बीपीमा नवनियुक्त उपकुलपतिद्धारा पदभार ग्रहण


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा. राजकुमार(आर.के.) रौनियारले आइतबार कार्यभार सम्हालेका छन् । राजधानीबाट हवाईमार्ग(विराटनगर) हुदै आइतबार दिउँसो प्रतिष्ठान आएका रौनियारले विद्युतीय हाजिरी गरेर आफ्नो कार्यभार शुरु गरे । उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित कार्यरत चिकित्सक, कर्मचारीहरुले स्वागत गरेका थिए ।
स्वास्थ्यमन्त्री गगन थापाले सिफारिश गरेका तीन नाममध्ये मन्त्रीपरिषदले फागुन २० गते डा.रौनियारलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्ती गरेको हो । उपकुलपतिको लागि मन्त्री थापाले डा.रौनियारसँगै डा.रामेश कोइराला र प्रतिष्ठानकै शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठको नाम सिफारिश गरेका थिए । पुष २० मा तत्कालीन उपकुलपति डा.बीपी दासको पदावधि सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन थियो ।
 उपकुलपति बन्ने दौडमा डा.रौनियारसँगै १६ जनाले मन्त्रालयमा कार्ययोजनासहित निवेदन पेश गरेका थिए । उपकुलपति नियुक्ती ढिलाई हुदा प्रतिष्ठानमा अस्पताल निर्देशक नियुक्तीमा पनि बाधा पुगेको छ । उपकुलपतिको सिफारिशको आधारमा अस्पताल निर्देशक सहकुलपतिको हैसियतममा शिक्षामन्त्रीले नियुक्त गर्ने प्रावधान छ । अस्पताल निर्देशक डा.अरविन्द सिन्हाको पनि पदावधि सकिएपछि प्रतिष्ठान अस्पताल निर्देशकविहिन छ । सरकारले डा.रौनियारलाई उपकुलपतिमा नियुक्ती गरेपछि अब अस्पताल निर्देशक नियुक्तीको बाटो पनि खुलेको छ ।
नवनियुक्त उपकुलपति डा.रौनियार माओवादी केन्द्र निकट मानिन्छन् । तर, उनलाई उपकुलपति बनाउन भने कांग्रेस सभापति देउवा पक्षधरले स्थानीयस्तरबाटै पनि लविङ गरेका थिए । पदभार ग्रहण गर्दै नवनियुक्त उपकुलपति डा.रौनियारले प्रतिष्ठानलाई एसियाकै नमुना स्वास्थ्य एवं शैक्षिक केन्द्र बनाउने प्रतिवद्धता जनाए । सरकारले दिएको गहन जिम्मेवारीलाई आफु एक्लैले पुरा गर्न सम्भव नभएको भन्दै डा.रौनियारले सबैको साथ, सहयोग र सद्भाव पाउने अपेक्षा गरेको बताए । ‘सरकारले दिएको गहन जिम्मेवारीलाई स्वीकार गरेको छुँ । मेरो लागि सुवर्ण अवसर पनि हो । पदाधिकारी, कर्मचारी, शिक्षक चिकित्सक, विद्यार्थी सबैको सहयोग पाएको छु र भविष्यमा पनि पाउनेछु । म होइन, हामी मिलेर बीपीलाई एसियाकै नमुना बनाउनेछौं’–उनले भने ।
प्रतिष्ठानमा अस्पतालको सेवालाई चुस्तदुरुस्त र विस्तार गर्ने, शिक्षा र अनुसन्धानको गुणस्तर वृद्धि गर्ने, प्रशासनिक सुधार गर्ने कार्यलाई पनि प्रमुखताका साथ अघि बढाउने उनको भनाई थियो । ‘मैले के गर्छु भनेर कार्ययोजना नै पेश गरेको थिएँ । विस्तृतमा योजनाहरु स्वास्थ्यमन्त्रीसँगै पछि सार्वजनिक गर्नेछु’–पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने । सुनसरीको दुहबी स्थायी घर भएका डा.रौनियार प्रतिष्ठानमा लामो समय रेडियोलोजी विभागको प्रमुख रहेका थिए । उनी सन् १९९३ देखि प्रतिष्ठानमा कार्यरत वरिष्ठ चिकित्सक हुन् । अन्र्तराष्ट्रिय रेडियोलोजिष्टहरुको सम्मेलनमा सम्मानित भइसकेका डा.रौनियार यसअघि सार्कस्तरीय रेडियोलोजिस्ट एसोसिएसनको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे