकाबाटै वृद्धाश्रम, सत्सङ हल र मन्दिर बनाउन पनि अनुमति पाएको उनको दाबी छ । केन्द्रकै मातहतमा रहने गरि मन्दिर व्यवस्थापन समिति गठन गरिने पनि उनले खुलाए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे